आईसीपी निर्माणले अझै गति लिएन «

आईसीपी निर्माणले अझै गति लिएन


नेपालगन्जमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माणको काम सुस्त गतिमा भइरहेको छ । कोरोनाका कारण नाका ठप्प हुँदा निर्माण सामग्री आयातमा समस्या हुनुका साथै वर्षात्को समयमा माटो पटानीलगायतले निर्माणकार्य असहज हुँदा गति लिन नसकेको निर्माण कम्पनीले जनाएको छ ।
भारत सरकारको सहयोगमा सन २०२० नोभेम्बर २५ देखि निर्माण सुरु भई २५ नोभेम्बर २०२२ मा सम्पन्न गर्ने लक्ष्य रहे पनि विभिन्न कारणले ढिलाइ हुँदा हालसम्म १५ प्रतिशत प्रगति भएको सहजीकरणको जिम्मा पाएको संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्जका सूचना अधिकारी होमनाथ भुसालले बताए । “आयोजना दु्रत गतिमा सञ्चालन हुन नसके पनि नेपालगन्जको चौलिक्का चोकदेखि आईसीपी निर्माणस्थलसम्म जोड्ने फराकिलो सडकका साथै विभिन्न संरचना निर्माणका काम भइरहेका छन्,” उनले भने । २ दशमलव २ किलोमिटर लम्बाइ र ६० मिटर चौडाइ रहेको सडकको ट्रयाक खोलेर हाल १२ मिटर चौडाइको बाटो निर्माणको काम धमाधम भइरहेको छ भने अन्य संरचना निर्माणका काम सुरु भएका छन् ।
जाँच चौकी निर्माण नहुँदा मालवाहक सवारीसाधन जाँचपासमा समस्या हुनुका साथै क्वारेन्टाइन, अध्यागमन, खाद्य प्रविधिलगायत भन्सारसँग सम्बन्धित काममा कठिनाइ हुने गरेको छ । सबै सेवा एकीकृत रूपमा त्यहाँबाट सुरु हुने भएपछि भन्सार सुधारको अभियानलाई तीव्रता दिन मद्दत पुग्ने नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीको भनाइ छ । “यसले अत्याधुनिक भन्सारको सपना साकार हुने छ,” उनले भने ।
एकीकृत भन्सार जाँच चौकी परिसरमा भन्सार कार्यालयका साथै पशु क्वारेन्टाइन, अध्यागमन, बैंक, खाद्य प्रविधि, प्लान्ट क्वारेन्टाइनलगायत कार्यालयका साथै एक हजारभन्दा बढी मालबाहक ट्रक पार्किङ गर्ने याडसमेत निर्माण हुनेछन् । यसले एकीकृत रूपमा सेवा उपलब्ध भई निकै सहज हुने उनको अपेक्षा छ ।
नेपाल र भारत सरकारबीच सन २००५ मा भएको सम्झौताबमोजिम भारतले विराटनगर, वीरगन्ज, नेपालगन्ज र भैरहवा नाकामा आईसीपी निर्माण गरिदिने सहमति जनाएको थियो । जसमध्ये विराटनगर र वीरगन्जमा निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ भने नेपालगन्जमा ढिलो सुरु भएको हो । भारततर्फ निर्माण कार्य तीव्र गतिमा भइरहे पनि नेपालगन्जमा ढिला भएको हो । निर्माण कम्पनीले अबको केही दिनभित्रै निर्माणकार्यले गतिलिने जनाएको छ । निर्माण कम्पनीले दुई वर्षभित्र आईसीपी निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
आईसीपी निर्माणपछि दुई देशको व्यापार सहज र व्यवस्थित हुने नेपाली अधिकारीको विश्वास छ । एकीकृत भन्सार जाँच चौकी परिसरमा भन्सारसँंग सम्बन्धित सबै सेवा एकीकृत रूपमा सञ्चालन हुने भएकाले यहाँका उद्योगी व्यवसायीलाई ठूलो राहत हुने नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरिन्जीवी ओली बताउँछन् । “निर्माण कार्यमा ढिलाइ गरिनु हुँदैन,” उनले भने, “निर्माण कार्यलाई तीव्रता दिएर छिटोभन्दा छिटो सञ्चालनमा आउनु पर्छ ।”
नेपाल र भारत सरकारबीच सन् २००५ मा भएको सम्झौताबमोजिम भारतले विराटनगर, वीरगन्ज, नेपालगन्ज र भैरहवा नाकामा आईसीपी निर्माण गरिदिने सहमति जनाएको थियो । जसमध्ये विराटनगर र वीरगन्जमा निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ भने नेपालगन्जमा सम्झौता भएको १५ वर्षपछि (आईसीपी) निर्माण सुरु भएको हो । कुल दुई अर्ब ३५ करोड नेपाली रुपैया लागतमा आईसीपी निर्माण भएपछि दुई देशबीचको व्यापार सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्