मनोसामाजिक रोग न्यूनीकरणमा स्थानीय तह उदासीन «

मनोसामाजिक रोग न्यूनीकरणमा स्थानीय तह उदासीन


मानसिक समस्या रोकथाम तथा नियन्त्रणमा स्थानीय तह उदासीन देखिएका छन् । समयको विकाससँंगै मनोसामाजिक समस्या पनि विकराल बन्दै गएको छ । तर मानसिक स्वास्थ्यमा हुने विभिन्न समस्या न्यूनीकरणमा स्थानीय तह मौन देखिएका छन् ।
गरिबी, अशिक्षा, द्वन्द्व, आर्थिक, पारिवारिक तथा सामाजिक कारणले जुम्लामा मनोसामाजिक समस्याका बिरामी बढ्दै गएका छन् । स्थानीय सरकार सञ्चालनको साढे ४ वर्ष भइसक्दा पनि उनीहरूलाई परामर्श दिने, उनीहरूका भावना बुझ्ने कुरा सुन्ने एक सहज माध्यम संयन्त्रसमेत बन्न सकेका छैनन् ।
जुम्लामा टीपीओ नेपालद्वारा आयोजित मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बढ्दो मानसिक समस्याप्रति स्थानीय तह उदासीन रहेको पाइएको हो । विश्व मानसिक स्वास्थ्य दिवसको अबसरमा टीपीओद्वारा आयोजित अभिमुखीकरणबाहेक अन्य जुम्लाका आठै स्थानीय तह, गैरसरकारी निकाय स्वास्थ्य कार्यालयलगायतका कुनै निकायले पनि औपचारिक कार्यक्रम गरेका छैनन् । स्वास्थ्य क्षेत्रको अभिन्न अंग मानिने मानसिक स्वास्थ्यलाई स्थानीय तहले उपेक्षा गर्दा गाउँगाउँमा मानसिक रोगी बढ्दै गएका छन् ।
अस्वस्थ्य जीवनशैली, आर्थिक, सामाजिक, पारिवारिक, बेरोजगारी, चेतनाको अभावजस्ता कारणले पछिल्लो समय जुम्लामा आत्महत्या गर्नेको संख्या पनि उल्लेखनीय रहेको छ । तथ्यांकअनुसार गत दुई आवमा मात्रै जुम्लाका ३२ जनाले आत्महत्या गरेका छन् ।
मनोविमर्शकर्ता नन्दराज आचार्य भन्छन्, “समयको विकाससँंगै सबैका घरघरमा तनाव छ । एक आपसमा प्रतिस्प्रर्धाको भावना छ । यसले गर्दा मान्छे तनाव लिएर पनि काम गरिरहेका छन् । तर तनाव व्यवस्थापन गर्ने कुनै संरचना छैन । यसमा स्थानीय तह मौन छन् ।
उनका अनुसार जैविक कारण, मानव सृजित तथा प्राकृतिक विपद, वंशाणुगत, घरेलु हिंसा, बालबिवाह, यौनहिंसा, गरिबी, बेरोजगारी, राजनीतिक द्वन्द्वले मानसिक स्वास्थ्यमा समस्या देखिन्छन् । निद्रा नलाग्ने, खाना रुचि नलाग्ने, जाँगर नलाग्ने, आत्तिने, टोलाइरहने, लक्षण देखिन्छन । मानसिक स्वास्थ्य समस्याका कारण मधुमेह, उच्च रक्तचाप, मुटुरोग, क्यान्सर जस्ता शारीरिक समस्याको जोखिम बढेको आचार्यको भनाइ छ ।
जीबीडीनामक संस्थाले गरेको तथ्यांकअनुसार विश्वमा १४ प्रतिशत मानसिक स्वास्थ्य समस्याले ओगेटेको छ भने लागू पदार्थ सेवनबाट सबैभन्दा बढी मानसिक रोगी हुने गरेको पाइएको छ । तर मानसिक स्वास्थ्य समस्याको उपचार गर्ने बलियो संरचना नहुँदा हरकोही पाँचजनामध्ये चारजनाले उपचार पाएका छैनन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक अनुप देवकोटाले जुम्लामा पनि दैनिक जसो २÷३ जना मनोसामाजिक समस्या भएका बिरामी आउने गरेको बताए । उनले भने, “जुम्लासँंगै नेपालभरि नै अधिकांश २० वर्षमुनिका युवायुवतीमा मनोसामाजिक समस्या देखापर्ने गरेको छ । आत्महत्या गर्ने २० वर्षमुनिका धेरै छन् । एकातिर सरोकारवाला मौन रहने अर्कोतर्फ करिब ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित रहेका तथ्यांक छन् ।”
जुम्लाभरि गरेर हाल ३÷४ जनामात्रै विमर्शकर्ता छन् । तर गाउँगाउँमा मनोसामाजिक समस्या छ । त्यसैले स्थानीय सरकारले कम्तीमा एक गाउँमा एक विमर्शकर्ता नीति बनाउनु पर्नेमा मनोचिकित्सक देवकोटाको जोड छ । भूकम्पबाट प्रभावित जिल्लामा गरिएको अध्ययनले नेपालमा ३४ दशमलव ३५ प्रतिशत नागरिक एन्जाइटी, ३३ दशमलव ८५ प्रतिशत नागरिकलाई आघात हुने समस्या देखिएको छ ।
विगतको तुलनामा जुम्लामा मनोसाजिकका घटना बढ्दै गएकाले परामर्श दिने उपचार गर्ने संरचनाको विकासका लागि ठोस नीतिसहित बजेट व्यवस्थापनका लागि दबाब दिनुपर्ने नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए । मनोसामाजिक समस्यासम्बन्धीको जनचेतना विद्यालयस्तरबाटै गर्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्