पर्यटन पुनरुत्थान र दिगो पर्यटन विकासमा सहयोग हुने «

पर्यटन पुनरुत्थान र दिगो पर्यटन विकासमा सहयोग हुने


संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (युएनडब्लुटीओ) नेपालको पर्यटन विकासका लागि सहकार्य गर्न सकारात्मक देखिएको छ ।
माल्दिभ्समा आयोजित युएनडब्लुटिओ एशिया प्यासिफिक क्षेत्रको पर्यटन नीति र रणनीति विषयक तालिम कार्यक्रमका अवसरमा भएका अन्तरक्रिया तथा द्विपक्षीय छलफलका क्रममा नेपालको पर्यटन प्रर्वद्धनका लागि सकारात्मक देखिएको हो ।
अक्टुबर ५ देखि ८ सम्म अर्थात असोज १९ देखि २२ सम्म माल्दिभ्समा आयोजित कार्यक्रममा युएनडब्लुटीओका महासचिव जुराब पोलोलिकास्भिल्ली र क्षेत्रीय निर्देशक ह्यारी ह्वाङले नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीसँगको भेटमा सो धारणा राखेका हुन् । महासचिव जुरावसँगको भेटमा कोभिड पछिको अवस्थामा पर्यटन पुरुरोत्थानका लागि युएनडब्लुटिओसँगको सहकार्य, दिगो पर्यटन विकास, प्राकृतिक तथा पर्वतीय पर्यटन विकास र संस्थागत क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल भएको र यसमा सहयोग गर्न उनीहरु इच्छुक रहेको डा. रेग्मीले जानकारी दिए ।
कार्यकारी प्रमुख डा. रेग्मीका अनुसार, नेपालको पर्यटन प्रर्वद्धनका लागि युएनडब्लुटीओ सकारात्मक रहेको छ । “युएनडब्लुटीओबाट विभिन्न देशहरुले धेरै खालका सहयोग भइरहको छन् । जसबाट ती देशहरुले प्रत्यक्ष फाइदा लिएका पनि छन् । यो अवस्थामा नेपालसँगको सहकार्य गर्ने सन्र्दभमा उनीहरुसँगको भेट फलदायी रहयो, उनीहरुले सन् २०२३ मा नेपालमा एशिया प्यासिफिक क्षेत्रको कुनै कार्यक्रम गर्ने बचन दिएका छन्” उनले भने ।
माल्दिभ्सका पर्यटन मन्त्री डा. अब्दुल्लाह मौसुमसँगको भेटमा नेपाल र माल्दिप्सबीच पर्यटन प्रर्वद्धनका विषयमा आपसी सहकार्यका विषयमा छलफल भएको डा. रेग्मीले जनकारी दिएका थिए । सो कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले नेपालको पर्यटनको पछिल्लो अवस्थाका साथै अन्तर्राष्ट्रिय पर्यटनको पुनः सञ्चालन र आन्तरिक पर्यटन प्रर्वद्धनका विषयमा आफनो प्रस्तुती दिनुका साथै सहभागीहरुलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
कार्यक्रममा नेपाल, भारत, चीन, बंगलादेश, भुटान, माल्दिभ्स, श्रींलका, चीन, हङकङ, पाकिस्तान, कोलम्बिया, इन्डोनेसिया, भियतनाम, मंगोलिया, इरान, म्यानमार, सामो, मकाउ, कोरिया, स्पेन, इटली, इजिप्ट र फिजीलगायतका देश र क्षेत्रबाट प्रत्यक्ष सहभागी थिए भने अन्य देशबाट भर्चुअल रुपमा सहभागी थिए ।
कार्यक्रममा पर्यटकीय गन्तव्यको व्यवस्थापन तथा सञ्चालन र आन्तरिक पर्यटनमा नवप्रर्वतन र यसको भविष्य तथा आन्तरिक पर्यटनमा निजी क्षेत्रको सहभागिता, आन्तरिक पर्यटनमा, सम्भावना वृद्धि र विकास र अन्तर्राष्ट्रिय तथा आन्तरिक पर्यटनको पुनः सञ्चालनलगायतका विभिन्न सेसनमा पर्यटन विज्ञहरुले प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्