सामाजिक सुरक्षा भत्ता पाएपछि शिवाकोटी दंग «

सामाजिक सुरक्षा भत्ता पाएपछि शिवाकोटी दंग

झापा बाह्रदर्शी गाउँपालिकाका ६७ वर्षीय नरप्रसाद शिवाकोटी आइतबार दंग देखिन्थे । सहारा नेपाल साकोसका सेयर सदस्य रहेका शिवाकोटीले आइबतार सामाजिक सुरक्षा भत्ताबापत ८ हजार रुपैयाँ पाए ।
हरेक वर्ष संस्थाले दिने सामाजिक सुरक्षा भत्ताले चाडपर्व खर्च धान्ने गरेको शिवाकोटीले बताए । शिवाकोटी जस्तै, संस्थाका ९ सय ३५ जना सेयर सदस्यलाई सहाराले एक कार्यक्रमका बीच सामाजिक सुरक्षा भक्ता प्रदान गरेको छ ।
शेयर सदस्यका हिसाबले नेपालकै सबैभन्दा ठूलो सहारा नेपाल साकोसले जेष्ठ नागरिक, एकल महिला, एकल पुरुषलाई सामाजिक सुरक्षा भक्ता उपलब्ध गराएको हो । साकोसले सामाजिक सुरक्षा भत्ता शीर्षकमा १ करोड ७ लाख ४९ हजार रुपैयाँ वितरण गरेको छ ।
कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले विभिन्न ६ वटा शीर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जानकारी दिए । संस्थाले एकल महिला भत्ता वापत प्रतिव्यक्ति ८ हजार रुपैयाँका दरले ५ सय ९२ जनालाई ४७ लाख ३६ हजार र ५८ वर्ष पूरा गरेका १२ जना एकल पुरुषलाई ६ हजारका दरले ७२ हजार रुपैयाँ वितरण गरेको छ ।
२ सय ४२ जना ज्येष्ठ सदस्यलाई १६ लाख ७६ हजार रुपैयाँ प्रदान गरिएको छ । ७० वर्षसम्मका ज्येष्ठ सदस्यलाई आठ हजार, ७१ वर्षदेखि ८५ वर्षसम्मका ज्येष्ठ सदस्यलाई १० हजार रुपैयाँका दरले भत्ता प्रदान गरिएको गिरीले बताए । ज्येष्ठ सदस्यहरूको दीर्घायुको कामना गर्दै ८६ वर्षदखि ९९ वर्षसम्मका सदस्यलाई २५ हजार रुपैयाँ वितरण गरिएको छ ।
सहाराले हौसला कार्यक्रमअन्तर्गत पूर्णरुपमा अशक्त र अपांगता भएका ९ जना सदस्यलाई १० हजार रुपैयाँका दरले ९० हजार रुपैयाँ प्रदान गरेको छ । त्यस्तै, स्मृति कार्याक्रम अन्तरगत संस्थाले दिवंगत भएका सदस्य तथा कर्मचारीको सम्झनामा हरेक दुई/दुई वर्षमा आश्रित परिवारलाई २५ हजारका दरले पाँच पटकसम्म रकम उपलब्ध गराइने संस्थाले जनाएको छ । उक्त कार्याक्रम अन्तरगत ६३ जनालाई १५ लाख ७५ हजार रुपैयाँ वितरण गरिएको छ ।
त्यस्तै, परिवार राहत कार्यक्रमअन्तर्गत ७५ वर्ष पुगेपछि स्वयम सदस्यलाई नै तथा निधन भएमा परिवारका सदस्यलाई जीवनयापनमा सहजताका लागि एक लाखदेखि ५ लाख रुपैयाँसम्म वितरण गरिएको छ । सोअन्तर्गत १७ जनालाई २६ लाख रुपैयाँ प्रदान गरिएको गिरीले जानकारी दिए ।
कार्यक्रममा संस्थाका पूर्वकर्मचारी स्वर्गीय यादव बस्नेतको स्मृतिमा स्वर्गीय यादव बस्नेत सहारा अक्षयकोष घोषणा गरिएको थियो । अक्षयकोषको राशि १० लाख रुपैयाँ रहेको छ । त्यस्तै, एकल महिला रेणुका नेपाललाई विशेष सम्मान गरिएको थियो ।
संस्थाका कार्यवहाक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बचत तथा ऋण सहकारी संघ १ नम्बर प्रदेश अध्यक्ष घनश्याम अधिकारी, संरक्षक नरनाथ गिरीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
दिनेशबहादुर निरौलाले सञ्चालन गरेको कार्यक्रममा सामाजिक सुरक्षा उपसमिति संयोजक डिल्लीराम सिटौलाले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्