वीपी उद्यान निर्माण बदर गर्ने दुस्प्रयास आपत्तिजनक «

वीपी उद्यान निर्माण बदर गर्ने दुस्प्रयास आपत्तिजनक

नेपाली कांग्रेसले वीरगञ्जमा वीपी उद्यानका लागि छुट्याइएको जग्गामा प्रदेश सरकारले सहिद स्मृति पार्क बनाउन खोज्नु आपत्तिजनक भएको बताएको छ । आइतबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले यस्तो आपत्ति जनाएको हो ।
“नेपाली माटोमा लोकतान्त्रिक विचार र संस्कारलाई प्रविष्ट गराउने वीपी कोइरालाको नाममा उद्यान निर्माण गर्न १० विगाह जग्गा खरिद भइसकेको र प्रक्रिया अघि बढेको तथ्य नजरअन्दाज गरेर प्रदेश नम्बर २ का मुख्यमन्त्रीले अर्कै नाममा पार्क निर्माण गर्न गत माघ १६ मा शिलान्यास गर्नु दुखद् त छ नै, घोर आपत्तिजनक पनि छ,” कांग्रेसले भनेको छ ।
हाल वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको उद्यानका लागि छुट्याइएको जग्गामा माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सहिद स्मृति पार्क निर्माणको शिलान्यास गरेका थिए ।
नेपाली कांग्रेसले यस विषयमा केन्द्र सरकारको पनि ध्यानाकर्षण गराउँदै वीपी उद्यान नै निर्माण गर्न आग्रह गरेको छ । “प्रदेश सरकारको शैली जुन प्रकारको देखियो, त्यो बदल्नुपर्छ । यसमा केन्द्रीय सरकारले गम्भीरता राखोस्, प्रदेश सरकार पनि गम्भीर बनोस् । वीपीको नाममा प्रस्तावित भएको उद्यान त्यही रुपमा अगाडि बढोस्,” प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमा भने ।
माघ २४ बसेको कांग्रेस केन्द्रीय समिति बैठकले वीपी उद्यान निर्माण बदर गर्ने निर्णयको विरोध गर्दै पूर्व निर्णयलाई तत्कालै यथास्थितिमै कायम राख्न र यथाशिघ्र वीपी उद्यान निर्माण प्रक्रिया अघि बढाउन माग गरेको थियो । ०६० कात्तिक २७ गते तत्कालीन श्रम तथा यातायात मन्त्री डा. प्रकाशचन्द्र लोहनीले वीरगञ्जमा वीपी उद्यानको शिलान्यास गरेका थिए ।
“प्रश्न एउटा उद्यानको मात्रै होइन, प्रश्न नेपाली राजनीतिक इतिहासका सर्वाधिक प्रिय राजनीतिज्ञको नामको पनि हो । तर प्रश्न उहाँको नामको मात्रै होइन, मूल प्रश्न वर्तमान नेपाली राजनीतिमा बढ्दै गएको निषेधको प्रवृत्तिको पनि हो,” वीपी उद्यान नबनाउने निर्णयलाई कांग्रेसले नियतवश गरिएको वीपी नामप्रतिको अवहेलनाको गम्भीर दुस्साहस भएको टिप्पणी गर्दै भनेको छ । तत्काल सो निर्णय सच्याउन आग्रह गर्दै कांग्रेसले अन्यथा तत्कालै संसददेखि सडकसम्म कडा दबाबको सामना गर्नुपर्ने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्