समयसँगै दसैं मनाउने शैली पनि परिवर्तन «

समयसँगै दसैं मनाउने शैली पनि परिवर्तन

बडादसैं सुरु भएसँगै सर्वत्र हर्षोल्लासका साथ यो पर्व मनाउन थालिएको छ । हिन्दू सनातन धर्मावलम्बीहरूले मनाउने यो पर्वलाई धार्मिक रूपमा मात्र नभई सामाजिक र आर्थिक रूपमा समेत विशेष महत्वका साथ हेर्ने गरिन्छ । पारिवारिक रूपमा आफन्तहरू जम्मा भई मीठो–मसिनो खाएर खुसीयाली साटासाट गरिने यो पर्व समयक्रमअनुसार नै बदलिँदै गएको छ ।
घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म दसैं मनाइँदै आए पनि विशेष गरेर विजयादशमीसम्मको समय खास मानिन्छ । हिन्दू परम्पराअनुसार महिषासूरको वध गरेवापत खुसीयालीको रूपमा मनाइने बडादसैं कृषि क्षेत्रसँग पनि उत्तिकै सम्बन्धित छ । यतिमात्र नभएर आर्थिक हिसाबले पनि बडादसैंलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । दसैंमा हुने व्यापारले निजी क्षेत्रको वर्षभरि हुने उपभोगको झन्डै ४० प्रतिशत ओगट्ने अनुमान लगाइन्छ । यसले समग्र देशको अर्थतन्त्रमा नै ठूलो टेवा पु-याउने गरेको छ । विशेष धार्मिक मान्यता बोकेको विजयादशमी समयक्रमअनुसार भने परिवर्तन हुँदै गएको छ । सामाजिक रहनसहनमा आएको परिवर्तन, आर्थिक रूपमा आएको परिवर्तन तथा सांस्कृतिक परिवर्तनले चाडपर्व मनाउने चलनमा समेत व्यापक परिवर्तन ल्याएको छ । त्यसमा पनि पछिल्लो समय भएको प्रविधिको पहुँचले पनि चाडपर्व मनाउने शैलीमा परिवर्तन गरेको छ । यसै सन्दर्भमा कारोबारकर्मी सुमित सुवेदीले सरोकारवालासँग गरेको कुराकानीको सार :

दसैंमा लगाइने अक्षताको विशेष महत्व छ
डा. वासुदेवकृष्ण शास्त्री
ज्योतिष, वास्तुविद् तथा धर्मशास्त्रका जानकार

