चाडपर्वमा हुने आर्थिक र बेथितिको पाटो «

चाडपर्वमा हुने आर्थिक र बेथितिको पाटो

दसैँ आयो ।
खाउँला–पिउँला ।
कहाँ पाउँला ?
चोरी ल्याउँला ।
धत्त पापी, म त छुट्टै बसौँला ।

यो पुरानो लोकोक्तिले नेपालको अर्थतन्त्रको वास्तविकता चित्रण गर्छ । कमाइ नहुने/कम हुनेहरूका लागि हुने असन्तुलित अवस्थाले दसैँजस्तो चाड मनाउन परिरहेको समस्या वर्षौंदेखि उस्तै रहँदै आएको छ । दसैँ त आयो तर त्यसलाई सहज व्यवस्थापन गर्न नसक्दा ऋणग्रस्त स्थितिमा वृद्धि हुन गई जनजीवन क्षणभरमा असामान्य बनाइदिन्छ ।
यसपटक कोरोना महामारीबाट ग्रसित जनताको असहज अवस्थामा यस चाडले घरदैलोमा निम्तो दिइसकेको छ । धेरै घरमा यसपटक रातो टीका लगाउने अवस्था छैन र सँगसँगै रमाइलो गर्ने अवस्था पनि छैन । तर पनि प्रगाढ सम्बन्ध विस्तारसँगै अर्थको चलखेल हुने यस पर्वमा बजार, वस्तु, यातायात तथा अन्य क्षेत्र क्रमशः चलायमान बन्नेछन् भने अनुगमन नहुँदा ठगीको घटना देखिन थालिसकेका छन् । हामीले उठान गर्न खोजेको विषय पनि यही नै हो ।
दसैँसँगै आउने नयाँ–नयाँ सोच, सुविधा र महŒवाकांक्षाहरू यस्तै समयमा मात्र उत्पन्न हुन्छन् अनि क्रमशः सेलाउँदै जान्छन् । पुग्नेले पूरा गर्छन् त नपुग्नेको त्यसै रहन्छ । खाने, किन्ने र प्रयोग गर्ने यस्ता चाडबाडहरू बर्सेनि आउँछन्, कुनै–कुनै अविस्मरणीय घटना जन्माउँदै बिदा हुन्छन् । अनि लगत्तै हामी भन्न थाल्छौँ…. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई ।
जत्ति नै धार्मिक र सामाजिक कुरा गरिए पनि वित्तीय स्रोतको अभावमा यी कुराहरू सम्भव देखिँदैनन् र हुँदैनन् । खाइ–नखाइ र खोजेर भए पनि चाड टार्नुको विकल्प हुँदैन । यसकारण पनि चाडबाडको धड्कन नै आर्थिक पक्ष हो भन्न सकिन्छ । किनकि दह्रो स्रोत नभईकन चाडका विभिन्न पक्षहरूसँग चिनजान हुन कठिन हुने गर्छ । सामाजिक प्रक्रियालाई साथ दिन ऋण काढेरै भए पनि चाडपर्वलाई टार्नैपर्ने बाध्यता हामीमाझ छ ।
महान् पर्वमा देशको आर्थिक पक्षमा नसोचेको चलायमान प्रत्येक वर्ष आइरहन्छ । ठूलो हिस्सा यस पर्वमा गच्छेअनुसार लिने गर्छन् । तथ्यांकअनुसार देशको कुल जनसंख्याको लगभग ८० प्रतिशतभन्दा बढीले यो चाड मान्ने गर्छन् । सकेर या नसकेरै टाढाटाढाका मित्रगण, आफन्तहरू एकआपसमा खुसी साट्न भेला हुने गर्छन् । भेटघाटले आन्तरिक पर्यटनमा धेरै ठूलो मद्दत गरेको कुरामा पनि दुईमत हुन सकिन्न । अर्थतन्त्रमा सुधारका संकेतहरू यसबेला देखिने गर्छन् भने व्यापार पनि राम्ररी फस्टाउने गर्छ । पुगेर वा नपुगेर जे÷जसरी भए पनि मनाउनुपर्ने कारणले गर्दा जमघटमा कुनै कमी रहँदैन, खर्चमा साँध–सिमाना नै हुँदैन । जता फक्र्यो उतै खर्च । केवल गोजीमात्र गह्रौँ राख्नुपर्ने हुन्छ । पुगे खुसी, नपुगे दुःखी ।
