दसैंमा मालामाल मदिरा कम्पनी

हिन्दूहरुको महान चाड बडादसैं नजिकिँदै गर्दा मानिसको चहलपहल बढ्दै गएको छ । दसैं मनाउने परम्परा एकै भए पनि यो बेला खाने, पिउने र जिउने शैली भने मानिसको रुची अनुसार फरक फरक हुने गरेको छ ।
मानिसको हैसियत अनुसार मनाउने तरिका एकरुपता भएपनि खाने लगाउने विषयमा भने आम नेपालीमा फरकपन रहेको पाउन सकिन्छ । दसैंको धार्मिक महत्वलाई माध्यम बनाएर परिवार जमघट र साथीभाइ भेटघाटको मज्जा अन्य बेलासँग तुलना गर्नै मिल्दैन । अन्य कुराको भन्दा पनि दसैंलाई खानपानसँग जोडेर हेर्ने चलन बढी देखिएको छ ।
दसैं तिहार जस्ता फेष्टिबल शुरु हुनु अगाडि नै यसलाई कसरी मनाउने भन्ने विषयमा चर्चा हुने गरेको देखिन्छ । दसैंलाई कसरी मनाउने भन्ने बारे धार्मिक महत्व आफ्नै प्रकारको रहेको छ र यसलाई सबैले स्विकार पनि गरेको पाइन्छ । तर समयसँगै दसैंलाई अझ रसिक र सम्बन्धलाई आत्मीय बनाउन फरक फरक प्रकारका खानपानका परिकार थपिँदै गएका छन् । यस्तो बेलाको खानपिनमा व्यक्तिको रोजाइले प्राथमिकता पाउँछ । दसैंमा अन्य बेला जस्तो दालभात, तरकारी र अचार जस्ता नियमित भोजन नै खानु पर्छ भन्ने छैन ।
यहाँ चर्चा गर्न खोजिएको नेपाली माझ पेय संस्कृतीको रुपमा भित्रिएको मदिराको प्रयोग हो । स्वास्थ्य र धार्मिक कारण मदिरा सबैले पिउँदैनन् । तर पिउनेलाई पनि यो बेला रोकतोक हुँदैन । कहिलेकाही वियर, वाईन र तथा हार्ड ड्रिंक्स पिउनेका लागि पनि दसैं मदिरा पिउने लाइसेन्सको रुपमा मान्ने गरिएको छ । नेपाल मदिरा उत्पादक संघका अनुसार, कहिलेकाही मदिरा पिउने मानिसले पनि दसैंको बेलामा पिउने गरेका कारण अन्य समय भन्दा दसैं जस्ता चाडवाडमा मदिराको कारोबार बढी हुने गरेको छ । अन्य महिनाको तुलनामा दसैंमा दोब्बर बढी मदिरा बिक्री हुने गरेको संघले जनाएको छ । मदिराको कारोबार दसैं तिहार जस्ता फेष्टिवलमा बढ्ने गरेको भएपनि विगत कोरोना संक्रमणका कारण विगत २ वर्षदेखी यसको उत्पादनमा कमी आएको छ ।
नेपाली समाजमा स्वास्थ्य र अन्य कारणले मदिरालाई झट्टै स्विकार नगरेपनि मदिरा विस्तारै संस्कारका रुपमा भित्रिन थालेको छ । यदाकदा मदिरा पिउनेले पनि रमाईलो र लामो समयपछि साथीभाइ तथा परिवार भेटघाट भन्दै दसैंमा १-२ पेग घुट्क्याउने गरेको पाईन्छ । नियमित रुपमा अधिक मदिरा पिउदा मानव स्वाथ्यमा असर पर्ने भएपनि नेपालीले कुनै न कुनै बहानामा मदिरा पिउने दरलाई बढाएको देखिन्छ । तथ्यांककै कुरा गर्दा हरेक वर्ष मदिरा पिउने मानिसको संख्या बढी रहेको छ ।
नेपाल मदिरा उत्पादक संघका अनुसार पेय पर्दाथको तुलनामा वाइनको उत्पादन दोब्बर भन्दा बढीले वृद्धि भएको भएको छ । योे तथ्यांकलाई हेर्दा कुनै न कुनै बहानामा वाइन पिउने नेपालीको संख्या बढ्दै गइरहेको बुझ्न सकिन्छ । नेपाली समाजमा वाइन कसले बढी पिउँछन् त भन्ने विषय अर्को सामाजिक विश्लेषण हुन सक्ला । जे भएपनि नेपाली समाजले बिस्तारै मदिरा संस्कृतीलाई स्विकार गरेको प्रष्ट भइसकेको छ । यसरी नै बियर उत्पादन दरको वृद्धिलाई हेर्दा नेपालीले पनि तिर्खा लाग्दा पानीको विकल्प खोज्दैछन् भन्ने आभाष हुन्छ । नेपालमा वर्षेनी बियर बजारको वृद्धि बढदै गरेको तथ्यांक संघसँग रहेको छ । बियर उत्पादनलाई हेर्दा पनि नेपालमा बियर पारखीको संख्या कम छैन भन्ने अनुमान लगाउन सकिन्छ । मदिरा उत्पादनको तथ्यांकलाई हेर्दा मानव स्वास्थ्यका हिसाबले खुशी हुनुपर्ने अर्को कारण पनि छ । बढी अल्कोअल भएका रक्सीको उत्पादन बृद्धिदर भने अन्य २ वटाको तुलनामा कम रहेको छ । बढी अल्कोअल भएका मदिराले मानिसको स्वास्थ्यमा छिटो र बढी असर गर्ने गरेको छ । भोडका, ह्विस्कि, रम, जिन तथा अन्य हार्ड ड्रिक्स पर्दछन् ।