दसैंको परम्परा १०औं हजार वर्ष पुरानो परम्परा हो । हिन्दूहरूले परापूर्व कालदेखि दसैं मनाउँदै आइरहेका छन् । दसैंको सिधा सम्बन्ध कृषिसँग रहेको छ । धान खेतीसँग रहेको छ । प्राचीन वैदिक कालमा हिन्दू सनातन धर्ममा तीनवटा अन्नहरू निकै प्रचलित थिए । ती हुन्– जौ, तिल र चामल अर्थात् धान ।
दसैंमा हामीले जमरा राख्ने गर्छौं । त्यो बीउ परीक्षणको विधि हो । बीउ उम्रिने खालको छ-छैन भन्ने कुरा जमरा राखेर परीक्षण गर्ने गरिन्थ्यो । माटोमा नौ दिन राखेपछि उम्रियो भने उपयुक्त छ, अन्यथा छैन भन्ने बुझिन्थ्यो । त्यसैले जमरा राख्ने परम्परा धान, जौ, गहुँ, मकै आदिको बीउ परीक्षण गर्ने वैज्ञानिक विधि हो ।
अर्को दसैं शक्तिको उपासनासँग सम्बन्धित रहेको छ । जसरी दशानन्को वध गरेको सन्दर्भमा रामनवमी मनाइन्छ, त्यसैगरी महिषासूरको वध गरेको सन्दर्भमा बडादसैं मनाउने गरिन्छ । दसैं चार प्रकारका छन् । चैते दसैं, बडादसैं, असार शुक्ल प्रतिपदादेखि दशमीसम्मको अवधि र माघ शुक्ल प्रतिपदादेखि दशमीसम्मको अवधि गरेर चारवटा नवरात्रि हुन्छन् ।
बडादसैं वर्षापछि शरद ऋतुको आमगनको स्वागतलाई लिएर मनाइँदै आएको छ । त्यसैले यसलाई शारदीय नवरात्र पनि भनिन्छ । शरद ऋतुमा चारैतिर हरियाली हुने, खेतीपाती हुने भएकाले पहिलो दिन देवीको उपासना गरेर शुद्ध माटो तथा गोबर इत्यादिले लिपेर घटस्थापना गरिन्छ ।
दसैंको पहिलो दिन भगवतीको पूजा गर्ने, दोस्रो दिन ब्रह्मचारिणीको पूजा गर्ने, तेस्रो दिन नवदुर्गाको पूजा गर्ने गरिन्छ । त्यस्तै अष्टमीको दिन कालरात्रिको पूजा गरिन्छ । साथसाथै दशमीको दिन जमरा र अक्षता लगाएर दसैंको आशीर्वाद थाप्ने गरिन्छ । दसैंमा लगाइने अक्षताको पनि छुट्टै महत्व रहेको छ । अक्षता अर्थात् कहिल्यै क्षय नहुने । सोही अक्षता लगाएर आशीर्वाद लिन्छौं, आफन्तहरूसँग भेटघाट गर्छौं ।
दसैंमा कसैले सेतो टीका लगाउँछन्, कसैले कालो टीका लगाउँछन् त कसैले पहेँलो टीका लगाएर दसैं मनाउँछन् । धेरैजसोले भने रातो टीका लगाएर दसैं मनाउने गरेको पाइन्छ । सनातन हिन्दू वैदिक परम्परामा रातोलाई सौभाग्यको प्रतीक मानियो । सेतोलाई शान्ति, सुख, समृद्धिको प्रतीक मानिन्छ । त्यस्तै कालभैरवको पूजा गर्नेले कालो टीका लगाएर दसैं मनाउँछन् भने आध्यात्मिक गुरुहरूले पहेँलो टीका लगाउँछन् ।
अब पहिले र अहिलेको दसैंबीच तुलना गर्ने हो भने धेरै कुराहरू परिवर्तन भएका छन् । अहिले शाकाहारी मानिसहरू बढ्दै गइरहेका छन् भने मांसहारीको संख्या घटिरहेको छ ।
पहिले हरेक घर रातो माटो र कमेरोले लिप्ने, पोत्ने गरिन्थ्यो । दसैं आयो भनेपछि वर्षभरिको धूलो झारिन्थ्यो । दसैं आयो भनेपछि खुसीयाली हुन्थ्यो । सबैले नयाँ–नयाँ कपडाहरू सिलाउन दिन्थे । मीठो मसिनो खाने, नयाँ नयाँ वस्त्र लगाउने गरेर दसैं मनाइन्थ्यो । अहिले वस्त्र छरपस्ट भेटिन थाले । घरहरू पोत्न छाडेर किनेको रंग लगाउन थाले । पहिला कपडाहरू सिलाउनुपथ्र्यो भने अहिले बजारवादको प्रभाव भयंकर प¥यो ।

चाडपर्व मनाउने शैलीमा परिवर्तन आयो
दिपेश घिमिरे
उपप्राध्यापक, समाजशास्त्र, त्रिभुवन विश्वविद्यालय

