Logo

मुस्ताङबाट करिब १२ हजार भेडा च्यांग्रा बाहिरिए


हिमालपारीको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्यांग्रा बाहिरिएका छन् ।
बिगतको तुलनामा झण्डै आधाको संख्यामा भेडा च्यांग्रा निकासी भएको हो । अघिल्ला वर्षहरुमा २० देखि २५ हजारको संख्यामा भेडा च्यांग्रा निकासी हुँदै आएको थियो । तिब्बतबाट भेडा च्यांग्रा नआएपछि निकासी भएका अधिकांश भेडा च्यांग्रा मुस्ताङमै उत्पादन भएको र करिब १२ हजारको हाराहारीमा जिल्लाबाट निकासी भएको पाइएको भेटरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका अधिकृत ऋषिराम पोखरेलले जानकारी दिए । ‘‘स्वास्थ्य परीक्षणमा जम्मा ३ हजार ५६० पुगेको छ, व्यापारीले संख्या घटाएर टिपाएको भएपनि जिल्लाको नाकाबाट बाहिरिएको रिपोर्टमा १२ हजारको संख्यामा भेडा च्यांग्रा निकासी भएका छन्’’ उनले भने ।
पशु चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा १५ रुपैयाँ शुल्क तिर्नुपर्ने भएकाले समेत व्यापारीले आधाको मात्रै संख्या टिपाउने गरेको पाइएको छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले थासाङ गाउँपालिका, बंगुर जोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकसँग समन्वय गरेर भेडा च्यांग्राको स्वास्थ्य परीक्षण गर्ने प्रवन्ध मिलाएको थियो ।
यस वर्ष मुस्ताङबाट ठूलो संख्यामा च्यांग्रा र थोरै संख्यामा भेडा निकासी भएको छ । यो वर्ष तिब्बतबाट भेडा च्यांग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरुले उत्पादन गरेका भेडा च्यांग्राले माग नधान्ने भएपछि कृषक र बिचौलीयाले मूल्य बढाएका छन् । गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मूल्य बढेको व्यापारीहरुले बताएका छन् । यो वर्ष डोल्पाबाट आएका ४ हजार र बाँकी ८ हजार भेडा च्यांग्रा मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङलगायतका स्थानका किसानले पालेका भेडा च्याङग्रा बजारमा भित्र्याइएको हो ।
म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवललगायतका क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडा च्यांग्राहरु बजारमा ल्याइसकेका छन् । बजारमा रोजा भेडा च्यांग्रालाई ३६ हजारदेखि ४५ हजारसम्म पर्ने गरेको छ । मुस्ताङको भेडा च्यांग्रालाई काटेर बेच्दा प्रतिकिलो २ हजारदेखि २ हजार ५ सय रुपैयाँ पर्ने व्यापारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्