यस्ता चाडहरूले टाढा–टाढा रहे/भएका इष्टमित्रहरूलाई एकै जालोमा केन्द्रित गर्ने, रिसराग भए मेटाउने प्रयास गर्ने हुनाले पनि यसको छुट्टै सामाजिक–धार्मिक महŒव रहेको छ । अन्य वर्षहरूको भन्दा यस वर्ष मानिसहरूको आगमनसँगै बिप्रेषणको आदान–प्रदान बढी देखिएको छ । जसका कारण स्थानीय क्षेत्रमा विशेष वस्तु तथा अवश्यकताअनुसार प्रयोगमा उल्लेख्य वृद्धि देखिन थालेको छ ।
पर्वको आगमनसँगै सुनसान गाउँहरू देशी–विदेशी मानिसहरूले झकीझकाउ हुँदै गएका छन् । पुराना लिङ्गे र रोटे पिङहरू क्रमशः ठडिएका छन् । परम्परागत शैलीका पिङमा काठका रोटे पिङ त हराएरै गयो, तर लिङ्गे पिङचाहिँ अझै पनि लगाउने गरिन्छ ।
आधुनिकतासँगै सबै पक्षहरूमा आधुनिकीकरणले जरा गाड्दै जाँदा यस्ता परम्परागत प्रविधि र मौलिक उत्पादनहरूको भने माग बढेको बढ्यै छ । आवश्यकता वृद्धिलाई चाडबाडको लागि मात्र नभएर प्रविधिको संरक्षणमा भएको अग्रसरता भनेर बुझ्न पनि सकिन्छ ।
तर, प्रयोगमा कमी आउनुले संरक्षण प्रयासमा कमी भएको कुरालाई नकार्न सकिँदैन । दसैँमा भुइँ छाड्नुपर्छ भन्ने परम्पराले गर्दा पनि हुनसक्छ, पिङको संख्यामा कटौती भए पनि लगाउन भने छाडिएको छैन । जति टाढा नै भए पनि त्यसको मज्जा लिनकै लागि मानिसहरू एकै ठाउँमा भेला हुने गरेका छन् । भएका दुःखसुख साटासाट गर्दै मनोरञ्जनमा परिणत गर्छन् र एक क्षणलाई भए पनि आनन्द प्राप्त गर्छन् । यसले भ्रातृत्व र भाइचाराको सम्बन्धमा महŒवपूर्ण थप योगदान दिने गरेको छ । अर्थात् जसरी बुझे पनि दसैँले हरेक पक्षबाट छरिएका सबैलाई एकीकृत गर्दै लैजान मद्दत गरेको छ भन्दा फरक नपर्ला ।
तर चाडपर्वसँगै बढेको अस्तव्यस्त यातायातले यसपटक पनि सेवामा सुगम केही स्थानहरूबाहेक अन्य ठाउँहरूमा सेवामा नयाँ शैली र प्रवाहमा प्रगति गरेको देखिँदैन । टिकट बुकिङ, सेवामा लापरवाही, समयको ढिलासुस्ती, ठगी, अराजकता छ्यापछ्याप्ती देखिएको छ । यसपटक टिकट बुकिङ पहिले नै बन्द गरिएका थिए भने रहेका सिटहरू पनि पछडिका मात्र । सिट माग्दा आफ्ना ग्राहकहरूले अग्रिम बुकिङ गरेर सकिएको अपर्याप्त सूचना दिन पछि परेका छैनन् । खुलेकै छैन, सकिएको जानकारी दिनुले यस क्षेत्रमा रहेको विकृत सेवा प्रणालीमा निरन्तरताबाहेक नयाँ केही नभएको यसपटक पनि स्पष्ट देखियो । तर फेरि अर्कातिर सधैंजसो भरिभराउ हुने आन्तरिक हवाईसेवा यसपटक केही स्थानहरूमा बाहेक अरू ठाउँमा टिकटको उपलब्धतामा कुनै कठिनाइ नरहेको विमान सेवाप्रदायक संस्थाहरूले भने पनि टिकट नपाएर दुःख पाउनेको संख्यामा पनि कमी छैन ।
विश्वमा चाडपर्व बढी मनाइने देशहरूमध्ये हाम्रो देश पनि एकभित्र पर्छ । यही भएर पनि हुनसक्छ, जति चाड त्यति झेल पनि भोग्ने गरिएको छ । प्रत्येक वर्ष चाडपर्वमा चौथी हान्नेको संख्या पनि कमी छैन यहाँ । सडकदेखि सदनसम्म, खेतको आलीदेखि थालीसम्म, नुनदेखि सुनसम्म, अचारदेखि घिउसम्म, पानीदेखि तेलसम्म आदि कुनै वस्तु तथा ठाउँ चोखो छैनन् । प्रत्येक वर्ष यसरी लुटिने क्रम बढ्दो भए तापनि उचित अनुगमन र कारबाहीमा प्रभावकारिता नहुँदा ठगिने पक्षमा सुधार आउन सकेको छैन ।
