दसैंका लागि जुट्यो जनकपुर

नेपालीहरूको महान पर्व बडा दसैंको उपलक्ष्यमा जनकपुरको विभिन्न शक्तिपीठमा पूजाको आवश्यक तयारी पूरा भएको छ । बडा दसैँको उपलक्ष्यमा जनकपुरको ऐतिहासिक शक्तिपीठहरू भव्य रूपमा सजाइएको हो । स्थानीय युवा क्लबहरू दसैँलाई भव्य बनाउन जुटेका छन् भने प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित एक दर्जनभन्दा बढी स्थानमा शक्तिस्वरुपा दुर्गाको मूर्ति स्थापना गरी दसैँमा पूजाअर्चना गर्ने गर्न तयारी गरिरहेका छन् ।
राम मन्दिर परिसरभित्र रहेको राजदेवी मन्दिरसहित अन्य स्थानमा मूर्ति स्थापना गरी पूजा गरिने ठाउँहरूमा आकर्षक पण्डाल, रंगीचंगी बल्ब जडान गर्ने कार्य सुरु भइसकेको छ । राजा जनकका कुलदेवता भनिएको प्रसिद्ध राजदेवी मन्दिरमा आकर्षक पण्डाल र झिलिमिली बत्तीहरु जडान गर्ने कार्य करिब पूरा भइसकेको महावीर युवा कमिटीले जनाएको छ । पण्डाल, बत्तीलगायत पूजा व्यवस्थापन गर्न १० लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । मन्दिरका मूलपुरोहित गणेश झाले मन्दिरमा पररम्पगत रुपमा हुने गरिएको पूजाको साथै तान्त्रिक विधिअनुसार समेत पूजा गरिने बताए । उनले मन्दिरमा तान्त्रिक विधिअनुसार पूजा हुने गरिएकै कारण दसैँभर महिलाहरूलाई राजदेवी मन्दिरमा पूजा गर्न वर्जित गरिएको पनि बताए ।
मूल पुरोहित झाले भने, “मन्दिरमा पररम्पगत रूपमा हुने गरिएको पूजाको साथै तान्त्रिक विधिअनुसार समेत पूजा गरिन्छ, मन्दिरमा तान्त्रिक विधिअनुसार पूजा हुने गरिएकै कारण दसैँभर महिलाहरूलाई राजदेवी मन्दिरमा पूजा गर्न वर्जित हुन्छ ।”
त्यस्तै घटस्थापनादेखि सुरु हुने पूजाअर्चना विजया दशमीसम्म चल्ने बताउँदै क्लबका अध्यक्ष मनमोहन शाहले दसैंलाई भव्य बनाउन नियमित पूजाका साथै भजन सन्ध्यालगायतको कार्यक्रम गरिने जानकारी दिए । उनले स्थानीय रामानन्द युवा क्लब हरेक वर्षझैँ यस वर्ष पनि माटोको मूर्ति निर्माण गरी पूजाको तयारीमा जुटेको बताउँदै पूजालाई भव्य बनाउन क्लबले रामानन्द चोकमै पण्डाल निर्माण थालेको जानकारी दिए ।
जनकपुरको मुरली चोक, भ्रमरपुरा चोक, पिडडीया माइस्थान, रजौललगायतको क्षेत्रका युवा क्लब पनि दसैंको तयारीमा जुटेका छन् । अन्य दिन चाँडै बन्द हुने जनकपुर दसैं सुरु भएपछि राति अबेरसम्म खुल्ला रहने गर्दछ । धार्मिक स्थलहरूमा हुने भजनकिर्तन तथा धार्मिक कार्यक्रमले जनकपुरमा छुट्टै रौनक छर्ने गर्छ ।