देशको शिक्षा नीति परिवर्तन गर्नुपर्छ – सुनिता बराल «

देशको शिक्षा नीति परिवर्तन गर्नुपर्छ – सुनिता बराल

नेकपा(एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताए ।
अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा जीवनोपयोगी नभएको भन्दै विद्यालय तहको शिक्षा जीवनोपयोगी र विश्वविद्यालय तहको शिक्षा विषय विज्ञ उत्पादन गर्नेगरी शिक्षा नीति बनाउनुपर्ने उनले बताए ।
स्थानीय तहहरूले आफ्नो तहको स्रोत र साधन प्रयोगगरी स्थानीय आवश्यकतालाई ध्यान दिई विषय बनाउनुपर्नेमा उनले जोड दिए । विश्वविद्यालयको शैक्षिक क्यालेण्डरलाई चुस्त दुरुस्त बनाउँदै प्रविधिमैत्री विश्वविद्यालय बनाउनुपर्ने आवश्यकता रहेको पनि उहाँले उल्लेख गरे । उनले भने, ‘अब हामीले हाम्रा नीतिहरूमा परिवर्तन गर्नुपर्छ । राष्ट्रिय शिक्षा नीति अनुसारका विश्वविद्यालयमा भएका कार्यक्रमहरू छन् । १२ कक्षा अध्ययन सकेर बाहिर आएको विद्यार्थी आफ्नो जीवन बाँच्न सक्ने विश्वासका साथ निस्किन्छ कि निस्किदैन हाम्रो सबैभन्दा ठूलो चुनौतीको विषय यो हो । आफ्नो स्थानीय तहको स्रोत, साधन झल्किनेगरी स्थानीय तहले शैक्षिक नीति निर्माण गर्नुपर्छ । शैक्षिक क्यालेन्डरलाई चुस्त दुरुस्त बनाउँदै विद्यालय शिक्षा जीवनोपयोगी शिक्षा र विश्वविद्यालय शिक्षा विज्ञ उत्पादन बनाउने शिक्षा बनाउनु चुनौती र आवश्यकता बनेको छ । शिक्षा क्षेत्रमा बजेट बढाउनुपर्छ । विश्वविद्यालयहरूलाई प्रविधिमैत्री बनाउनुपर्छ ।’
उनले विद्यार्थी संगठनहरूले काम गर्ने शैली परिवर्तन गर्नुपर्ने बताए । समय फेरिएको उल्लेख गर्दै उनले परिवर्तित समयानुकूल संगठनले भुमिका र कार्यशैली बदल्नुपर्ने बताए । पछिल्ला दिनहरूमा राष्ट्रिय राजनीतिमा देखा परेका उतारचढावका कारण विद्यार्थी संगठनहरू ओझेल परेजस्तो देखिएको भन्दै उहाँले अब भने संगठनको कामलाई व्यवस्थित गरिने उनले बताए । उनले भने, ‘पछिल्लो ४ वर्ष यताको राष्ट्रिय राजनीतिको अवस्था, कोभिडको समस्याको कारणले विद्यार्थी संगठनहरू कतै अल्मल्लिएकी भन्ने कुरा स्वभाविक छ । किनकी हामी आफैलाई चित्त बुझ्ने गरी भूमिका निर्वाह गर्न सकेका छैनौँ । तर अब विद्यार्थी संगठनको मुख्य कार्यक्षेत्र भनेको शैक्षिक संस्था, विद्यालय, विश्वविद्यालय नै हो । कहिकतैँ अल्मल्लिएजस्तो भएको हाम्रो सांगठनिक संरचना, जीवन र कामहरूलाई व्यवस्थित गर्दै अगाडि जानुपर्नेछ ।’
नेकपा(माओवादी केन्द्र) निकट अनेरास्ववियु(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले देशको मुख्य समस्या राजनीतिमा भएकाले विगतमा विद्यार्थी संगठनहरू राजनीतिक विषयमा केन्द्रित हुनुपरेको उल्लेख गर्नुभयो । तर आगामी दिनमा भने रचनात्मक र सिर्जनात्मक ढंगले शैक्षिक मुद्धामा केन्द्रित हुने उनले बताए । उनले भने, ‘विद्यार्थी आन्दोलन रचनात्मक र सिर्जनात्मक हुनुपर्ने । यो रचनात्मक र सिर्जनशील आन्दोलन पार्टीको एजेण्डामात्रै बोक्ने आन्दोलन जे बनेको छ । यो कुरा हामीले गम्भिर अनुभुति गरेका छौँ । विद्यार्थी आन्दोलनको रचनात्मक र सिर्जनात्मक पक्षलाई अब हामी बोकेर लैजान्छौँ । स्वभावैले पार्टीपनि संकटको अवस्थामा थियो । जटिल अवस्थामा हुँदा पार्टीलाई कहीँ न कहीँ बोक्नुपर्ने हुन्छ, त्यो बोक्यौ पनि तर आजका दिनमा परिस्थिति बदलिएको छ । हामी समाजसँग जोडिएर समाजका जल्दाबल्दा विषयहरूलाई हाम्रो सरोकारका विषय पनि बनाएर लैजान्छौँ र यसलाई रचनात्मक बनाउनेगरी बढी नै मेहनत गछौँ ।’
अध्यक्ष सिंहले आफ्नो संगठनलाई वैचारिक र राजनीतिक रूपले बलियो बनाउनका लागि पाठ्यक्रम नै बनाएर प्रशिक्षण दिने तयारी गरिरहेको बताए । उनले अखिल(क्रान्तिकारी)को विघटित पदाधिकारी, प्रदेश पदाधिकारी र विघटित आयोजक समितिसँगको छलफल र समन्वयमै केन्द्रीय कमिटीलाई पूर्णता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्