जसोतसो काम चलाउने प्रचलन बढ्दै गएको छ ।
चाडबाडसँगै बढ्ने बजार मनपरीतन्त्र र त्यसले प्रत्यक्ष प्रभाव पार्ने विभिन्न पक्षहरूमा वस्तु, सेवा तथा गुणस्तरमा अन्य समयको भन्दा बढी नै निरीक्षण आवश्यक छ । अन्य बेला निष्क्रिय भए तापनि यस्ता पर्वका समयमा वस्तु तथा सेवामा बढी चलखेल हुने भएकाले अरू समयभन्दा बढी नै ध्यान दिनु अपरिहार्य बनेको छ अहिले । आधारभूत आवश्यकताभित्र खाना प्रमुख पक्ष भनिए तापनि अहिलेसम्म यसको गुण मापन र तिनको प्रयोगमा गम्भीर बन्न नसकेको अवस्थामा यस क्षेत्रमा सुधार गर्नुपर्नेमा कसैको विमति छैन । समयानुसार परिवर्तन गरिनुपर्ने कानुनी व्यवस्था भए पनि व्यवहारमा लागू हुन सकेको छैन । देखासिकी र भड्किलो गतिविधिलाई आत्मसात् गरिनाले स्वच्छ, ताजा र गुणस्तरको वस्तु तथा चिजहरू गरिबमुखी नभएरै मनपरी बढ्दै गएको पाइन्छ ।
बेला–बेलामा बजार निरीक्षण दु्रत गतिमा बढाएको देखिए तापनि त्यसमा पनि भित्रभित्र मिलेमतो बढ्न थालेकाले जति मात्रामा यसको क्षेत्र बढाउनुपर्ने हो, त्यो बढ्न सकेको देखिँदैन । घुसतन्त्रले यो ठाउँ पनि चोखो राखेको छैन । आँखाको इसाराले अझै स्थान जमाएकै छ । काम परेली हल्लाएकै आधारमा हुने र नहुने अझै व्याप्त छ ।
निरीक्षण गर्न जानुअगाडि नै थाहा दिई देखावटी जाँचमा निस्कनाले काम, वस्तु तथा तिनका सेवाको बारेमा रहेका नराम्रा पक्षहरूलाई ढाकछोप गर्ने प्रशस्तै समय पाएका छन् । पैसा तिरेर पनि खान नपाउनु र पाए पनि न्यून स्तर तथा बढी मोलमा खाए खा नखाए घिच् भन्ने उखानजस्तै जसरी पनि प्रयोग गर्नुपर्ने बाध्यता हामीमाझ छ । यसरी व्यवसायको सेवा र वस्तु छनोटमा वैकल्पिक उपाय नहुँदा पनि बढी उपभोक्ताहरू पीडित हुन पुगेका छन् ।
तरकारीको विषादी प्रसंग यहाँ देखिन्छ, तर दिनदहाडै सम्पूर्ण वस्तुहरूमा गरिएको विषादी र मिति गुज्रेका उत्पादनहरूको चर्चा र कारबाही हुने गरेका छैनन्, भए पनि मिलेमतोमा छुटाइहालिन्छ । सुन्दा नसुन्दै विषय लुकाइहालिन्छ । देखावटी रूपमा कारबाहीको नाटक गरिए पनि दीर्घकालमा तीनै व्यक्तिहरू मोटाएका घटनाहरू जताततै फैलिएका छन् । बजारमा एकाधिकार अनि बजार प्रतिस्पर्धाको नाममा छोटो समयमा बढी कमाउने प्रवृत्तिले स्थान जमाउँदा वस्तु, बजार र आम उपभोक्ता सबै मर्कामा परेका छन् । यसको कारण उपभोक्ता पनि छरपस्टिएका छन् । रेमिट्यान्स र देशभित्रको घुसतन्त्रले जराजरामा नराम्रो छाप पार्न गएको छ ।
सामानलाई रातारात गायब गरिन्छ अनि कालोबजारी सुरु गर्छन् आजकाल । यसले परिश्रमी हातपाखुरालाई पाखा लगाउँदै गलत चरित्रको बढावा गरिरहेको प्रस्टै छ । विविध पक्षमा सुधार गर्न सकेमात्र भविष्यमा सन्तुलित बजार र वितरण, सकारात्मक र गुणात्मक वस्तु तथा उत्पादनको विकास हुन सक्छ । नत्र एकपछि अर्को आउने नेतृत्वभन्दा केही फरकपन जनताले पाउन सक्ने छैनन् । मान्छे मात्र फरक पाउँछन्, तिनले ल्याउने नीतिमा फरक पाउँदैनन् ।
