बुद्धभूमि नेपाल हाइड्रोको आईपीओ बाँडफाँट आज

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ (आज) शुक्रबार बाँडफाँट हुने भएको छ । असोज २० गते प्रिअलोटमेण्ट सम्पन्न गरेको कम्पनीको आईपीओ शुक्रबार अन्तिम बाँडफाँट गर्न लागिएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।
कम्पनीको आईपीओ खरिदका लागि २१ लाखभन्दा बढी आवेदकले ३५ गुणाभन्दा बढी कित्ता सेयरको खरिदको आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणका लागि असोज ११ गतेदेखि १४ गतेसम्म ७ लाख ४४ हजार कित्ता सेयर सार्वजनिक निष्कासनमार्फत बिक्री गरेको हो ।
सर्वसाधारणका लागि छुट्याइएको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ मध्ये २ प्रतिशत दरको १६ हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ ।
कम्पनीले नुवाकोट जिल्लामा तल्लो तोदी खोलाको पानीबाट ४.९९३ मेगाबाट क्षमताको तल्लो तोदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजना निर्माणको कुल लागत एक अर्ब १९ करोड रुपैयाँ रहेको छ ।