नेपालमा हालसम्म ८० वटा भन्दा बढी मदिराजन्य पेयपर्दाथ उत्पादन गर्ने कम्पनी दर्ता भएका छन् । मदिरा पिउनेका लागि सिकारु पेय पदार्थको रुपमा नेपालमा परिचित वियर उत्पदन गर्ने कम्पनी अहिले बढेर १ दर्जन भन्दा बढी पुगिसकेका छन् । आम नेपालीले मदिरा पिउने बानी वियरबाट शुरु गरेर कडा मदिरा (हार्ड ड्रिक्स) मा पु¥याएर अन्त्य गर्ने गरेको देखिन्छ । यसरी पछिल्लो समय नेपाली समाजको आम पेय पर्दाथको रुपमा भित्रिएको वाइन उत्पादन गर्ने कम्पनीको संख्या पनि बढेर ४० भन्दा बढी पुगेको छ । अधिकांश वाईन फलफुलबाट बन्ने गरेका कारण फलफुलको नाम लिदै पिउने वाईन पाखरीहरुको संख्या बढेको छ ।
नेपालीको सामाजिक हैसियत र आम्दानीका आधार बढ्दै गएर होला नेपालीले एक वर्षमा मदिराका लागि ८० देखी ९० अर्ब भन्दा बढी खर्च गर्ने गरेको देखिन्छ । अघिल्लो वर्षको तथ्यांक अनुसार, नेपालमा नै उत्पादन हुने नेपाली मदिराको बजार ७८ अर्ब रहेको छ । यस मध्येको केही हिस्सा विदेशमा निर्यात हुने नेपाली मदिराले पनि ओगटेको छ । विदेश निर्यात हुने अधिकांश नेपाली मदिराको उपभोक्ता भने विदेशमा रहेका नेपाली नै हुने गरेका छन् । मदिराको लागि नेपालीले खर्च गरेको ५५ प्रतिशत पैसा भने विभिन्न प्रकार कर मार्पmत सरकारको ढुकुटीमा जाने गरेको छ । सरकारले मदिरा कारोबारमा अन्तःशुल्क, आयकर, कच्चा पदार्थ भन्सारको शिर्षकमा आधा भन्दा बढी लिने गरेको छ । मदिराको सम्पूर्ण कारोबारको १३ प्रतिशत वितरणका क्रममा खर्च हुने गरेको छ भने उत्पादकले ३२ प्रतिशत मात्र पाउने गरेका छन । मदिरा उत्पादनमा ठूलो कारोबार हुने गरेपनि लगानीकर्ताको हातमा भने न्युन मात्रामा प्रतिफल हात पर्ने गरेको छ ।
मदिरा स्वास्थ्यका लागि हानिकारक
मदिरा उत्पादनदरको बृद्धिलाई हेर्दा मदिरा प्रयोगकर्ता बढेको देखिन्छ । मदिरा प्रयोगकर्ता बढ्नु भनेको रोगीको संख्या पनि विस्तारै बढ्दै छ भन्ने हो । मदिराको अधिक सेवनले कलेजो र मृगौलामा क्यान्सर हुने देखिएका कारण मदिराको प्रयोग गर्नु हँुदैन र अरुलाई पनि मदिराको तलबाट टाढै राख्न सामाजिक अभियान संचालन गर्नुपर्ने देखिएको छ । न्युन आम्दानी भएका मानिसले कम गुणस्तरको मदिरा सेवन गर्दा स्वास्थ्य र परिवारको आम्दानी रक्सीमा खर्च हुने र परिवारीक समस्या आउने गरेको छ । नेपालमा मदिरा उत्पादनदर बृद्धिलाई बढ्दो जनसंख्यासँग सन्तुलन गर्ने गरिएको भएपनि जनसंख्या बृद्धिदर भन्दा उत्पादनको दर आक्रामक देखिन्छ । मानिसको स्वाथ्यलाई ध्यानमा राखेर सरकारले मदिराको प्रयोग र उपभागलाई नियन्त्रण गर्न बेला बेलामा विभिन्न नियमहरु लगाउँदै आएको छ । सरकारले जनस्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने मदिराको अनुगमन भने दसैंको मुखमा मात्र गर्ने गरेको छ । जनताको स्वास्थ्य सेवाका लागि सरकारी दायित्व बढ्दै जान थालेपछि यसको नियन्त्रणका लागि मदिराको प्रयोग र उपभोगलाई नियन्त्रण गर्ने योजना अघि बढाएको पाइन्छ । सरकारले पनि कर तथा अन्य आम्दानीको लोभमा जथाभावी मदिरा उत्पादन अनुमति दिने गरेको छ । मदिराका कारण सामाजिक र स्वास्थ्य समस्याका कारण कतिपय देशले मदिरा उत्पादन र प्रयोगलाई पूर्णरुपमा रोक लगाउने गरेका छन् ।