झापाका ११ स्थानमा जिउँदो माछा बिक्री केन्द्र «

झापाका ११ स्थानमा जिउँदो माछा बिक्री केन्द्र

झापामा भारतीय मरेको माछाको खपत घटाउने उद्देश्यका साथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा आएको छ । झापाका पाँच जना युवाले जिल्लाको ११ स्थानमा एकसाथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका हुन् ।
गाभुर एग्रो फार्म प्रालिमार्फत् उनीहरुले बिहीबार घटस्थापनको अवसरमा माछा बिक्री केन्द्रहरु उद्घाटन गरेका छन् । स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक अग्र्यानिक जिउँदो ताजा माछा बिक्री केन्द्र बिर्ताबजारमा उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले उद्घाटन गरेका हुन् ।
फर्मालिन प्रयोग गरेर हप्तौंपछि नेपाल भित्र्याइएका भारतीय मरेको माछाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर किसिमका रोग लाग्न थालेको उपभोक्ताको गुनासो छ । उपभोक्ताको गुनासो तथा जिल्लाका माछापालक किसानको उत्पादनलाई बजारीकरणमा सहयोग गर्नेगरी जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएको गाभुर एग्रो फार्मका अध्यक्ष अर्जुन राजवंशीले बताए ।
गाभुर एग्रोले मेचीनगर नगरपालिकाको काँकडभिट्टा, इटाभट्टार धुलाबारी, भद्रपुर नगरपालिकाको झापा चोक र सगरमाथा चोक तथा बिर्तामोड नगरपालिका भित्र बिर्ताबजार, चारपाने, बुट्टाबारी, जात्रुबारी, अतिथि सदन रोड रस्याँलडाँगीमा केन्द्रहरु सञ्चालनमा ल्याएको हो । ११ वटै केन्द्रको एकमुष्ठ उद्घाटन बिहीबार बिर्ताबजार बिक्री केन्द्रमार्फत् गरिएको हो ।
सरसफाइमा विशेष ध्यान दिँदै उपभोक्तालाई अग्र्यानिक ताजा माछा खुवाउने व्यवस्थित बिक्री केन्द्र सञ्चालनमा ल्याएको गाभुर एग्रोका प्रबन्धक अभय राजवंशीले बताए । बिक्री केन्द्रमा पंघास, रहुँ, कमन कार्प, बिग हेड, पम्प्लेट, नैनीलगायतका माछा राखिएका छन् ।
माछालाई जिउँदो राख्नका लागि बिक्री केन्द्रमा सिसाका एक्यूरेम बनाई अक्सिजन दिने व्यवस्था गरिएको छ । जिल्लामा माछा पालक किसानको संख्या दैनिक बढ्दै गएपनि उत्पादन भएको माछाले बजार नपाउने समस्या बढेकोप्रति वाणिज्य महासंघका प्रदेश अध्यक्ष ढकालले चिन्ता व्यक्त गरे ।
उनले किसानलाई कृषि क्षेत्रबाट पलायन हुन रोक्ने नीति र सहुलियत दिने कार्यक्रमहरु ल्याउन सरकार समक्ष आग्रह समेत गरे । स्वास्थ्यको लागि माछा बहुउपयोगी भएकाले विषादीयुक्त फर्मालिन प्रयोग गरेको मरेको भारतीय माछाको सट्टा स्थानीय किसानले उत्पादन गरेका जिउँदो ताजा माछा खाने बानी बसाल्न आवश्यक रहेको ढकाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्