मोतीपुर घटनाका मृतक परिवारलाई प्रदेश सरकारले एक लाख दिने «

मोतीपुर घटनाका मृतक परिवारलाई प्रदेश सरकारले एक लाख दिने

रुपन्देही– रूपन्देहीको मोतिपुरमा भएको घटनामा मृत्यु भएका परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहतस्वरूप जनही रु एक लाख दिने भएको छ । मृतक परिवारलाई राहतस्वरूप नगद सहयोग गर्ने र दुवै पक्षबाट भएका घाइतेको उपचारको जिम्मेवारी सरकारले लिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकले जानकारी दिए ।
सोमबार बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले राहत प्रदान गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मालाई जिम्मेवारी प्रदान गरेका छन् ।
मुख्यमन्त्री केसीले मोतीपुरका वास्तविक सुकम्बासीको समस्या हल गर्नका लागि सकुम्बासी समस्या सामाधान सुझाव कार्यदल निर्माण गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । बैठकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री शर्माले घटना सम्वेदनशील भएको बताउँदै आगामी दिनका लागि सतर्क हुन र सबैलाई सम्वेदनशील बन्न अनुरोध गरे । बैठकमा लुम्बिनी प्रदेशका सुरक्षा निकायको सहभागिता रहेको थियो ।
बुटवल उपमहानगरपालिका–१७ मोतिपुरमा सुकुम्बासीको नाममा निर्माणाधीन औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबीच आइतबार झडप हुँदा चार जनाको मृत्यु भएको थियो ।
आइतबार भएको झडपमा परी घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका चार जवानलाई उपचारका लागि काठमाडौँ लगिएको छ । सुकुम्बासीका नाममा समूह बनाएर घरटहरा बनाएकासँगको दोहोरो झडपमा परी सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणसहित ७४ जना घाइते भएका हुन् । झडपमा परी गम्भीर घाइते भएका नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका दुई जना गरी चार जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिउ ।
इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षीय प्रहरी जवान जयप्रकाश थारु र दङ्गा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान यज्ञराज पुन मगरलाई उपचारका लागि काठमाडौँ पठाइएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षीय जवान खुसीराम चौधरीलाई काठमाडौँ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्