छानबिन र कारबाहीका नाममा आतंक फैलियो

हेटौंडा-३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र अनियमिततामा माथि छानबिन र कारबाही गर्ने नाममा आतंक फैल्याएको आरोप लगाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं वार्षिकोत्सवको अवसरमा सोमबार हेटौंडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले अख्तियारले केरकार गर्ने अनावश्यक डरले कतिपय नियमसंगत काममा पनि बाँधा पर्ने अवस्था सिर्जना भएको टिप्पणी गरे ।
“कर्मचारीमा अख्तियारको आतंक देखिन्छ, राम्रो काम पनि रोक्ने, सही गर्न नमान्ने, जिम्मा नलिने प्रवृत्ति देखिएको छ । यो राम्रो होइन, गलत गर्नेलाई कारबाही गर्नुपर्छ तर, यसरी आतंक फैलिएको तर्फ चाहिँ अख्तियार सचेत हुनैपर्छ,” पौडेलले भने । काम गर्नेलाई प्रोत्साहन र गलत गर्नेलाई दुरुत्साहन दिन अख्तियार लाग्नुपर्ने उनको सुझाव थियो । “नियत सफा राखेर राम्रो काम गर्दा कतै केही समस्या देखिए परिस्थितिलाई बुझिदिनुपर्छ । आखिर अख्तियारभित्रै पनि त भ्रष्टाचार छ, त्यहाँकै कर्मचारी पनि समातिएका छन्,” पौडेलले थपे ।
स्थानीय तहमा व्यापक भ्रष्टाचारको गुनासो आइरहेको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले उनीहरुलाई सचेत गराउने काम गरिरहेको पनि बताए । स्थानीय तहमा हुने भ्रष्टाचार रोक्न स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । पछिल्लो समय जुनसुकै क्षेत्रमा पनि भ्रष्टाचार मौलाएको स्वीकार गर्दै उनले प्रदेश सरकारको पहिलो यात्रा सुशासन र भ्रष्टाचारको अन्त्य गर्नु नै रहेको प्रष्ट पारे । भ्रष्टाचार न्यूनीकरण गर्न आफू कठोरताका साथ प्रस्तुत हुनेसमेत उद्घोष गरे ।
भाषणमात्र गरेर भ्रष्टाचार न्यूनीकरण नहुने तर्क गर्दै पोडेलले कामबाटै सबै कुरा देखाउनुपर्ने बताए । “यो कार्यक्रममा हामी कहिलै भ्रष्टाचार नगर्नेहरु पनि छौं, भ्रष्टाचार गर्नेहरु पनि यहिँ छौं, सबैले मनैबाट आजदेखि भ्रष्टाचार गर्दिनँ भन्ने प्रतिवद्धता जनाउनुपर्छ,” उनले भने ।
कार्यक्रममा भ्रष्टाचारविरुद्धको अभियान चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठले सुशासन बिना मुलुकमा लोकतन्त्र टिक्ने नसक्ने टिप्पणी गर्दै सबै क्षेत्रको भ्रष्टाचार अन्त्य गरिनुपर्नेमा जोड दिए । पर्साका प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश अध्यक्ष प्रताप विष्टलगायतले भड्किलो जीवनशैलीलाई त्याग्दै शुद्ध आचरणको विकास गरेमा भ्रष्टाचार स्वतः न्यूनीकरण हुने टिप्पणी गरे ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयकी प्रमुख हुमकला पाण्डेले भ्रष्टाचार हुनुभन्दा अगावै नियन्त्रण गर्न सरोकारवालाको सहयोग र सहकार्यमा प्रवद्र्वनात्मक र निरोधात्मक कार्यलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको बताइन् । सदाचार प्रवद्र्वन र भ्रष्टाचार नियन्त्रणसम्बन्धी कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न अख्तियारले भ्रष्टाचार विरूद्धको नागरिक निगरानी संस्थाको अवधारणा पनि ल्याएको बताउँदै उनले केही समयभित्रै स्थानीयको सहभागितामा निगरानी समूह बनाइने जानकारी दिइन् ।
प्रदेश ३ का ९ वटा र प्रदेश २ को २ वटा जिल्ला गरी ११ वटा जिल्लालाई अख्तियारको हेटौंडा कार्यालयबाट निगरानी गर्ने गरिएको छ । कार्यक्रममा कार्यक्रममा बारा, पर्सा, चितवन र मकवानपुरका जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, भ्रष्टाचार नियन्त्रण अभियानमा लागेका अभियन्तालगायतको सहभागिता रहेको थियो ।