स्याउ कृषकलाई क्षतिपूर्ति

जुम्ला-गत वैशाखमा परेको खडेरी र असिनाले स्याउमा क्षति पुगेपछि पीडामा परेका जुम्लाका किसानले क्षतिपूर्ति पाएका छन् । स्याउ खेतीको बिमा गरेका किसानले सम्बन्धित बिमा कम्पनीबाट क्षतिपूर्ति पाएका हुन् ।
खडेरी र असिनाले स्याउमा ठूलो क्षति पुगेपछि स्याउ उत्पादन निकै घटेको थियो । स्याउ उत्पादन नभएपछि बिमित कृषकहरू पटक–पटक क्षतिपूर्ति माग्दै आएका थिए । सोही क्षतिपूर्तिस्वरूप यो वर्ष मात्रै स्याउ बिमा गरेका ७ सय १६ जना किसानले रकम बुझिरहेका छन् ।
चन्दननाथ नगरपालिका–३ का रामकृष्ण बुढ्थापाले क्षतिपूर्ति रकम बुझ्दै थोरै भए पनि राहत मिलेको बताए । “१ सय ६० विरुवाको बिमा गरेको थिएँ, असिनाले स्याउको फूल तथा चिचिला झारेर उत्पादन भएन,” उनले भने, “लाखौंको घाटा खाइयो, तर ४७ हजार क्षतिपूर्ति पाउनु पनि ठुलो कुरा हो ।” क्षतिपूर्ति बुझ्ने सबै कृषकलाई शिखर इन्स्योरेन्स कम्पनीले चेक हस्तान्तरण गरिरहेको छ । पहिलो चरणमा ४ सय जनालाई चेक हस्तान्तरण गरिँदै छ । विगत तीन वर्ष यता जुम्लामा स्याउ बिमा सुरु भएको हो ।
पहिलो वर्ष ४७ जनाले मात्रै बिमा गरेका थिए भने दोस्रो वर्षमा १ सय ४७ र यो वर्ष ७ सय १६ जना किसानले स्याउ बिमा गरेका छन् । कम्पनीका कर्णाली प्रदेश इन्चार्ज ऋषिराम पाण्डेले कृषि प्राविधिकहरूले स्याउ बगैंचामा पुगेर क्षतिपूर्तिको प्रतिवेदन तयार गरेकाले सोही अनुसार रकम भुक्तानी गरिएको बताए ।
चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले स्याउ खेतीलाई नतिजामुखी बनाउन यस कार्यक्रमले टेवा पु-याएको बताइन् । “जुम्लालाई स्याउ पर्यटन क्षेत्रका रूपमा विकास गर्न यस्ता क्षतिपूर्तिका कार्यक्रम आवश्यक छन्,” उनले भनिन्, “हरेक स्याउ किसानले स्याउ बिमा गर्न जरुरी छ ।”
जुम्लाका एक नगरपालिकासहित ७ वटै स्थानीय तहमा स्याउ उत्पादन हुुन्छ । जिल्लाका २० हजार घरधुरीमध्ये करिब १६ हजारले स्याउ खेती गरिरहेको कृषि ज्ञान केन्दका अधिकृत बालकराम देवकोटाले बताए ।