दसैंमा मूलतः तीनवटा कुरा अर्थात् सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा परिवर्तन आएको छ । आर्थिक रूपमा १५ वर्षअगाडिको दसैं मनाउँदा एउटा साहू महाजनकहाँ पुग्नुपथ्र्यो । ३०-३५ प्रतिशत ब्याजमा ऋण लिएर दसैं मनाउनुपथ्र्यो । वर्षभरि त्यही ऋण तिर्ने, फेरि अर्को दसैं मनाउन पुनः अर्को ऋण लिनुपर्ने अवस्था थियो । आज त्यो करिब–करिब अन्त्य भएको छ । जुनसुकै ठाउँ, समुदाय, क्षेत्रमा गए पनि परिवर्तन भएको महसुस गर्न सकिन्छ ।
बैंक तथा वित्तीय क्षेत्र, सहकारी तथा लघुवित्तहरूको तल्लो तहसम्मको पहुँचले वित्तीय कारोबारहरू बढ्दै जाँदा साहू–महाजनबाट ऋण लिनुपर्ने आवश्यकता अहिले देखिँदैन । अहिले काम गर्न सक्नेहरू विदेश जाने र रेमिट्यान्स पठाउने गर्छन् । त्यसले अर्थतन्त्रमा परिवर्तन ल्याएको छ भने आर्थिक परिवर्तनले चाडबाड मनाउने तौरतरिकामा समेत परिवर्तन ल्याएको छ ।
उदाहरणका लागि केही वर्षअघिसम्म जडौरी भन्ने शब्द सुनिन्थ्यो । आज लगभग हराइसकेको अवस्था छ । वास्तवमा नेपालले खुला उदार अर्थतन्त्र अवलम्बन गरेपछि अर्थतन्त्रमा परिवर्तन आएको छ । यसले समाजमा मात्र होइन, हाम्रो चाडबाडमा पनि परिवर्तन ल्याएको छ । चाडबाड मान्ने संस्कृति र त्यसप्रतिको बुझाइमा समेत परिवर्तन ल्याएको छ ।
केही वर्षमा देखिएको प्रविधिको विकासले हाम्रो समाजलाई कायापलट गरिदिएको छ । कुनै समयमा कालापहाड अर्थात् भारतबाट आउन नसक्दा परिवारसँग उसको सम्बन्ध शतप्रतिशत टुट्थ्यो । तर, अहिले प्रविधिको माध्यमबाट जोडिन सकिन्छ ।
कुनै समयमा दसैं मनाउने वातावरण पनि चुनौतीपूर्ण थियो । दुर्गम ठाउँबाट सहरसम्म धाएर किनमेल गरेर ल्याउनुपर्ने बाध्यता थियो । अहिले हरेक ठाउँमा साना–साना पसलहरू खुलिसकेका छन् । त्यसले हाम्रो चाडबाड मान्ने परम्परामा उधुम परिवर्तन ल्याएको छ ।
पहिले–पहिलेका बालबालिकाको मनोविज्ञान नै दसैं आएपछि नयाँ कपडा किन्ने समय हो भन्ने थियो । अहिले हाम्रो बच्चाहरूको जेनेरेसनमा त्यो कुरा हराइसकेको छ । नयाँ लुगा किन्नका लागि उनीहरूलाई कुनै ठूलो चाड कुर्नु पर्दैन । समाजमा आएको परिवर्तनले यस्तो भएको हो ।
सांस्कृतिक रूपमा पनि हामीले मनाउने संस्कार र संस्कृतिमा आमूल परिवर्तन आइसकेको छ । पहिले आशीर्वाद लिनका लागि नै दसैंमा टीका लगाउन गइन्थ्यो । अहिले दसैंमा टीका तथा आशीर्वादभन्दा पनि बढी परिवारको पुनर्मिलन भन्ने बुझिन्छ । मेरो बाल्यकालको साथी भेटिन्छ, एकपटक गएर आऊँ न भन्ने मानसकिता छ । दसैंको आशीर्वादले मेरो जीवनमा परिवर्तन ल्याउँछ भन्ने कुरा मानिसले पत्याउन छाडिसकेका छन् । चाडपर्वमा आएका परिवर्तनहरू सबै सकारात्मक मात्र नभएर केही नकारात्मक परिवर्तन पनि देखिन्छ, जुन हामीले आलोचना गरिरहेका छौं ।
पहिले बच्चालाई चिउरा खानका निम्ति सोह्रश्राद्ध सुरु हुनुपथ्र्यो । अहिलेका बच्चाहरूलार्ई चिउरा त खानेकुरा नै रहेन । हामीले निजी क्षेत्रलाई जुन किसिमले प्रवद्र्धन ग-यौं, जुन किसिमले बलियो बनाउँदै लग्यौं, त्यसबाट रोजगारीका अवसरहरू सिर्जना भए । कोही वैदेशिक रोजगारीमा जान लागे, त्यहाँबाट पैसा आयो । त्यो पैसाले पेरीफेरीमा पनि प्रभाव पा¥यो । त्यसले चाडपर्व मनाउने शैलीमा पनि परिवर्तन ल्याएको हो जस्तो लाग्छ ।

