दशैंमा निजी एयरलाइन्सलाई भ्याइनभ्याई «

दशैंमा निजी एयरलाइन्सलाई भ्याइनभ्याई

हवाई सेवा प्रदायक कम्पनीका लागि दसैँ विजनेसको उपयुक्त अवसर हो । निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दसैँको व्यापार भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यापार भने सुस्त छ । निगमको उपस्थिति आन्तरिक उडानमा मात्रै छ । निगमसँग उडानका लागि आवश्यक जहाज नहुनु तथा भएकाको पनि कुशल व्यवस्थापन हुन नसकेका कारण निगमका जहाज घाम ताप्ने निजीकाले व्यापार गर्ने मात्रै भएको देखिन्छ ।    
 
यो अवस्थालाई चित्रित गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमलाई सबल र प्रभावकारी बनाउने उद्घोष गरेका थिए । यही असोज २२ गते सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणका क्रममा मन्त्री आले भन्दै थिए, ‘वायुसेवा निगमका जहाज घाममा सुकिरहेका छन् । जहाज घाममा सुकाएर त पैसा आउँदैन । जनताले निजी एयरलाइन्सलाई विश्वास गर्ने तर सरकारी एयरलाइन्सलाई किन अविश्वास गरे यसको समाधान खोज्न जरुरी छ ।’    

पर्यटनमन्त्री आलेले देशका पहाडी सबैजसो जिल्लामा रु १० देखि १५ करोड खर्चेर विमानस्थल बनेका भए पनि साना ट्विनअटर र एटीआर जहाजको अभावले सेवा सञ्चालनमा कठिनाइ भइरहेको भन्दै आफ्नो ध्यान त्यसतर्फ केन्द्रित हुने बताएका थिए ।     
    
पर्यटनमन्त्रीले भनेजस्तै अहिले आन्तरिक उडानमा आम्दानी गर्ने महत्वपूर्ण अवसर पनि हो । पदयात्रा र पर्यटनका लागि उपयुक्त मौसमका साथै दसैँ, तिहार र छठजस्ता पर्वले आन्तरिक उडानमा यात्रु भरिभराउ छन् । एयरलाइन्सको व्यापार बढेको छ । दसैँका लागि ७० प्रतिशतभन्दा बढी टिकट बुकिङ छ । अहिले सर्वसाधरणले सामान्य तवरले सिट पाउनै मुस्किल छ । सोर्सफोर्सका भरमा मात्रै यात्रुले हवाई टिकट पाउँछन् । आन्तरिक हवाई यात्रुको माग बढिरहँदा सरकारी लगानीको वायुसेवा निगम निरीह बनेको छ । निजीले व्यापार ओगट्ने निगम रमिते जस्तो मात्रै बनेको छ ।    
 
विडम्बना नै मान्नुपर्छ वायुसेवा निगमसँग अहिले मात्र १८ सिट क्षमताका दुई थान जहाज छन् । ती पनि बेलाबेला बिग्रिरहन्छन् । निगमसँग भएका दुई साना र चार थान वाई १२ जहाज बिक्रीको प्रक्रियामा छ । ती जहाज विमानस्थलमै थन्किएका छन् । निगमले राजधानी काठमाडौँ बेस भएर पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, भोजपुर र खोटाङको लामिडाँडा र थामखर्क विमानस्थलमा साना जहाजले उडान सेवा दिँदै आएको छ भने पश्चिमी पहाडी सिमीकोट, बाजुरा, हुम्लालगायत जिल्लामा उडान गर्ने गरेको छ । उसै पनि निगमको हवाई टिकटका लागि माग बढ्दो थियो झनै दसैँको समयमा टिकट पाउन मुस्किल छ । जहाजको अभाव र यात्रुको माग बढेपछि निगमलाई हैरानी छ । निगमका जहाज चढ्न सर्वसाधरणले सक्दैनन्, मन्त्री, सांसद प्रहरीका ठूला मानिसले भनेपछि मात्रै टिकट मिल्ने एक सर्वसाधरणले गुनासो पोखे ।
    
निगमको टिकटका लागि निगमका उच्च अधिकारीलाई माथिल्लो स्तरबाट ठूलै दबाब खेप्नुपरेको छ । निगमका एक उच्च अधिकारीका अनुसार दसैँमा सर्वसाधरणले टिकट पाउँदैनन् पावरवालाले सोर्सफोर्स गरेर मात्रै जहाज चढ्ने अवसर पाउँछन् । हुन पनि पूर्वी पहाडी भेगका गन्तव्यमा पुग्ने एक दर्जनभन्दा बढी यात्रुले टिकटका लागि भोगेको याचनाको पीडा कम दर्दनाक छैन । निगमले जहाज नभएरै यात्रुको माग सम्बोधन गर्न नसकेको हो ।

