गौचनको स्मृति दिवसमा महासंघमा श्रद्धाञ्जली सभा

नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष सहिद शरदकुमार गौचनको चौथो स्मृति दिवसको अवसरमा शनिबार महासंघ प्रांगण अनामनगरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सभामा नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्वर्गीय गौचनले निर्वाह गरेको भूमिकाको स्मरण गरिएको थियो । वक्ताहरूले गौचनको मिलनसार व्यक्तित्व सबैका लागि प्रेरणादायी भएको धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि महासंघका सल्लाहकार तथा पूर्वअध्यक्ष जयराम लामिछानेले नेपाली निर्माण उद्योगमा गौचनको अभाव सधै महसुस हुने बताए । महासंघका अध्यक्ष रवि सिंहले गौचन नहुँदा समग्र निर्माण उद्योगमा अहिले पनि ठूलो रिक्तता रहेको धारणा राखे । महासंघका निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण उद्योगमा गौचनले ठूलो गुन लगाएको चर्चा गरे । महासंघका महासचिव रोशन दाहालले गौचनको जीवनीबारे प्रकाश पारेका थिए ।