चाडबाडका बेला खानपानमा विशेष ध्यान दिऔं
डा. शेरबहादुर पुन
वरिष्ठ सरुवा रोग विशेषज्ञ

परापूर्वकालदेखि नै दसैंलाई हामीले खानपान र जमघटको पर्वका रूपमा लिँदै आएका छौं । अहिले पनि दसैं आएपछि खानपिनमा धेरै खर्च गर्ने र भेटघाट तथा जमघट गर्ने गर्छौं । तर, केही दशकअगाडिको समय र अहिले चाडपर्व मनाउने शैलीमा भने केही फरक देखिएको छ ।
पहिले–पहिले दसैं आएपछि नयाँ–नयाँ लुगा किन्ने, हरेक दिन मासुको परिकार खाइरहने, पिङ खेल्ने, रमाइलो गर्ने गरिन्थ्यो । अर्थात् दसैंको छुट्टै रौनक हुन्थ्यो । अहिलेको दसैंमा पहिलेको जस्तो रौनक महसुस गर्न सकिँदैन । केही वर्षअगाडिसम्म दसैं लागेपछि चंगा उडाउने चलन थियो । आजकाल विस्तारै चंगा उडाउने परम्परा नै हराउँदै गइरहेको देखिन्छ । आजकालका बालबच्चाहरू मोबाइलमा नै रमाउने गरेका छन् । उनीहरू दसैंमा पैसा पाइन्छ भन्छन्, पैसा जम्मा गर्छन् । त्यसपछि मोबाइलमा नै झुम्मिने गर्छन् । पहिले बालबालिकाहरूमा देखिने त्यो चाम अहिले कम हुँदै गइरहेको छ । हराउँदै गइरहेको छ ।
खानपानकै कुरा गर्ने हो भने पनि खानपानमा अलि ध्यान दिन सकेनौं कि जस्तो लाग्छ । जति पायो त्यति खाइदिने, त्यसले झाडापखलाजस्ता समस्याहरू निम्त्याउने गरेको छ । पहिला मानिसहरू दसैंमा टन्न खान्थे । त्यसैअनुसारको श्रम गर्थे । टीका थाप्नकै लागि हिँडेर जानुपथ्र्यो । अहिलेको जस्तो सवारी साधनको सहजता थिएन । त्यसले गर्दा खाएको खानपिन पनि पच्थ्यो ।
आजकाल घरघरमै दुई–तीनवटा मोटरसाइकल हुन्छन् । खासै शारीरिक व्यायाम पनि गर्दैनन् । त्यसले गर्दा पचाउन पनि मुस्किल हुन्छ । त्यसैले पनि होला, आजकाल धेरैजसो मानिसहरू शाकाहारी हुँदै गएका छन् । मासु खानु स्वास्थ्यका लागि नराम्रो कुरा त होइन, तर पछिल्लो समय नसर्ने रोगहरूको संख्या जसरी बढ्दै गयो त्यसकारणले पनि मानिसहरू शाकाहारी हुँदै गएका हुन् कि जस्तो लाग्छ ।
अर्को कुरा, पछिल्ला दसैंहरू निकै नै महँगा हुने गरेका छन् । तलब जस्ताको तस्तै छ तर एउटा खसी किन्न जानुप¥यो भने १५÷२० हजारभन्दा तलको आउँदैन । अहिलेको प्रतिस्पर्धात्मक जमानामा बालबालिकालाई पढाउनुपर्छ । अन्य जरुरी आवश्यकताहरू पनि पूरा गर्नुपर्ने हुन्छ । त्यसैले दसैंमा मन खोलेर खर्च गर्न पनि नसक्ने अवस्था रहन्छ । आर्थिक हिसाबले पछिल्ला दसैंहरू महँगा भएका हुन् कि जस्तो लाग्छ ।