फेरि पुरानै खेल उही ‘मूल्य एक दलाल अनेक’ अवस्थामा परिवर्तन आउँदैन । यसकारण यी र यस्ता समस्याको समाधान गर्दै व्यवस्थित बजार, अब्बल वस्तु तथा उत्पादनको उपलब्धता आधुनिक ग्राहककोे आवश्यकता बनेको छ ।
चाडबाडमा विशेष गरेर महँगी ह्वात्तै बढ्ने गरेको छ, यसपटक त झनै अचाक्ली छ । जसको सिकार आम उपभोक्ता नै हुने गरेका छन् । अघिल्ला वर्षहरूको अभ्यासले के देखाउँछ भने प्रायः कृत्रिम अभाव देखाई मूल्यमा मनपरीतन्त्र लाद्ने गरिएको विभिन्न तथ्यहरू हामीमाझ ताजै छन् । त्यस कुरालाई मध्यनजर गर्दै सरोकारवालाहरूले बजार निरीक्षण कार्यलाई नियन्त्रणभन्दा बाहिर जान दिनु हुँदैन । तल्लो तहसम्म फाइदा पुग्ने कार्य गर्न सक्यो भनेमात्र जनताले राहतको महसुस गर्न सक्छन् ।
यसकारण समग्र उपभोक्तालाई ध्यानमा राखी जनकेन्द्रित स्वार्थलाई दिमागमा राखेर केही तन्त्रलाई समयमै निर्मूल पार्नुपर्छ । योसँगै यस क्षेत्रमा हुने गरेका अन्य बनावटी समस्याहरूलार्ई निमिट्यान्न पार्न सक्नुपर्छ । समय–समयमा गरिने बजार अनुगमनलाई कसिलो निरन्तरता दिनुपर्ने, समयसापेक्ष बनाइनुपर्ने, आरिसे प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने, वितरण पक्षलाई समानुपातिक बनाइनुपर्नेजस्ता विभिन्न पक्षहरूलाई समाधान गर्न सक्नुपर्छ ।
यदि अब पनि टालटुले प्रवृत्तिलाई निरन्तरता दिने, कारबाही गरिए पनि उचित कानुनको अभाव र ठालुको संरक्षणमा सरकारले अगाडि केही पनि गर्न नसक्ने हो भने सदियौँदेखि रहेका विकृतिहरूमा सुधार हुन सक्दैन ।
चाडबाडमा अगाडिका वर्षहरूको अभ्यासहरूले के देखाउँछ भने प्रायः सम्पूर्ण क्षेत्रहरूमा कृत्रिम अभाव देखाई मूल्यमा मनपरीतन्त्र लादेको विभिन्न तथ्यहरू हामीमाझ ताजै छन् ।
त्यस कुरालाई मध्यनजर गर्दै सरोकारवालाहरूले बजार निरीक्षण कार्यलाई नियन्त्रणभन्दा बहिर जान दिनु हुँदैन र केही तन्त्रलाई समयमै निरुत्साहित गर्नुपर्छ । धर्म र भेटघाटलाई निरन्तरता दिने सवालमा अनेक शुल्क वृद्धि गराई बजार अस्तव्यस्त पार्नु हुँदैन । महँगीलाई नियन्त्रणमा राख्नुपर्छ । छोटो समयमा धेरै कमाउने ध्येयलाई प्रभावकारी निरीक्षणले हटाउँदै सद्भावका साथ चाडलाई मनाउन पाउने वातावरण बनाउन सक्नुपर्छ ।
आर्थिक गतिविधि बढ्दै गर्दा हुनसक्ने जोखिमको ख्याल गर्दै ज्यानै बिगार्ने र आर्थिक रूपमा पनि भड्किलो गतिविधि अवलम्बन गर्ने गलत शैलीको निरन्तरतालाई रोक्नुपर्छ । यसो गर्न सकियो भने मात्र चाड पनि मान्ने र ऋण पनि नलाग्ने तथा सद्भावको निरन्तरतामा कमी हुने छैन । हामीले खोजेको दसैँ पनि यस्तै हो । झनै यो महामारीको समयमा त विशेष ध्यान दिनु अपरिहार्य छ ।

प्रतिक्रिया दिनुहोस्