धुलियाबिट–बोटेचौर सडक खण्ड स्तरोन्नति हुने «

धुलियाबिट–बोटेचौर सडक खण्ड स्तरोन्नति हुने


मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको धुलियाबिट–भेडाबारी–बोटेचौर सडक खण्डको स्तरोन्नति कार्य एक महिनाभित्र सुरु हुने भएको छ । तिहारलगत्तै उक्त खण्डको सडक स्तरोन्नति गर्ने आयोजनाले जनाएको हो ।
“ठेक्का प्रक्रिया टुंगिएको छ,” मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका इन्जिनियर शिव तिमिल्सेनाले भने, “तिहारलगत्तै स्तरोन्नतिको काम सुरु हुन्छ ।” कालिका केएसजेभीले यो राजमार्गअन्तर्गत धुलियाबिट–बोटेचौर खण्डमा स्तरोन्नति गर्ने जिम्मा पाएको छ । स्तरोन्नतिका लागि निर्माण कम्पनीले हाल लेआउट सर्भेको काम गरिरहेको छ । दसैसम्म सर्भे सक्ने र तिहारलगत्तै स्तरोन्नति गर्ने आयोजनाको तयारी छ । बहुवर्षीय आयोजनाअन्तर्गत सडकको स्तरोन्नति गरिने जनाइएको छ ।
धुलियाबिटदेखि बोटेचौरसम्म ३५ किलोमिटर लम्बाइ रहेको छ भने नौ मिटर चौडाइसम्म कालोपत्रे गरिने छ । हाल सडक औसत चार मिटर चौडाइ छ । अब स्तरोन्नति गर्दा झण्डै ५२ प्रतिशत सडक चौडा हुनेछ । सो आयोजना कार्यान्वयन गर्दा वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ र १३, लेकबेंसी नगरपालिकाको वडा नं. १, २, ३, ४, ६, ७, ९ र १० र गुर्भाकोट नगरपालिका वडा नं. १०, १२, १३ र १४ प्रत्यक्ष रूपमा प्रभावित हुनेछन् । यो सडक स्तरोन्नति भएको खण्डमा पूर्वका नागरिकलाई वीरेन्द्रनगर आउजाउ गर्न सहज हुनेछ । २०३६ सालमा ट्रयाक खुलेको धुलियाबिट–भेडाबारी सडक खण्ड ४२ वर्षपछि कालोपत्रे हुन लागेको हो ।
पूर्वी क्षेत्रका नागरिकको आर्थिक समृद्धिसँग जोडिएको भेडाबारी सडक खण्ड स्तरोन्नति भएमा ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । सडक स्तरोन्नतिका लागि अघिल्लो आर्थिक वर्षको कात्तिक महिनामा कार्ड कन्सल्ट प्रालिले आयोजनाको डीपीआर तयार गरेको थियो । स्तरोन्नतिका लागि दुई अर्ब बजेट खर्च हुने अनुमान गरिएको छ ।

बड्डीचौर–बेनीघाट खण्डको डीपीआर तयार
सुर्खेतमा सदरमुकाम वीरेन्द्रनगर पूर्व र पश्चिम गरी दुई खण्डमा मदन भण्डारी राजमार्गले छोएको छ । छुट्टाछुट्टै खण्ड बनाइएकोमा पश्चिम खण्डको स्तरोन्नतिका लागि पनि डीपीआर तयार गरिएको छ । सिल्टर सीआरसी र जीओकम जेभी कन्सलटेन्सीले डीपीआर तयार पारेका हुन् । पश्चिम खण्डको पञ्चपुरीको खम्बागाडे–पलैटे–बराइचे हुँदै बाबियाचौर जोड्नुपर्ने कि खम्बागाडे–शिवधाम हुँदै बाबियाचौर जोड्नुपर्ने भन्ने विषयमा विवाद भएको थियो । विवाद मिलाउन दुवै खण्डको सडक स्तरोन्नति गर्ने सहमति गरिएको थियो ।
सहमतिअनुसार मदन भण्डारी राजमार्गलाई खम्बागाडे–पलैटे–बराईचे हुँदै बाबियाचौर लिइने छ भने खम्बागाडे–बाबियाचौर–विद्यापुर खण्डलाई पनि राष्ट्रिय राजमार्ग सरहकै रूपमा स्तरोन्नति गरिने छ । जम्मा २० किलोमिटर लम्बाइ रहेको खम्बागाडे–बाबियाचौर–विद्यापुर सडकलाई ५० मिटर चौडाइको बनाइने छ । सुर्खेतको पूर्व र पश्चिम खण्डमा एकैपटक डीपीआर निर्माण थालिएको थियो । तर सर्वेक्षणमै स्थानीयले अवरोध गरेका कारण पश्चिम खण्डमा डीपीआर निर्माणमा ढिलाइ भएको थियो । “पश्चिम क्षेत्रको पनि डीपीआर तयार भएको छ,” आयोजनाका इन्जिनियर तिमिल्सेनाले भने, “कन्सलटेन्सीले तयार पारेको डीपीआर अध्ययन भइरहेको छ ।” डीपीआर अध्ययन पूरा भएपछि मन्त्रिपरिषद्ले स्वीकृति दिनुपर्ने हुन्छ । डीपीआर स्वीकृति हुने बित्तिकै पश्चिममा पनि ठेक्का प्रक्रिया अगाडि बढ्ने बताइएको छ । पश्चिम खण्डमा पनि चालू आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया थालेर सडक स्तरोन्नति गर्ने आयोजनाको तयारी छ ।
डीपीआर अनुसार सडक स्तरोन्नतिसँगै पश्चिम खण्डमा धेरै ठाउँमा पुलहरू निर्माण गर्नुपर्ने छ । जसमध्ये तीनवटा स्थानमा तत्काल पुलहरू निर्माण गर्नुपर्नेछ । पुल निर्माण गर्दा धेरै समय लाग्ने भएका कारण हाल आयोजनाले पुल निर्माणका लागि प्राविधिक अध्ययनलगायतका कामहरू गरिरहेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पश्चिम खण्डमा ९४ किलोमिटर सडक पर्दछ । राजमार्गले बराहताल गाउँपालिकाको बड्डिचौर हुँदै बेनिघाट जोड्छ । डीपीआर स्वीकृत भएपछि ट्रयाक खुलेको २७ वर्षपछि पश्चिम सडक खण्ड स्तरोन्नति हुनेछ । बड्डीचौर–बेनिघाट सडक खण्ड २०५१ सालमा ट्रयाक खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्