शक्तिखोर औद्योगिक क्षेत्रको शिलान्यास दसैंपछि «

शक्तिखोर औद्योगिक क्षेत्रको शिलान्यास दसैंपछि


चितवनको औद्योगिक क्षेत्र दसैंपछि शिलान्यास गरिने भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले दसैंपछि शिलन्यास गर्ने वातावरण बनेको बताएका छन् । ५ वर्ष पहिले घोषणा भएपनि रुख कटानको विवादले काम अगाडी बढ्न सकेको थिएन । शनिबार चितवन उद्योग संघको ३० औं वार्षिकसाधरणसभा तथा १६ औं अधिवेसनमा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले समेत काम अगाडी बढाउन लिखित निर्देशन दिएको बताए ।
“सबै रुख काटिँदैनन्, बाटो र प्लटभित्र पर्ने केही रुख काटिनेछन्, अन्य रुख उद्योगीलाइनै जोगाउने जिम्मा लगाउने छौं” उनले भने, “सबै रुख काटेर सखाप पार्ने भए भनेर भ्रम फैलाउनु जरुरी छैन ।” ३ महिनाभित्र रुख गणना सकिने बताए । २०७३ फागुन ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले शक्तिखोरमा औद्योगिक क्षेत्र घोषणा गरेको थियो ।
१ हजार ७ सय ४१ विघा क्षेत्रफलमा बनाउने भनिएको औद्योगिक क्षेत्रमा करिब २ लाख ४२ हजार रूख रहेका छन् । वन मन्त्रालय सकारात्मक नहुँदा काम रोकिएको हो । पूर्वप्रधानमन्त्री प्रचण्डले शक्तिखोर औद्योगिक क्षेत्र निर्माण कार्य तीव्र गतिमा अगाडी बढाइने बताए । चितवनलाई आर्थिक तथा औद्योगिक विकासको मोडेल जिल्लाका रुपमा अगाडी बढाउन सरकार प्रतिवद्ध रहने बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले शक्तिखोर औद्योगिक क्षेत्र छिटो सञ्चालन हुनुपर्ने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले औद्योगिक वातावरण बनाउन माग गरे । भरतपुर महानगरका मेयर रेनु दाहालले वर्तमान सरकारले शक्तिखोर औद्योगिक क्षेत्र निर्माण कार्यलाई प्राथमिकतामा पार्न आग्रह गरिन् । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले डीपीआर र ईआइए स्वीकृत भइसकेकाले निर्माण कार्य अगाडी बढाउन माग गरे । सो क्षेत्रमा उद्योग स्थापना गर्न आवेदन दिएका उद्योगीको भेला गर्नसमेत तयार रहेको बताए ।
सामुदायिक वन र डिभिजन वन कार्यालय मातहतको वनको क्षेत्रफल फरक परेको भन्दै रुख गणनानै अलपत्र परेको थियो । प्रस्तावित औद्योगिक क्षेत्रमा थाङखोला, उदयपुर र तीनकन्या सामुदायिक वन पर्छन् । ७ सय २३ विघामा उद्योग तथा सेवा क्षेत्र निर्माण हुनेछ भने ४ सय ४६ विघा हरियाली क्षेत्र कायम गरिने योजना छ ।
करिब २८ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । १८ प्रकृतिका ७ सय २२ उद्योग रहने गरी डिजाइन गरिएको छ । ५ वर्षमा उद्योग निर्माण सक्ने लक्ष्य लिएपनि प्रगती हुन सकेको छैन । यो औद्योगिक क्षेत्र सञ्चालनमा आए १ लाख १० हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्