लत्ताकपडा २० प्रतिशत महँगो «

लत्ताकपडा २० प्रतिशत महँगो


दसैंले बजारलाई अहिले छपक्कै छोपेको हुनुपर्ने हो, तर बजारमा सामान किनमेल गर्नेको कमी हँुदा व्यापार हुन सकेको छैन । तर, मूल्य पनि गत वर्षको भन्दा २० प्रतिशत भन्दा धेरैले बढेको व्यापारीहरूले बताएका छन् ।
बिहीबारबाट दसैं सुरु भएको छ । दसैं सुरु भएसँगै बजारमा पनि सामान किन्नेहरूको चहलपहल बढ्न थालेको छ । नयाँ कपडा लगाउन दसैं कुर्ने बानी हटिनसकेका कारण पनि बजारमा भीड बढेको हो । तर, बजारमा आफूहरूले चाहेजस्तो सामान नहँुदा ग्राहकहरू भने निराश भएर फर्कन बाध्य भएका छन् भने सामान पाए पनि धेरै महँगो भएको प्रतिक्रियासमेत दिएका छन् । खासगरी काठमाडौंको भोटाहिटी, असन, इन्द्रचोक, खिचापोखरीलगायतका क्षेत्रमा आउने ग्राहकहरूले लत्ताकपडा, जुत्तालगायतका सबै सामानको भाउ निकै महँगो रहेको बताएका छन् । यस्तै, उनीहरूले बजारमा नयाँ सामानहरू देखिएको पनि बताएका छन् ।
यता व्यापारीहरूले पनि यस वर्षको दसैंमा लत्ताकपडालगायतका सामानहरूको मूल्य वृद्धि भएको स्वीकार गरेका छन् । उनीहरूले दसैंलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको भन्सार नाकामै लामो समयसम्म रोकिँदा बजारमा अभाव भएको तथा भन्सारको मूल्यांकन पनि बढेको कारण महँगी बढेको बताएका छन् । उनीहरूका अनुसार यो वर्ष २० प्रतिशतभन्दा धेरै मूल्यवृद्धि भएको छ । व्यापारीहरूले ग्राहकको आगमन कम हुँदा व्यापार पहिलेको भन्दा खस्किएको पनि बताएका छन् । उनीहरूले दसैं सुरु भएसँगै व्यस्त हुनुपर्ने बेला मोबाइल खेलाएर दिन काट्न बाध्य हुनुपरेको पनि गुनासो गरे ।
व्यापारीले सोचेअनुसारको व्यापार नभएको बताइरहँदा बजारमा भीड लाग्ने क्रम भने दिनहुँ बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्