मीठो खान र राम्रो लगाउन दसैं कुर्नु पर्दैन
निर्मला ढकाल
समाजशास्त्री

मैले सामाजिक रूपमा हेर्दा पहिले र अहिलेको दसैंमा खासै परिवर्तन देखेकी छैन । मुख्य रूपमा दसैं पारिवारिक भेटघाटको रूपमा मनाइँदै आएको छ । अहिले पनि दसैंको विशेषता यही नै हो । आर्थिक रूपमा पनि दसैंमा हुने व्यापारहरू अहिले पनि देखिएको छ ।
पछिल्लो समय समाजको संरचनाअन्तर्गत त केही परिवर्तन हुने नै भयो । केही वर्षअगाडिसम्म संयुक्त परिवारमा बस्दा पारिवारिक मूल्य–मान्यताहरू अलग्गै थिए भने अहिले एकल परिवारमा बस्दाका मूल्य–मान्यताहरू केही फरक भएका छन् । तर, त्यसले दसैंको रौनकलाई केही कम गरेजस्तो भने देखिँदैन । त्यसमाथि पछिल्लो समय कोरोना महामारीका कारण निर्वाध रूपमा आफन्तको घरमा जान सकिरहेका छैनौं । यो अहिलेको एउटा समस्या हो । तर, यो रहिरहने समस्या होइन ।
अर्कोतर्फबाट हेर्ने हो भने पहिले माछामासु खान तथा राम्रो लुगा लगाउन दसैं नै कुर्नुपर्ने अवस्था थियो । यो आर्थिक अवस्थाले निर्धारण गर्ने कुरा हो । अहिले मासु खान र नयाँ कपडा किन्न दसैं नै कुर्नुपर्ने मानिसहरूको संख्या घट्दै गइरहेको छ । त्यस्ता मानिसहरू पनि नभएका होइनन् तर पहिलेको तुलनामा घटेको छ । पछिल्लो समय पुँजीवादको विस्तारसँगै मीठो खान र लगाउनका लागि दसैं नै कुर्नुपर्ने अवस्था कम देखिएको छ ।
पहिले जसरी दसैंमा पारिवारिक भेटघाट हुन्थ्यो, त्यसमा अहिले पनि कमी आएजस्तो लाग्दैन । विभिन्न कारणले घर जान नपाउनु छुट्टै कुरा हो, वैदेशिक रोजगारीमा गएका व्यक्तिहरू दसैंमा आउन नपाउनु अलग कुरा भयो । तर, दसैंमा भेला हुने र आशीर्वाद लिने मूल्य–मान्यतामा त्यति धेरै परिवर्तन भएजस्तो लाग्दैन । अहिले कोही आउन सकेनन् भने पनि जो जहाँ छन् त्यही ठाउँमा बसेर उत्तिकै हर्षोल्लासका साथ दसैं मानिरहेको देखिन्छ ।
घरमा तीन–चार जनाको परिवार छ भने पनि घरभित्रै बसेर दसैं मनाउने कुरामा त्यति धेरै परिवर्तन आएजस्तो लाग्दैन । दसैंप्रतिको मानिसको मोहमा त्यति धेरै बदलाव आएजस्तो लाग्दैन । जेजति मानिसहरू भेटघाट हुन्छन् उनीहरूले पहिलेकै स्वरूपमा दसैं मानिरहेका हुन्छन् जस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्