धेरै चराचुरुंगी, जनावरहरूको आवाजमा कमल ओली «

धेरै चराचुरुंगी, जनावरहरूको आवाजमा कमल ओली

धार्मिक शास्त्रअनुसार ८४ लाख जुनी पार गरेपछि मात्र मानिसको जन्म हुन्छ भनिन्छ । मानिस यस धर्तीमा जन्म लिएपछि एक दिन मर्नु त छँदै छ । तर, मरेर के लानु छ भन्दा पनि मरेपछि मुलुकलाई के दिएर जानु छ भन्ने कुरा महत्वपूर्ण हो । मानिसहरूमा धेरै प्रकारका सीपहरू हुन्छन् । कसैको गीत गाउने, कसैको नाच्ने, कसैको हँसाउनेलगायत हुन्छन् । यी धेरै प्रकारका सीपमध्ये एउटा अचम्मको खुबी लिएर हाम्रो कारोबार दैनिक कार्यालयमा गत साता आइतबार आएका छन्— कमल ओली ।
कमल ओली भन्नासाथ नामैले काफी छ कि उनी ३ सयभन्दा बढी प्रजातिका चराचुरुङ्गी तथा जनावरहरूको आवाज सजिलै दुरुस्तै निकाल्न सक्छन् । कुकुर कराउनु, गाई, भैंसी, घोडा, बाघ, बिरालो, बाख्रा, काग, ढुकुरलगायत धेरै जीवजन्तु तथा चराचुरुङ्गीको आवाजमा नक्कल गरी आवाज निकाल्नु सामान्यजस्तै भएको उनी बताउँछन् ।
सल्यानको छिम्पेक्रोबाङ गाविस वडा नम्बर ४ मा रहेको सामान्य परिवारमा जन्मिएका ओली घाँसदाउरा, उकालीओराली तथा जनावरहरूको बढी हेरचाह, रहनसहन तथा परिस्थिति र वातावरणले गर्दा यी कलाहरू सहजै जानेको बताउँछन् । उनले १८ वर्ष अर्थात् झन्डै दुई दशकसम्म कलाकारिता गरे । उनी भावुक हुँदै भन्छन्— मेरा बाबुआमा बितेको पनि धेरै भइसक्यो । उहाँहरूकै आशीर्वादले आज यो अवस्थामा पुगेको उनी सम्झन्छन् ।
विश्वका धेरै जनावर तथा चराचुरुङ्गीहरूका बारेमा अध्ययन–अनुसन्धान गरेर अबको केही महिनामा नै ‘जीव र जगत्’ भन्ने विषयमा पुस्तक नै प्रकाशित गर्दै छन् ओली । मैले प्रश्न गरें, “तपाईंले प्रकाशन गर्न लागेको किताबको प्रकाशित लागत खर्च कति लाग्छ ?” उनले भने, “प्रकाशित किताब दुई तरिकाबाट हुन्छ, एउटा ब्ल्याकिन र अर्को कलर । ब्ल्याकिनमा प्रकाशित गर्दा विद्यार्थी भाइबहिनीहरूले पछि चित्र बुझ्दैनन् । रंगीनमा प्रकाशित गरे सबै प्रस्टैसँग बुझिन्छ पनि, अध्ययन गर्न सहज पनि हुन्छ । त्यसैले रंगीनमा नै प्रकाशित गर्ने सोच बनाएको छु । यसको लागत करिब २ लाख जति लाग्छ ।”
फेरि मैले प्रश्न सोधें, “यो लागत कसरी जुटाउनुहुन्छ ?” उनी भन्छन्, “वन विभाग, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट सहयोगको अपेक्षा राखेको छु । तपाईंले पनि लेखको माध्यमबाट नै मलाई सहयोग गरिरहनुभएको छ,” उनी मुसुक्क हाँस्छन् ।
यो त कमल ओलीको एउटा उद्देश्य थियो । काठमाडौंको सिनामंगलमा आफ्नो परिवारसहित बसेका उनी दैनिक रूपमा आफ्नो हातमुख जोड्न कलाकारितासँगै आफ्नो वादक पेसालाई पनि सँगै अगाडि लानुपर्ने रहेछ । उनी १८ घण्टासम्म नियमित मादल बजाएर हरेक लोक–संस्कृतिक तथा दोहोरी साँझहरूमा गायन र वाद्यवादकको रूपमा प्रस्तुत भई दुई दशकदेखि आफ्नो नियमित पेसामा पनि आबद्ध रहेका छन् । उनले थुप्र्रै नेपाली टेलिसिरियलहरूमा समेत अभिनय गरिसकेका छन् । जिरे खुर्सानी, तीतो सत्य, फू–मन्तर, गोलमाल, अंगुली मालालगायतमा समेत उनले अभिनय गरिसकेका छन् । हाल आएर उनले ‘अचम्मै भयो’ भन्ने नेपाली टेलिसिरियलमा अभिनय गरेका छन् । यो टेलिसिरियल पनि ६ भागमा प्रसारण हुँदै छ भन्ने कुरा बताउँछन् उनी ।
उनको जीवनको खुसीको क्षण भनेको २०६० सालमा रेडियो नेपालमा आवाजको परीक्षणमा पास हुँदाको कुरा सम्झन्छन् । आफ्ना दर्जनौं लोक–सांगीतिक प्रस्तुतिहरूसमेत युट्युबमा रहेको उनी बताउँछन् । उनलाई सबैले साथ दिऊँ । उनको किताब प्रकाशनमा सबैले थोरै–थोरै भए पनि आर्थिक सहयोग गरौं । नेपाली लोक–सांगीतिक नृत्यकलाको सदैव जगेर्ना गरौं । उनी आफूभित्र लुकेको क्षमतालाई निर्धक्क भएर बाहिर ल्याउन चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्