अन्तरराष्ट्रिय उडान र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भूमिस्त सेवा (ग्राउन्डह्यान्डलिङ) बापतको भरमा निगमले जीविकोपार्जन गरिरहेको छ । निगमलाई धानेकै ग्राउन्डह्यान्डलिङ सेवाले हो । झण्डै ५० अर्ब आर्थिक ऋणभार बेहोरिरहेको निगमसँग अन्तरराष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी ए ३२० र दुई थान वाइड बडी ए ३३० जहाज छन् । यी जहाज पनि कोभिड महामारीका कारण कतिपय गन्तव्यमा पुग्नसकेका छैनन् । अन्तरराष्ट्रिय हवाई उडान क्षेत्रमा निगमले करिब २० प्रतिशत व्यापार हिस्सा ओगटेको एक अधिकारीको भनाइ छ । अहिले अन्तरराष्ट्रिय उडानको भरमा मात्रै निगम चलेको छ । आन्तरिकमा मात्रै उपस्थिति रहेको छ ।    
    
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जहाज अभावका कारण यात्रुको माग बढे पनि निगको उडान विस्तार गर्न नसकिएको बताए । उनले निगमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने हो भने तत्कालै जहाज थपेर गन्तव्य विस्तार गर्नुको विकल्प नरहेको उल्लेख गरे ।

‘निगमले आन्तरिकतर्फ साना जहाजले हिमाली तथा पहाडी भेगका विमानस्थलमा सेवा दिइरहेको छ, जम्मा साना दुई जहाज छन् कसरी सेवा दिने त्यसैले तत्कालै जहाज थप्नुपर्छ.’ उनले भने ।   
    
महाप्रबन्धक पौडेलका अनुसार आन्तरिक उडानतर्फ हिमाली क्षेत्रका लागि चार थान र तराई भेगका लागि चार गरी कूल आठ थान जहाज थप्नुपर्ने हुन्छ । त्यस्तै अन्तरराष्ट्रियतर्फ पनि कम्तीमा चार थान न्यारो बडी जहाज थप्नुपर्ने आवश्यकता छ । यसै पनि समस्याग्रस्त रहेको निगममा पछिल्लो पटक निगमभित्रका कर्मचारी ट्रेड युनियनको १०४ दिन लामो आन्दोलनले झनै अस्तव्यस्त पा¥यो । लामो आन्दोलनका कारण निगमको व्यवसायमा दूरगामी असर पार्ने महत्वपूर्ण काम कारबाहीहरु प्रभावित भएको जनाइएको छ ।    
    
निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढाइएसँगै निगमका कर्मचारीले गत असार १८ देखि निगम केन्द्रीय कार्यालयमा धर्नालगायत कार्यक्रम गर्दै आएका थिए । पर्यटनमन्त्री आलेको पहलमा यही असोज २५ गतेदेखि आन्दोलन स्थगित गरिएको छ ।    
    
 निजी एयरलाइन्सको बिजनेस बढ्दो    
    
निजी एयरलाइन्सलाई यतिखेर यात्रुको माग धान्नै मुस्किल छ । दसैँ तथा नजिकिएको तिहार र छठ पर्वले व्यापार मालामाल भइरहेको छ । ठूला एयरलाइन्सको दसैँका लागि ७० प्रतिशतभन्दा बढी बुकिङ छ ।

दसैँका लागि केही उडान सङ्ख्या थपिने बुद्ध, यती र सौर्य एयरलाइन्सले जनाएका छन् । शरद ऋतुको सफा मौसममा हिमाल डाँडापखेराको दृश्यावलोकन गर्दै सहज र सुलभ यात्राका लागि यात्रुहरु पनि लालाहित छन् । आन्तरिक उडानका ठूला वायुसेवा प्रदायक बुद्ध एयर, यती एयरलाइन्स, सौर्य एयर, गुण एयरलाइन्स लगायतले दसैँ बिजनेसका लागि साबिकको उडान सङ्ख्या बढाएर यात्रुको मागअनुरुप सेवा दिइरहेका छन् ।

बुध्द एयरलै दैनिक १४० भन्दा बढी उडान गरिरहेको छ । दुई साना र १३ एटिआरसहित कूल १५ जहाजमार्फत दैनिक आठ हजारभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ । यती एयरलाइन्सले हाल पाँचवटा एटिआर–७२ विमानमार्फत विभिन्न आठवटा गन्तव्यहरुमा उडान भर्दै आएको छ ।  श्री एयरलाइन्सले पनि आफ्ना ६ जहाजमार्फत उडान सञ्चालन गरिरहेको छ । गुण एयरलाइन्सले पाँचवटा जहाज उडाइरहेको छ । आन्तरिकतर्फ १० हेलिकोप्टरसहिन १९ वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् भने अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्