नेपाल–भारत सीमापार रेल सञ्जालको काम अगाडि बढ्यो «

नेपाल–भारत सीमापार रेल सञ्जालको काम अगाडि बढ्यो

नेपाल तथा भारतबिच सीमापार रेल सञ्जालको काम अगाडि बढेको छ ।
हाल सञ्चालित सीमापार रेल सञ्जालको कार्यान्वयन पक्ष तथा रेलमार्ग क्षेत्रमा समग्र द्विपक्षीय सहकार्य बारे समीक्षा गर्न नेपाल तथा भारतबिच २० असोजदेखि दुई दिनसम्म भारतको नयाँ दिल्लीमा भारत–नेपाल संयुक्त कार्यदलको पाँचौं बैठक तथा परियोजना सञ्चालन समितिको सातौं बैठकले अगाडि बढाएको हो
नेपाल–भारत संयुक्त कार्यदलको बैठकमा भारतीय टोलीको नेतृत्व भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा. मनोज सिंहले गरेका थिए भने परियोजना सञ्चालन समितिको बैठकमा भारतीय टोलीको नेतृत्व भारतीय विदेश मन्त्रालयका सह–सचिव अनुराग भुषणले गरेका थिए । दुवै बैठकमा नेपाली टोलीको नेतृत्व नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव केशव कुमार शर्माले गरेका थिए ।
जयनगर–कुर्था खण्डमा यात्रुवाहक रेल सेवा सुरु गर्नका लागि दुवै पक्षले स्टयान्डर्ड अपरेसन प्रोस्युडियोर (एसओपी) मा हस्ताक्षर गर्नुका साथै रक्सौल–काठमाडौँबीच प्रस्तावित ब्रोडगेज रेलमार्गको फाइनल लोकेसन सर्भेका लागि सम्झौतापत्रमा हस्ताक्षर गरे । यो एसओपीले नयाँ खण्डमा यात्रुवाहक रेल सेवा संचालनका लागि प्राविधिक सहयोग प्रदान गर्नुका साथै नेपालसँग आउँदो सीमापार रेलमार्गमा प्रारम्भिक रेलसेवाको सुरुवातका लागि मार्गदर्शक दस्तावेजको रूपमा काम गर्ने काठमाडौंस्थित भारतीय दुतावासद्धारा जारी विज्ञप्तिले जनाएको छ । प्रस्तावित रक्सौल–काठमाडौँ ब्रोडगेज रेलमार्गले भारत र नेपालबीचको कनेक्टिभिटीलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ ।
दुवै पक्षले भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको जयनगर–बिजलापुर–बर्दिबास र जोगवनी–विराटनगर ब्रोडगेज रेलमार्गबारे छलफल पनि गरेका थिए । हालै निर्माण सम्पन्न भएको भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किमि खण्डमा यात्रुवाहक रेल सञ्चालन गर्न तयारी गरिएको प्रविधिक पूर्वतयारीबारे पनि बैठकले समीक्षा गरेको छ । बैठकमा रेलमार्गअन्तर्गतको १७.२५ किमि कुर्था–बिजलापुर खण्डको निर्माण शिघ्र सम्पन्न गर्न नेपालले आवश्यक सहयोग एवम् सहजीकरण गर्ने आश्वासन दियो ।
यस्तै, बैठकमा १८.६ किमि जोगवनी–विराटनगर रेलमार्गको निर्माण चाँडो सम्पन्न गरी छिट्टै संचालनमा ल्याउन पनि दुवै पक्षबीच सहमति भएको छ । बैठकमा रक्सौल–काठमाडौं ब्रोडगेज रेलमार्ग र दोस्रो चरणमा रेल सञ्जाल अन्र्तगतका परियोजनामा भएका प्रगतिबारे पनि बैठकले छलफल गरेको छ । रेलमार्ग लगायत नेपाली रेल कर्मचारी तथा प्राविधिकको क्षमता विकास, व्यवस्थापन एवम्प्रशिक्षणका क्षेत्रमा प्रविधिक सहकार्यलाई सुदृढ गर्नेबारे दुवै पक्षबीच सहमति भएको विज्ञप्तिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्