महानगरपालिकाद्वारा काठमाडौंका ९ नगरपालिकालाई एक–एक करोड «

महानगरपालिकाद्वारा काठमाडौंका ९ नगरपालिकालाई एक–एक करोड

•सम्झौता रकम दुरुपयोग भए ब्याजसहित काठमाडौं 
महानगरपालिकालाई फिर्ता गर्नुपर्ने

काठमाडौं महानगरपालिकाले विभिन्न विकास निर्माणको काम गर्न काठमाडौं जिल्लाअन्तर्गतका नौ वटा नगरपालिकालाई एक–एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।काठमाडौं महानगरपालिकाको साझेदारीमा निर्माण हुने परियोजना चालू आर्थिक वर्षभित्र सुरु भइ आउदो आर्थिक वर्षभित्र सम्पन्न हुने गरी सो रकम हस्तान्तरण गरेको हो । महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले आइतबार नौ वटै नगरपालिकाका मेयरलाई रकम हस्तान्तरण गरेका छन् । उक्त सम्झौता भएको रकमबाट  कीर्तिपुर नगरपालिका वडा नं. १ ,२ र १० क्षेत्र समेटी करिब ५५ रोपनी जग्गामा युद्ध स्मारक पार्क, शंखरापुर नगरपालिका  वडा नं. ९ बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान विकास, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ मा अवस्थित प्रसिद्ध कागेश्वरी मन्दिर र त्यस वरिपरिको क्षेत्रलाई समेटी पवित्र कागेश्वरी धाम निर्माण र गोकर्णेश्वर नगरपालिका वडा न.९ जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति पार्क क्षेत्रभित्र गोकर्णेश्वर पार्क र राष्ट्रिय शहीद तथा शान्ति पार्क परियोजनाको ड्रईङ डिजाइन निर्माणमा गर्न खर्च गर्नुपर्नेछ ।यस्तै, बूढानिलकण्ठ नगरपालिका वडा नं. ८ हात्तीगौंडामा बूढानीलकण्ठ पार्क, तारकेश्वर नगरपालिका वडा नं. ३ धाम क्षेत्रमा तारकेश्वर धाम, नागार्जुन नगरपालिका वडा नं. ६ डाँडापौवामा गणेशमान स्मृति पार्क र चन्द्रागिरी नगरपालिका वडा नं. १३ मा रमणीय उद्यान निर्माणका लागि ड्रईङ डिजाइन गर्नुपर्नेछ । महानगरपालिकाले उक्त सम्झौता रकम अन्य कुनै परियोजनामा खर्च भए ब्याजसहित फिर्ता गर्नुपर्ने शर्त राखेको छ ।यसैबीच, भूकम्पले भत्काएको तीन वर्षपछि काष्ठमण्डप पुनर्निर्माणका क्रममा महत्वपूर्ण मानिएको ‘प्यंग थां’ (चारवटा मूल थाम) आइतबार ठड्याइएको छ । आइतबार बिहान हनुमानढोका परिसरमा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले थामहरुको संकल्प पूजा गरेका थिए । संकल्प पूजाको क्रममा उपस्थित सबैले ‘किगः तिनिउ’ (चामल चढाएर) काष्ठमण्डप पुननिर्माणको संकल्प गरेका थिए । काष्ठमण्डपमा चारवटा मूल थाम हुनेमा एउटा थाम भने पुरानै काष्ठमण्डपको प्रयोग हुनेछ । पुरानो थामलाई हिजो नै विधिपूर्वक काष्ठमण्डप पु¥याइएको थियो । पुरानो काष्ठमण्डपमा जस्तै सुनको मण्डप बनाइ ‘ईःलोंह’ र मूल थामको बीचमा राखिएको थियो । चारवटा थामका लागि दुई किलो सुन प्रयोग गरिएको समितिले जनाएको छ । ११–१२ औं शताब्दीमा निर्माण गरिएको भनिएको काष्ठमण्डप उत्खननका क्रममा सातौं शताब्दीमै बनेको फेला परेको थियो । अझ पुराना काठहरुमध्ये एउटा काठ पाचौं शताब्दीको रहेको फेला परेको थियो । यसबाट पहिला काष्ठमण्डप सानो रहेको र पछि फेरि काष्ठमण्डपमा तल्ला थपिएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्