गुणस्तरीय मह उत्पादनमा जोड «

गुणस्तरीय मह उत्पादनमा जोड


दाङको महको पहिचान गुम्न दिन नहुने माहुरी पालक कृषकहरुले बताएका छन् ।
दाङको महको देश तथा विदेशमा माग हुने भएकाले यसको पहिचान गुम्न दिन नहुने उनीहरुको भनाइ छ । नेपाल मौरी पालक महासंघ दाङ शाखाको १२ औ साधारणसभाका सहभागीहरुले जिल्लामा उत्पादन भएको महलाई गुणस्तरीयता बनाएर अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनुपर्नेमा जोड दिएका हुन् ।
घोराही उप–महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले दाङ माहुरीको लागि उपयुक्त रहेकाले यसको विकासमा लाग्नु पर्ने बताए । दाङमा महको उत्पादन वृद्धि गरेर अन्यत्र निर्यात गर्नतर्फ लाग्नुपर्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनका लागि गुणस्तरीय वस्तु हुनुपर्ने प्रमुख चौधरीले बताए । “वस्तु पनि राम्रो मूल्य पनि राम्रो पाउनु पर्दछ” चौधरीले भने ।
कृषकहरुलाई उत्पादन बढाउनका लागि आफ्नो तर्फबाट सहयोग हुने उनले बताए । अनुदानको सही सदुपयोग गर्न सक्नु पर्ने उनी बताउँछन् । जिल्लामा माहुरीको चरणको समस्या भएको भन्दै चरणको व्यवस्थाप गर्न जरुरी रहेको उनको भनाइ छ । जिल्लाका माहुरीको चरण क्षेत्र वढाउनका लागि माहुरी मैत्री विरुवा रोप्न कार्यलाई बढाउँदै लैजानुपर्ने उनले बताए । व्यवसाय जोगाउन धेरै समस्या हुने भन्दै त्यसलाई ध्यान दिनसमेत कृषकलाई उनले आग्रह गरे ।
कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी रुद्रमणि पौडेलले माहुरीको राम्रो सम्भावना रहेकोले सरकारले दाङलाई माहुरीको स्रोतको रुपमा विकास गर्न लागेको बताए । सरकारले यस क्षेत्रमा काम गर्ने लागेकाले यसका विकासमा समेत थप सहयोग पुग्ने पौडेलले बताए । यसको विकासका लागि सबै मिलेर अगाडि बढनु पर्ने उनको भनाइ छ । माहुरी पालनको विकासका लागि आफूहरुले पनि सहयोग गदै आएको पौडेलको भनाइ छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव नरेशकुमार श्रेष्ठले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए । स्थानीय उत्पादनलाई बजारीकरणमा समस्या हुन नदिनका लागि संघले सहयोग गर्दै आएको उनले बताए । “हामीले स्थानीय उत्पादनलाई बिक्रीका लागि समस्या नहोस भनेर बजारी करणमा सहयोग गदै आएका छौं” श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्