नेपाल टेलिकमको सहयोग «

नेपाल टेलिकमको सहयोग

नेपाल टेलिकमले आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सव (२०७५ माघ २२ गते) को अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार बागमती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । बागमती सफाइ महाअभियान आरम्भ भएको ३०० औं हप्ता पुगेको अवसरमा मनोहरा दोभानमा आयोजित विशेष कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रमुख आशीष घिमिरेलाई सफाइ सामग्री हस्तान्तरण गरे ।
साथै कम्पनीले सो कार्यक्रमका लागि मञ्चको व्यवस्थापनसमेत गरेको थियो । सोही अवसरमा बागमती सफाइ महाअभियानलाई सफल बनाउन नेपाल टेलिकमले गरेको योगदानप्रति उच्च कदर गर्दै प्रशंसा पत्र प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई सो प्रशंसा पत्र प्रदान गरेका थिए । सरसफाइ अभियानमा प्रयोग गर्नका लागि कम्पनीको लोगो अंकित १२५ थान वाटरप्रुफ ट्रयाकसुट, ४ सय जोर गमबुट, १ सय थान फोहोर तान्ने सुइरो, ५० थान दाँते, ४ सय जोर बाक्लो पञ्जा, १ सय थान डोको-थुन्से, ५ सय थान मास्क र ५ सय थान कम्पनीको लोगो अंकित क्याप उपलब्ध गराइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्