चाडपर्वसँगै आकासियो तरकारीको मूल्य

झापा-घटस्थापनासँगै दसैंको रौनकले नेपालीलाई छोइसकेको छ । अन्य समयको तुलनामा दसैंमा माछामासुको खपत पनि धेरै हुने गर्छ । दसैंमा माछामासुसँगै तरकारीको खपत पनि धेरै नै हुन्छ । तर, बजारमा तरकारी भने छोइनसक्नु महंगो छ ।
हरेक वर्ष असोज लागेपछि तरकारीको भाउ घट्ने गर्दथ्यो । यसवर्ष भने मूल्य घट्नुको साटो दोब्बर महंगो हुँदा उपभोक्तालाई महंगीको मर्का थपिएको छ । हिजोआज तरकारी गतवर्ष यही बेलाको तुलनामा दोब्बर महंगो भएको छ ।
नेपालको उत्पादन कम रहेकाले भारतीय बजारमा निर्भर हुनु पर्दा तरकारीको मूल्य बढ्न थालेको झापाको बिर्तामोडमा रहेको प्रदेश–१ कै ठूलो कृषि थोक बजारका व्यापारी त्रिलोचन सापकोटा बताउँछन् । बजारको मागभन्दा कम आपूर्ति भइरहँदा तरकारीको भाउ बढेरै आएको कृषि थोकका व्यापारी सापकोटाले बताए । भारतीय मन्डीमा नै तरकारीको महंगो रहेकाले आयातसमेत घटेको व्यापारीको भनाइ छ ।
बेमौसमी तरकारी भएकाले पनि मूल्य अत्याधिक वृद्धि भएको बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कडरीयाले बताए । “यसपाली मनसुन ढिला छ, पानी अझै पर्दैछ, जसकारण नेपाली कृषकले तरकारी उत्पादन गर्न सकिरहेका छैनन्” कडरीयाले भने, “बजरमा हिउँदे तरकारी नभित्रिएसम्म मूल्य घट्छ जस्तो छैन ।” कात्तिक भर तरकारीको मूल्य वृद्धि हुने अवस्था रहेको कडरीया बताउँछन् । यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको उनले सुनाए ।
कृषि थोक बजारमा एक साता अघि नेपाली गोलभेंडा प्रतिकिलो ७० रुपैयाँमा बिक्री भइरहेको थियो । तर, अहिले किलोमा ५० रुपैयाँले वृद्धि भएर १ सय २० रुपैयाँ पुगेको छ । भारतीय गोलभेंडा प्रतिकिलो १ सय रुपैयाँमा बिक्री भइरहेको छ । केही दिनयता प्याजको मूल्य पनि ह्वातै बढेको छ । चाडपर्व लागेपछि प्याज पुनः महंगिन थालेको हो । कृषि थोकमा गत सातासम्म प्रतिकेजी ६० रुपैयाँ रहेको प्याज अहिले ८० रुपैयाँ पुगेको छ ।
यस्तै गाजर १ सय २० रुपैयाँ प्रतिकिलो पुगेको छ । काउलीको मूल्य पनि गत वर्षको तुलनामा बढेको कृषि थोककी व्यापारी जुनु राई बताउँछिन् । काउली हाल प्रतिकेजी १ सय ५० रुपैयाँ छ । रायोको साग, कागती, कुरिलोको मूल्य उच्च छ । कृषिथोकमा सिमी ६० रुपैयाँ प्रतिकेजी, करेला १ सय रुपैयाँ प्रतिकिलो, बोडी, सिमी १ सय ४० रुपैयाँ प्रतिकिलो, भिन्डी १ सय २० रुपैयाँ प्रतिकिलो, चाइनिज लसुन ४ सय रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ ।
विगत वर्षको तुलनामा च्याउको मूल्यमा पनि ४० रुपैयाँ वृद्धि भएको छ । लामो समयदेखि घटबढ नभएको च्याउको मूल्य यस वर्ष वृद्धि भएको राई बताउँछिन् । आलुको मूल्य भने गत वर्षको सरह रहेको व्यापारी बताउँछन् । भुटानी आलु प्रतिकिलो ४० रुपैयाँ रहेको छ भने पहाडे आलु प्रतिकिलो ८० रुपैयाँ रहेको छ ।
झापामा मात्र नभएर देशै भर तरकारीको भाउ उच्च रहेको कृषिथोक बजारका होलसेल व्यापारी रवीन साहको भनाइ छ । “हामी अन्य जिल्लामा पनि तरकारी निर्यात गछौँ” मूल्य भारतबाट नै बढेर आएको छ” साहले भने ।
महंगीले तरकारी किनेर छाक टार्न पनि गाह्रो हुन थालेको बिर्तामोडकी सर्मिला शिवाकोटी बताउँछिन् । “प्रत्येक दिन तीन सय भन्दाबढीको तरकारी खपत हुन्छ, तरकारी किनेर खान नसकिने भइयो” शिवाकोटी भन्छिन् । औषत आम्दानी भएका उपभोक्तालाई महंगीले धेरै नै सताएको उनी बताउँछिन् । नेपालमा उत्पादनमा सन्तुलन नभएको कारणले उपभोक्ता मारमा पर्दै आएका छन् ।