उद्योगीका सुझाव मस्यौदामा समेट्न आग्रह «

उद्योगीका सुझाव मस्यौदामा समेट्न आग्रह

वीरगन्ज उद्योग वाणिज्य संघले उद्योगीका सुझाव मस्यौदामा समेट्न आग्रह गरेको छ । वीरगन्ज उद्योग वाणिज्य संघको सभाकक्षमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय, प्रदेश सभा सदस्य सिंहासन साह, मुख्य न्यायधिवक्ता दीपेन्द्र झा तथा स्थानिय उद्योगी व्यवसायीबीच प्रदेश सरकारले मस्यौदा गरेको ‘प्रदेश उद्योग व्यवस्थापन विधेयक, २०७५’ मा उल्लेखित प्रावधानमा हुनुपर्ने परिमार्जन सम्बन्धमा छलफल कार्यक्रममा बोल्दै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले मुलुकको आर्थिक अवस्था निरन्तर खस्किँदै गएको अवस्थामा उद्योगको प्रबद्र्धनका लागि सरकारले कुनै खासै भूमिका नखेलेको हुँदा उद्योगी व्यवसायीबाट व्यक्त सुझावलाई मस्यौदामा सकेसम्म समावेश गरी उद्योग मैत्री नीति र कानुन बनाउने पर्ने धारणा व्यक्त गरे ।
छलफलको क्रममा प्रमुख अतिथि प्रदेश नम्बर २ का मुख्य मन्त्री महम्मद लालबाबु राउतले प्रदेश नम्बर २ को आर्थिक विकास, उद्योग व्यापारको प्रवद्र्धन गर्न निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढने प्रतिबद्धताअनुरूप नै आजको यस विधेयकको छलफल गरेको बताए ।
आपसी छलफलद्वारा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायको संयोकत्वमा एगारह सदस्यीय उद्योग व्यवस्थापन विधेयक परिमार्जन समिति गठन पनि गरिएको छ । समितिमा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको नेतृत्वमा संघका पूर्वअध्यक्ष क्रमशः गणेश लाठ, अशोक टेमानी, अशोक बैध, पूर्वउपाध्यक्ष जगदीश अग्रवालका साथै डाबर नेपाल प्रालि बाराका महाप्रबन्धक कैलाशराम चौरसिया तथा जगदम्बा स्टिल इण्डष्ट्रीजका महाप्रबन्ध अनुराग शर्मा समेत ६ सदस्यको सहभागिता रहनेछ ।
समितिले आगामी १५ दिनभित्र प्रदेश सरकारद्वारा तयार परिएको प्रदेश उद्योग व्यवस्थापन विधेयक–२०७५ मा हुनुपर्ने परिमार्जनसम्बन्धी सुझाव सहितको प्रतिवेदन पेस गरेपछि विधेयकलाई आवश्यकताअनुसार परिमार्जन गरी प्रदेश सरकारबाट विधेयक पारित गर्नेसम्बन्धी कारबाही अगाडि बढाइने समाचार प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्