अमेरिकामा गोल्डस्टार «

अमेरिकामा गोल्डस्टार

नेपालको चर्चित गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनि किरण सुज म्यानुफ्याक्चरर्सले संयुक्त राज्य अमेरिकामा आधिकारिक वितरक नियुक्त गरी अमेरिकी बजारमा आफ्नो विक्री–वितरण सुरू गर्ने भएको छ ।
सोमबार विशेष कार्यक्रमको आयोजना गरी अमेरिकाको न्यूयोर्कमा गोल्डस्टारको बिक्री वितरण उद्घाटन गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीका अध्यक्ष आमिर प्रताप जबराले गोल्डस्टार जुत्ता अमेरिकाको निर्दिष्ट स्थानहरूमा उपलब्ध हुने बताए।
धेरै टिकाउ, किफायती, सहज र आकर्षक जुत्ताका रूपमा चर्चित गोल्डस्टार अमेरिकी बजारमा ल्याउन पाउँदा खुसी लागेको भन्दै उनले कम्पनीको तीन दशकको अनुभव पार अब संयुक्त राज्य अमेरिकामा आइपुगेको बताए।
कार्यक्रममा उपस्थित अमेरिकाका लागि नेपालका कार्यवाहक महावाणिज्य दूत बिष्णुप्रसाद गौतम गोल्डस्टारले अमेरिकामा व्यापार विस्तरा गर्नु सबै नेपाली उद्यमीहरूका लागि खुसीको कुरा भएको बताए ।
किरण सुज म्यानुफ्याक्चरर्सकी कार्यकारी निर्देशक विदुषी राणाले मेहनतको फलस्वरुप गोल्डस्टारले सात समुद्र पार गरेकोमा गर्व लागेको बताइन् ।
कार्यक्रममा ग्रेटर न्यु योर्क चेम्बर अफ कमर्सका अध्यक्ष ज्याफले गोल्डस्टारलाई अमेरिकामा स्वागत गर्न पाउँदा खुशी लागेको बताए ।
मेरील्याण्ड हाउस अफ डेलीगेट्सका सदस्य ह्यारी भण्डारीले गोल्डस्टार टोलीलाई अमेरिकी बजारमा प्रवेशका लागि बधाई र सफलताको शुभकामना व्यक्त गर्दै विशेष भिडियो सन्देश प्रस्तुत गरेका थिए ।
कारोबार इकोनोमिक कन्क्लेभ २०१८ मा बेस्ट नेपाली ब्रान्डको पुरस्कार पाएको गोल्डस्टार जुत्ता स्वर्गीय नुर प्रताप जबराले शुरु गरेका थिए ।
२०४६ सालको आन्दोलनको एउटा उपलब्धी स्वरुप नेपालमा उद्योग खोल्ने स्वतन्त्रताको लहर सुरु भयो । त्यसैको हाराहारीमा पाल्पाका नुरप्रताप जंगबहादुर राणाको नेतृत्वमा मकवानपुरको हेटौंडामा हात्तीछाप चप्पल उत्पादन सुरु भयो । स्वर्गीय राणाको हात्तीछाप चप्पलबाट सुरु भएको सपना आज नेपालको फुटवेयर उद्योगमा किरण सु म्यानुफ्याक्चरर्सद्धारा उत्पादित गोल्डस्टार जुत्ता अमेरिका निर्यातसम्म पुगेको छ । अमेरिकाभन्दा अगाडि नै गोल्डस्टार जुत्ताको बजार अष्ट्रेलिया, जापान र कतारमा समेत विस्तार भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्