नेकपा (एस)ले आज मन्त्री टुंगो लगाउने

नेकपा (एकीकृत समाजवादी) ले सरकारबाट सहभागी हुने मन्त्रीको नाम शुक्रबार टुंगो लगाउने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो शुक्रबार बस्ने केन्द्रीय सचिवालय बैठकले गर्ने भएको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
महासचिव बेदुराम भुसालको संयोजकत्वमा बिहीबार गठित ११ सदस्यीय केन्द्रीय सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । उनका अनुसार पार्टीले शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र श्रम, रोजगार तथा सामाजिक मन्त्रालय पाउने भएको छ ।
यस्तै बैठकले एक उपमहासचिव र तीन सचिव थप्ने निर्णय गरेको छ । उपमहासचिव खतिवडा र सचिवमा गरिमा शाह, जीवराम श्रेष्ठ र भागवत विश्वासी छन् ।
पार्टीले अनुशासन, लेखा र निर्वाचन आयोगमा ३५ सदस्यीय हुने निर्णय गरेको छ । उनका अनुसार ती आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवको पद राखिने भएको छ । यस्तै केन्द्रीय विभाग २५ सदस्यीय, जिल्ला कमिटी १०१ सदस्यीय, स्थानीय तहका कमिटीमा अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक र उपसचिव दुई गरी छ पदाधिकारी राख्ने निर्णय गरिएको छ । बैठकले विजय गुरुङको संयोजकत्वमा सम्पर्क कमिटी गठन गरेको छ ।
महासचिव बेदुराम भुसालको संयोजकत्वमा गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल र जगन्नाथ खतिवडा रहेको केन्द्रीय कार्यालयसमेत गठन गरिएको छ । प्रचार विभाग प्रमुख खतिवडाले पार्टीले दैनिक कार्य सञ्चालन गर्नका लागि महासचिव भुसालको संयोजकत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको जानकारी दिए ।