भारतीय ट्रकका कारण नेपाली व्यवसायी धाराशायीमा «

भारतीय ट्रकका कारण नेपाली व्यवसायी धाराशायीमा

बारा-भारतीय मालवाहक ट्रकको निर्वाध नेपाल प्रवेशले नेपाली ट्रक व्यवसायी संकटमा पर्न थालेको व्यवसायीहरूले गुनासो गरेका छन् । भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिने सबै प्रकारका वस्तु भारतीय ट्रकले नै नेपालभर ढुवानी गर्न थालेपछि नेपाली ट्रक कामविहीन हुँदा व्यवसाय नै संकटमा परेको ट्रक व्यवसायीको गुनासो छ ।
भारतीय सवारी साधनलाई नेपाल सरकारले ७२ घण्टे लागू गरेपछि निर्वाध रूपमा देशव्यापी सामग्री ढुवानी गर्न थालेपछि यस्तो समस्या सुरु भएको ट्रक व्यवसायीहरू बताउँछन् ।
भारतीय ट्रकले नेपालमा सामान ल्याउँदा नेपाली भन्सारदेखि १७ किलोमिटरसम्म मात्र ढुवानी गर्न पाउने पारवहन सम्झौतामा उल्लेख भए पनि उक्त नियम बिप्पा सम्झौतापछि समाप्त भई ७२ घण्टे लागू गर्दा व्यवसायीहरू टाट पल्टिने अवस्था आएको तराई यातायात व्यवसायी संघका अध्यक्ष ओमकृष्ण कार्कीले बताए ।
“भारतीय ट्रकले नेपालभर ढुवानी गर्न थालेपछि हाम्रो ट्रकले बोक्ने सामान अभाव हुँदै जाँदा व्यवसाय नै संकटमा पर्न सुरु गरेको छ,” अध्यक्ष कार्कीले भने, “यसको सोझो असर व्यवसायी साथै बैंक तथा वित्तीय संस्थामार्फत देशलाई नै पनि परिरहेको छ ।”
राज्यले यातायात व्यवसायीलाई हेर्ने नजर परिवर्तन नभएसम्म यातायात क्षेत्रको विकास नहुने र खास गरी भारवहन सवारीको हकमा निर्धारण गरेको भाडादरसमेत कायम हुन नसक्दा नेपाली व्यवसायीहरू टाट पल्टिने अवस्था आउन लागेको संघका महासचिव शंकरकुमार विष्टले बताए । महासचिव विष्टले भने, “हामी भारतीय ट्रकसँग तुलनात्मक रूपमा कमजोर छौं कसरी प्रतिस्पर्धा गर्ने, कि राज्यले हामीलाई पनि भारतीय ट्रक किन्न भन्नु प-यो होइन भने भारतीय गाडी नियन्त्रणमा पहल गर्नुप-यो ।”
तराई यातायात व्यवसायी संघको भेलामा उपस्थित अधिकांश व्यवसायीहरूले भारतीय गाडी नियन्त्रण गर्नुपर्ने, नेपालमा उत्पादित सामग्रीहरू भारतीय गाडीले बोक्न प्रतिबन्ध लगाउनु पर्ने जस्ता कुरामा जोड दिएका थिए ।
संघले राज्यले निर्धारण गरेको भाडादर कायम गराउन, भारतीय ट्रकको निर्वाध आवत–जावत नियन्त्रण गर्न भन्दै व्यवसायीहरूको राय सुझाव संकलनका लागि भेला बोलाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्