उद्योग विभागमा होण्डाका ५ डिजाइन दाबी «

उद्योग विभागमा होण्डाका ५ डिजाइन दाबी


जापानको अटो कम्पनी होण्डा मोटरले पाँच औद्योगिक उत्पादनको डिजाइन दर्ताका लागि उद्योग विभागमा पेश गरेको छ ।
विभागले गत महिना ५ प्रकारका मोटरसाइकल तथा स्कुटर डिजाइन दर्ताका लागि दावी पेस भएको जनाएको छ । होण्डाका ५ नयाँ मोडलका मोटरसाइकलका निमित्त दर्ता नं २४९–०७८ देखि २५३–७८ सम्म औद्योगिक डिजाइन दर्ताका लागि प्रारम्भिक कार्य अघि बढेको विभागले जानकारी दिएको छ ।
पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन २०२२ को दफा १४ मा विभागमा दर्ता हुने डिजाइनहरुको विवरण सोही ऐनको दफा २१ (क) बमोजिम अनिवार्य प्रकाशन गर्नुपर्ने प्रावधान रहेको छ । यसरी प्रकाशित विवरण उपर कसैको विरोध भएमा सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र प्रमाणसहित उजुरी गर्न सकिने जनाएको छ । “ऐनको दफा २१ क. को उपदफा (२) बमोजिम ३५ दिन भित्र आफ्नो सवुद प्रमाण सहित विभागमा उजुरी गर्न हुन हामीले सूचित गरेका हौं,” विभागका निर्देशक ज्ञानेन्द्र पराजुलीले भने ।
ऐनअनुसार डिजाइन भन्नाले ‘कुनै प्रकारले तयार गरी बनाइएको वस्तुको छाँट रुप वा आकार सम्झनुपर्ने’ उल्लेख छ । नेपाल भित्रिने मोटरसाइकल, स्कुटर, गाडी लगायत प्रत्येक औद्योगिक उत्पादनले डिजाइन दर्ता नगरे विभागमा डिजाइन दर्ताका लागि पेश भएकामा तीन मोटरसाइकल र दुई स्कुटर रहेका छन् । नेपालमा होण्डा मोटरसाइकल ज्योति समूह अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले बिक्री गर्दै आएको छ ।

ट्रेडमार्कलाई ९० दिन
पेटेण्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८ को उपदफा (१) मा भएको संशोधनले ट्रेडमार्क दर्ताको निमित्त दरखास्त परेमा सो ट्रेडमार्कका सम्बन्धमा आवश्यक जाँचबुझ गरी सार्वजनिक सूचना जारी गर्ने व्यवस्था गरेको छ । यस्तो ट्रेडमार्कमा कसैको दावी विरोध भए त्यस्तो दावी विरोध गर्न मनासिव मौका दिई कसैको दावी विरोध पर्न आएमा सो उपर समेत छानबिन गरी दर्ता गर्न उपयुक्त ठहरिएमा दर्ता गर्ने व्यवस्था ऐनमा गरिएको छ ।
उक्त व्यवस्था अनुसार आवेदन परेको ट्रेडमार्कहरु उपर दावी विरोध गर्ने प्रयोजनका लागि प्रस्तावित ट्रेडमार्कहरुको विवरण यस विभागबाट प्रकाशित हुने बुलेटिनमा नियमित रुपमा प्रकाशित हुँदै आएको निर्देशक पराजुली बताउँछन् । यस्तो बुलेटिन निजी क्षेत्रका प्रतिनिधिमूलक संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्समा पठाइने गरिएको छ भने विभागको सूचना पाटीमा समेत टाँस गर्ने प्रचलन छ । यसरी प्रकाशित प्रस्तावित ट्रेडमार्कहरु सम्बन्धमा बुलेटिन प्रकाशित भएको मितिले ९० दिनभित्र कुनै दावी विरोध पर्न आएमा सो सम्बन्धमा छानबिन गरी दर्ता गर्न उपयुक्त ठहरिएका ट्रेडमार्कहरु दर्ता गर्ने व्यवस्था गरिएको छ ।
यसैबीच, पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐनको संशोधनले भने ट्रेडमार्क होल्ड गर्ने प्रवृत्तिविरुद्ध कडाइ गरेको छ । विभागमा दर्ता भएका ट्रेडमार्कहरु दर्ता भएको मितिले एक वर्षसम्म प्रयोगमा नलेएमा खारेज हुन सक्ने व्यवस्था सोही ऐनको दफा १८ (ग) ले गरेको छ । यसरी दर्ता भएका ट्रेडमार्कहरु दर्ता भएको मितिले एक वर्षसम्म अनिवार्यरुपमा प्रयोगमा ल्याई सो को जानकारी यस विभागलाई दिन सम्बन्धित सबै ट्रेडमार्क धनीलाई विभागले सूचित गरेको छ । यस्तै, विभागमा ट्रेडमार्क दर्ताका लागि लामो समयदेखि आवेदन दर्ता गराई हालसम्म पनि दर्ता प्रक्रिया अगाडी बढ्न नसकेका आवेदनहरु खारेज हुनसक्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्