नेविसंघ अध्यक्ष महरद्वारा राजीनामा «

नेविसंघ अध्यक्ष महरद्वारा राजीनामा

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी स्रघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । अध्यक्ष महरले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् ।
सभापति देउवाले अध्यक्ष महरलाई हालसम्म गरेको कामका लागि धन्यवाद दिँदै राजीनामा स्वीकृत गरेका छन् । संघको वर्तमान कार्यसमितिको म्याद यही माघ २ गते समाप्त भइसकेको अवस्थामा अध्यक्ष महरले राजीनामा दिएका हुन् । संघको वर्तमान कार्यसमिति ०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो ।
त्यसपछि दुई पटक गरी पाँच महिना समयावधि थप भएको थियो । यसअघि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा संघको कार्यसमितिका सम्बन्धमा समयावधि थप बढाई महाधिवेशन गर्न दिने वा नयाँ तदर्थ समिति बनाउने भन्ने विषयमा छलफल भएको थियो । अध्यक्ष महरको राजीनामा स्वीकृत भएसँगै संघको महाधिवेशन गर्नका लागि कांग्रेसले संघको नयाँ तदर्थ समिति बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्