फलेबास नगरपालिकाको प्रशासकीय भवन निर्माण सुरु «

फलेबास नगरपालिकाको प्रशासकीय भवन निर्माण सुरु


भवन निर्माणस्थलका विषयमा भएको विवादका कारण लामो समयदेखि रोकिएको पर्वतको फलेवास नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ ।
फलेवास–५ खानीगाउँमा अस्थायी रूपमा रहेको कार्यपालिका कार्यालय झकलक सार्ने निर्णय भएपछि सर्वोच्च अदालतमा परेको रिट निवदेनका कारण रोकिएको भवन निर्माणकार्यको बिहीबार शिलान्यास भएको हो । नगरपालिकाका प्रमुख पदमपाणि शर्माले एक समारोहका बीच भवन निर्माण कार्यको शिलान्यास गरे ।
फलेवासको खानीगाउँ झकलक चौरमा निर्माण सुरु भएको भवन ४२ कोठे हुनेछ । जुम्ले थान एण्ड आचार्य विल्डर्स प्रालि बागलुङले लिएको छ । भवन निर्माणका लागि २०७८ भदौमा सम्झौता भएको थियो । नौ करोड दुई लाख रुपैंयाँको लागतमा डेढ वर्षमा भवन सम्पन्न गर्ने गरी सम्झौता भएको नगरपालिकाका इन्जिनियर सुवास पोखरेलले जानकारी दिए ।
स्थापनाकालदेखि भाडाको भवनमा बस्दै आएको नगरपालिका केही समयदेखि फलेबास सिँंचाइ आयोजनाको कार्यालयमा बस्दै आएको थियो । सिँंचाइ कार्यालय परिसर साँघुरो भएका कारण भवन निर्माणका लागि फराकिलो ठाउँ खोजिएको नगरप्रमुख पदमपाणि शर्माले बताए । “हाम्रो आफ्नो भवन नहुँदा जनताका काम गर्नमा समस्या भएको थियो, अहिले फराकिलो ठाउँमा आफ्नो भवन निर्माण गर्नतिर लागेका छौं, सबैलाई सहज हुनेछ ।” नगरपालिकाको भवन निर्माणका लागि स्थानीयवासीले ६० रोपनी ८ आना जग्गा नगरपालिकाको कार्यालयको नाममा निःशुल्क पास गरिदिएका थिए । त्यस स्थानमा झण्डै ४० रोपनी सरकारी जमिनसमेत भएकाले दीर्घकालीन रूपमा सेवा विस्तारका लागि समेत सहज हुने प्रमुख शर्माको भनाइ छ ।
यता शिलान्यास कार्यक्रम भने नगरउपप्रमुख मञ्जु अधिकारीले बहिष्कार गरिन् । नगर उपप्रमुख मञ्जु अधिकारीले भने भवन निर्माणस्थलको विषयमा सुरुदेखि नै असहमति राख्दै आएकी थिइन् । कार्यपालिकाले गरेको निर्णयमा असहमति राख्दै उपप्रमुख अधिकारीले सर्वोच्च अदालतमा भवन निर्माणकार्य रोक्न रिट निवेदनसमेत दिएकी थिइन् । पछि सर्वोच्चले अन्तिरम आदेश खारेज गरेपछि भवन निर्माण प्रकृया सुरु भएको थियो । शिलान्यास समारोहमा कार्यपालिकाका सबै सदस्य र नगरपरिषद्का दुई तिहाईभन्दा बढी सदस्यको समर्थन र सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्