परिवर्तन हुँदै दशैं संस्कृति «

परिवर्तन हुँदै दशैं संस्कृति

विगत तीन दशकमा दशैं–तिहार जस्ता चाडपर्वहरू आर्थिक, सांस्कृतिक तथा सामाजिक रूपले व्यापक परिवर्तन भएका छन् । केही दशक अगाडि दशैंमान्नकै लागि साहू महाजनबाट चर्को ब्याजरमा ऋण उठाउनुपर्ने वाध्यता थियो भने अहिले ऋण नै लिनु परे पनि सहकारी, लघुवित्त तथा वित्तीय संस्थाहरूले उपलब्ध गराउने गरेका छन् ।
दशैं आयो भन्ने बित्तिकै सपिङकै लागि सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हराउँदै गएको छ । दशैंमा नयाँ लुगा किन्नु पर्छ भन्ने मान्यतामा समेत परिवर्तन हुँदै गएको देखिन्छ । पहिले पहिले दशैंमा रातो माटो र सेतो कमेरोले घरहरू लिपोत गर्ने चलन थियो तर अहिले भने अत्याधुनिक रंगको प्रयोग गरेर घरलाई रंग्याउने प्रचलन बढेको छ ।
दशैंमा गाउँघरका चोकचोकमा पिङहरू राखिएको हुन्थ्यो । अहिले त्यो प्रचलन पनि विस्तारै हराउँदै गएको छ । पछिल्ला वर्षहरूमा प्रविधिमा आएको व्यापक परिवर्तनले समाजलाई नै परिवर्तन गर्दै गइरहेको छ भने व्यापारीकरण पनि बढ्दो क्रममा रहेको देख्न सकिन्छ ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा समाजशास्त्री दिपेश घिमिरे मुलत सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा चाडपर्वमा परिवर्तन आएको बताउँछन् । ‘१५ वर्ष अगाडिको दशैं मनाउँदा साहू महाजन कहाँ पुगेर ३०-३५ प्रतिशत ब्याजदरमा ऋण लिएर दशैं मनाउनुप-यो ।’ उनी भन्छन्, ‘वर्षभरी दशै मनाउन लिएको ऋण बुझाउँदा ठिक्क हुन्थ्यो । अर्को दशैं मनाउनलाई पुनः अर्को ऋण लिनुपर्ने अवस्था थियो ।’ आज त्यो अवस्था करिब करिब परिवर्तन भएको उनको तर्क छ । जुनसुकै ठाउँ समुदाय क्षेत्रमा गएर हेर्दा पनि त्यसमा परिवर्तन आएको उनी बताउँछन् । ‘बैंक तथा वित्तीय क्षेत्रको विस्तार तथा तल्लो तहसम्म पुगेको सहकारी तथा लघुवित्तहरूको पहुँचले वित्तीय कारोबारहरू बढ्दै जाँदा पहिलाको जस्तो अवस्था रहेन,’ उनले भने ।
विगत केही वर्षमा भएको आर्थिक परिवर्तनले चाडबाड मनाउने शैलीमा समेत परिवर्तन ल्याएको उनको तर्क छ । ‘नेपालले खुला तथा उदार अर्थतन्त्र अवलम्बन गरेपछि यसले समाज मात्र होइन हाम्रा चाडपर्वहरूमा समेत परिवर्तन ल्याएको छ,’ उनी भन्छन्, ‘चाडबाड मान्ने संस्कृतिदेखि बुझाईमा सकेत परिवर्तन ल्याएको छ ।’
देशमा आएको प्राविधिको परिवर्तनले हाम्रो समाजलाई नै काया पलट गरिदिएको घिमिरे बताउँछन् ।‘ कुनै समयमा काला पहाड(भारत) बाट आउन नसक्दा परिवारसँग उसको सम्बन्ध शतप्रतिशत टुट्थ्यो । तर, अहिले प्रविधिको माध्यमबाट जोडिन सकिन्छ,’ उनले भने ।
त्यस्तै कुनै समय लुगा फाटो किन्न दुर्गम ठाउँबाट सहरमा जानुपर्ने अवस्था रहेकामा त्यो पनि परिवर्तन भएको उनको तर्क छ । ‘अहिले गाउँ घरमा साना–साना पसलहरू खुलिसकेका छन्,’ उनी भन्छन्, ‘एक त दशैंमा नयाँ लुगा किन्ने पर्छ भन्ने परम्परा परिवर्तन भएको छ । अर्को किन्ने परे पनि नजिकै किन्न सकिन्छ । अर्को सांस्कृतिक रूपमा पनि परिवर्तन आएको उनी बताउँछन् । ‘पहिले आर्शिवाद लिन टीका थापिन्थ्यो,’ उनी भन्छन्, ‘अहिले आशीर्वादले मेरो जिवनमा परिवर्तन ल्याउँछ भन्ने कुरा मासिनले पत्याउन छाडिसके ।’
ज्योतिष तथा वस्तुविद् डा. बासुदेव कृष्ण शास्त्री पनि विगत र अहिलेको दशैंमा व्यापक परिवर्तन आएको बताउँछन् । ‘पहिले दसंै भनेपछि घरघरमा खसी काटेर मासु खाने चलन थियो ।’ उनी भन्छन्, ‘अहिले भने साकाहारीहरूको संख्या बढ्दै गएको छ ।’
पहिले घरहरूमा लिप्ने पोत्ने चलन भएकोमा अहिले त्यसलाई रंगले प्रतिस्थापन गरेको उनको तर्क छ । ‘घरघरमा रातो माटोले लिपेर घरलाई चोख्याउने प्रचलन थियो,’ उनी भन्छन्, ‘अहिले रंग किनेको लगाउँछन् ।’
पहिले देखिने दशैंको रौनक पनि घट्दै गएको उनी बताउँछन् । ‘दसैं आयो भनेपछि खुसियाली हुन्थ्यो । सबैले कपडाहरू सिलाउँथे । मिठो मसिनो खन्थे । नयाँ नयाँ बस्त्र लगाउँथे तर, अहिले वस्त्र छरपस्ट भेटिन थालिसके । बजारबादको प्रभाव पनि भयंकर पर्न थाल्यो,’ शास्त्रीले भने ।

प्रतिक्रिया दिनुहोस्