उपत्यकाबाट बाहिरिनेको संख्या बढ्यो «

उपत्यकाबाट बाहिरिनेको संख्या बढ्यो


दसैं आएसँगै उपत्यकामा काम र पढाइको सिलसिला बसेका सर्वसाधारण काठमाडौंबाट बाहिरिने क्रम बढेसँगै सडकमार्ग हुँदै साढे ६ लाख बाहिरिएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथका अनुसार, असोज ११ देखि सोमबारसम्म ६ लाख ५ हजार ५८५ जनाले उपत्यका छोडेका छन् । सोमबारमात्र करिब ४७ हजार यात्रु बाहिरिएका छन् । यो संख्या उपत्यका प्रवेश गर्ने ४ नाका साँगा, फर्पिङ, थानकोट र तिनपिप्लेको भएको जनाइएको छ । सोही समयममा उपत्यका प्रवेश गर्नेको संख्या भने ५ लाख २३ हजार ४६७ रहेको महाशाखाका प्रवक्ता एसपी सञ्जिव शर्मा दासले बताए । उनले भने, “उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । मंगलबार भने थप यात्रुको गतिविधि बढ्ने भएकाले गर्दा थप ट्राफिक व्यवस्थापनमा जोड दिइएको छ ।”
सबैभन्दा बढी भीड हुने नाका भने कोटेश्वर रहेको प्रवक्ता शर्मा दासको भनाइ छ । बागमतीका साथै २ नम्बर र १ नम्बर प्रदेशको बाहिरिने र भित्रिने नाका भएकाले गर्दा सबैभन्दा बढी कोटेश्वर नाका व्यस्त भएको शर्मा दासको भनाइ छ ।
यात्रुको यात्रामा सहयोग पु-याउनका लागि उपत्यकाका १४ स्थानमा नागरिक सहायता कक्ष (हेल्प डेक्स) राखिएको छ । यसले गर्दा यात्रुलाई बढी भाडा दिने, तोकिएको सिटभन्दा फरक सिट प्रयोगमा हुने समस्या समाधान समाधान हुने जनाइएको छ । यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने र सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको प्रवक्ता शर्मा दासको भनाइ छ ।

हवाई सेवाबाट पनि उल्लेख्य यात्रा
दसैंको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै औसतमा १४ हजार यात्रुले आवतजावत गरेका छन् । विमानस्थल कार्यलयका अनुुसार, असोजको १५ गतेदेखि २४ सम्म १ लाख ३४ हजार ८ सय ६६ यात्रुले विमानस्थल प्रयोग गरेको जनाइएको छ ।
सो समयमा ७१ हजार २८४ यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने, ६३ हजार ५९२ यात्रु उपत्यका प्रवेश गरेको विमानस्थल कार्यालयका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडालले बताए । उनले भने, “बिहान ६ बजेबाट रातिको ११ बजेसम्म उडान अवतरण हुने गरेको छ । प्रस्थानभन्दा आगमनमा ढिलाइ हुने गरेकाले गर्दा रातिसम्म प्रस्थान गरेको विमान काठमाडौं फिर्ता हुने भएकाले गर्दा आन्तरिक टर्मिनल सेवा करिब १८ घण्टा हुने गरेको छ ।”
उडानको संख्या भने हाल प्रिकोभिडको अस्थामा पुगेको प्रमुख चुडालको भनाइ छ । मौसम तथा उडान संख्यामा भएको वृद्धिले उडान तथा अवतरणमा केही ढिलाइ हुने गरेको बताइन्छ भने वायुयान कम्पनीहरूले पूर्ण क्षमतामा उडान तथा अवतरण गरिरहेको प्रमुख चुडालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्