जुम्ली रैथानेबाली प्रवद्र्धनमा विज्ञको चासो

जुम्लाको रैथाने बालीको सरक्षण तथा प्रवद्र्धनमा विज्ञले चासो दिएका छन् । रैथाने बालीको खेतीमा पनि किसानको आकर्षण देखिएको छ । लोपोन्मुख जुम्लाको कालिमार्सी धान, चिनो कागुनो, कोदो र रातो मार्सीलगायतका रैथाने बालीको संरक्षणमा विज्ञहरुले चासो दिएका हुन् ।
बढ्दो बजार माग र महत्वलाई मध्यनजर गर्दै जुम्ली किसान पनि पछिल्लो समय रैथाने बालीको प्रर्वद्धनमा जुटेका छन् । जुम्ली रैथाने अन्नबालीको उत्पादन बढाउन, किसानको जीवनस्तर उकास्न कृषि विज्ञ, किसानहरु लागि परेका छन् । लिर्वड सस्ंथाले जुम्लाको रैथाने बाली संरक्षणका लागि किसानलाई प्राविधिक तथा सैदान्तीक विषयमा सिकाउँदै आएको छ भने वर्षको एक पटक देश विदेशका विज्ञ ल्याएर मार्सीधानको अनुसन्धान तथा अनुगमन गर्दै आएको छ ।
लिर्वडले जुम्लामा विगतका वर्षदेखि न्युन लगानी, थोरै परिश्रमबाटै रैथाने बालीको उत्पादनमा वृद्धि गर्न मार्सीधानको अनुसन्धान तथा अन्तर जिल्लाका किसानको अनुभव साटासाट गर्ने, खेती प्रणाली, उत्पादन वृद्धि, बाली संकलन भण्डार, बाली दर्ता तथा बजारीकरण लगायतका विषयमा काम गर्दै आएको छ ।
लिर्वडको उत्परिवर्तनशील बाली प्रजनन परियोजनामार्फत तातोपानी एैरेनीको एक मार्सी फाँटमा विगतदेखि अनुसन्धान भइरहेको छ । मंगलबार मार्सीधान अनुगमन गर्न जुम्ला पुगेका लिर्वड पोखराका बाली प्रजनक तथा विज्ञ टिम लिडर श्रीप्रसाद न्यौपानले मार्सीधानको उत्पादन वृद्धिका लागि बहुरुपी जातको खेतीमा जोडपर्ने अनुसन्धानले देखाएका बताए ।
उनले भने, “जुम्लामा न्युन लगानीमा उत्पान वद्धि गर्न, गरिब किसानको आयस्तर उकास्न, बहुरुपी जातको विकास गर्नुपर्ने, बहुरुपी जातले उत्पादन बढी दिने, रोग किराको जोखिम पनि कम हुने, पोषण तत्व बढी हुने स्वादिष्ट हुने जस्ता कुरा अनुसन्धानबाट खुलेको छ ।” न्युन लगानीमा विशेष गरी मार्सीधान र सिमीको उत्पादन वृद्धि लक्ष्यका साथ लिर्वडले अनुसन्धान जुम्लामा जारी रहेको छ ।
रैथाने बालीको अनुसन्धानसँगै जुम्ली कागुनो र रातो मार्सीलाई कानुनी रुपमा दर्तासमेत गरिएको उनको भनाइ छ । जुम्लाको रैथाने बालीको उत्पादन वृद्धि, उन्नतजात निकाल्न अनुसन्धान जारी भएपनि किसानको जीवनस्तर उकास्न, बाली दर्ता गर्न, बजारीकरण गर्न स्थानीय तहमा ठोस नीति बन्नुपर्ने बाली विशेषज्ञ न्यौपानेको भनाइ छ ।
यता, तातोपानी ४ की किसान राजकन्या उपाध्यायले माग बढ्दै गएपछि कालीमार्सी धान, सिमी, चिनो कागुनो मार्सीलगायतका रैथाने बालीको खेतीमा अग्रसर भएको बताइन् । उनले भनिन, “उत्पादन वृद्धि गर्न कृषिमा आधुनिकीकरण बहुरुपी जातको खेतीका जोड दिनु पर्दो रहेछ । अब त्यसै गर्छौं । उन्ततले उत्पादन बढी दिएपनि माग रैथाने बालीको छ । हामी रैथाने बाली उत्पादन, प्रर्वद्धन तथा खेती विस्तारमा जुटेका छौं ।”
प्रदेश सरकारले रैथाने बाली प्रर्वद्धन कार्यक्रम सञ्चालन गरेपनि त्यति प्रभावकारी हुन सकेको छैन । तर किसान आफै रैथाने बाली सरंक्षणमा जागरुक भएका छन् । रैथाने बाली उत्पादन वृद्धिका कार्यक्रम तथा बहस गरेपनि जुम्लामा पछिल्लो दुई आर्थिक वर्ष रैथाने बाली उत्पादन ह्वात्तै घटेको छ । आव २०७४-०७५ र २०७५-०७६ मा २७ हजार मेट्रिकटन रैथाने बाली उत्पादन भएपनि बितेको आव २०७६-०७७ मा १२ हजार मेट्रिकटन मात्रै उत्पादन भएको छ । करिब १४ हजार मेट्रिकटन रैथाने बाली उत्पादन घटेको छ ।