धर्मपथमा ये देय् सांस्कृतिक छे «

धर्मपथमा ये देय् सांस्कृतिक छे

हनुमानढोका दरबार परिसरबाट झन्डै पाँच सय मिटरको दूरीमा रहेको धर्मपथस्थित काठममाडौं महानगरपालिकाको पुरानो भवन रहेको खाली जग्गामा अब काठमाडौंकै पहिचान प्रतिविम्बित हुने गरी सांस्कृतिक भवन बन्ने भएको छ । ‘येँ देय् सांस्कृतिक छेँ’ नाम रहने उक्त भवन कामपा–२२ वडास्थित पुरानो भन्सार टोलमा निर्माण गरिने छ । हाल खुल्ला पार्किङको रूपमा प्रयोग गरिएको उक्त जग्गाको क्षेत्रफल ८२६.६३ वर्ग मिटर (करिब १ रोपनी १० आना) रहेको छ ।
पूर्णरुपले काठमाडौंको मल्लकालीन वास्तुशैलीमा आधारित भई निर्माण गरिने उक्त सांस्कृतिक भवनको बीचमा परम्परागत बहाल शैलीमा निर्मित एक चोक पनि रहने छ । भवनमा विभिन्न प्रकारका काष्ठकलाले भरिएका कलात्मक झ्यालहरू जडित हुनेछन् ।
काठमाडौं महानगरपालिका कला, संस्कृति, वास्तुकला एवं मूर्त/अमूर्त सम्पदामा धनी सहरका रूपमा विश्वसमक्ष प्रख्यात छ । हालको बढ्दो सहरीकरण तथा बदलिँदो जीवन शैलीसँगै सम्पदा संरक्षणको अभावले गर्दा यहाँ विद्यमान महत्वपूर्ण धरोहरहरू क्रमशः लोप हुने अवस्थामा छन् । यी नैै कुरालाई मध्यनजÞर गर्दै काठमाडौंको परम्परागत कला, संस्कृतिको विविधता र भावनाको बारेमा जानकारी संकलन र सम्प्रेषण तथा सम्पदा प्रवद्र्धन गर्ने उद्देश्यले यस ‘येँ देय् सांस्कृतिक छेँ’को अवधारणा प्रस्तुत गरिएको हो ।
यो भवनको प्रयोग काठमाडौं बारे अध्ययन अनुसन्धान गर्ने बौद्धिक एवं प्राज्ञिक कार्यका लागि गरिने छ । यहाँ काठमाडौंबारे कुनै पनि प्रकारको जानकारी प्राप्त गर्न सकिने सूचना केन्द्र, काठमाडौं उपत्यकाको कला, संस्कृति, वास्तु, भाषा, जातिसम्बन्धी पुस्तक एवं शोधग्रन्थहरू संग्रहित रहेको पुस्तकालय, फिल्म, डकुमेन्ट्री आदिजस्ता सामग्री रहने छन् । आवश्यक अनुसन्धाताले त्यहीं बसी ती सामग्रीको अध्ययन गर्न सक्छन् । साथै त्यहाँ साना गोष्ठी एवं सेमिनार सञ्चालन गर्ने हल पनि रहनेछ ।
यो भवन वातावरणमैत्री तथा अपाङ्गमैत्री हुनेछ । साथै कामको स्वरुप अनुरुप आन्तरिक कार्यक्षेत्रको योजना गरी समन्वकारी कार्यकक्षलाई प्रोत्साहन हुने गरी खुला योजनाको अवधारणा अनुरुप डिजाइन गरिएको छ । आन्तरिक एवं बाह्य पर्यटकहरूले यहाँ आई काठमाडौंसम्बन्धी कुनै पनि प्रकारका जानकारी हासिल गर्न सक्दछन् ।
काठमाडौं महानगरपालिकाले नगरको तल्लो भेगको इतिहासलाई जीवन्त बनाउन त्यस क्षेत्रको पनि अध्ययन गर्ने उद्देश्य लिएको छ । यो कलात्मक भवनको निर्माणले उक्त क्षेत्रको स्वरुपलाई नै नयाँपन दिनुका लागि काठमाडौंको अध्ययन अनुसन्धान कार्यलाई पनि यसले नयाँ आयाम दिने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्