दुईपाङ्ग्रे चलाउँदा अपनाउनुपर्ने सुरक्षा «

दुईपाङ्ग्रे चलाउँदा अपनाउनुपर्ने सुरक्षा

कोरोनाको दोस्रो लहरसम्म आइपुग्दा दुईपाङ्ग्रे सवारी मात्र हैन, धेरै सवारी साधनहरू घरमै थन्क्याएर राख्न बाध्य भयौं र अहिले पनि स्मार्ट लकडाउनमा सामान्य अवस्थामा जस्तै चल्ती भने छैन । बाहिर हेर्दा हामीले गाडी र मान्छेको चाप त देख्छौं तर यो कोरोना संक्रमणअघिको सामान्य अवस्था हेर्ने हो भने न्यून नै छ ।
दसैं नजिकिँदै गर्दा भने अहिले बजारको चाप निकै बढेको अवस्था छ । कोरोनाको त्रासमा रहेका मानिसहरू अहिले भने डर नै नमानी बजार निस्कने गरेका छन् । बजारतिर हिँड्ने अवस्था पनि नरहेको सुन्नमा आइरहेको छ ।
साधारणतया चारपाङ्ग्रे सवारी साधनलाई दुईपाङ्ग्रेको तुलनामा बढी सुरक्षित मानिन्छ । त्यसैले सडकमा दुईपाङ्ग्रे सवारी चालक बढी असुरक्षित महसुस गर्छन् । केही कुराहरूमा ध्यान दिने हो भने सडकमा सुरक्षित हुन मद्दत पुग्छ ।
सुरक्षित दूरीमा सवारी रोक्ने
सवारी रोक्दा अन्य सवारीको ठीक अगाडि या ठीक पछाडि रोक्नु हुँदैन । तपाईंलाई आफ्नो सवारी घुमाउने पर्याप्त ठाउँ होस् । ओभरटेक गर्दा पनि पर्याप्त ठाउँ राखेर मात्र ओभरटेक गर्नुपर्छ । दुई सवारीको बीचमा थोरै खाली ठाउँ छ भने छिराइहाल्नु हुँदैन । यसो गर्दा ठोक्किएर दुर्घटना हुने डर हुन्छ ।
बाटोका अप्ठ्यारा हेर्दै जाने
स्पिड ब्रेकर, फोहोरको थुप्रो, बाटोमा आउने खाल्डाखुल्डी, हिलो, निर्माण सामग्री, जनावर आदिलाई ध्यानमा राखेन भने यसले पनि दुर्घटना निम्त्याउन सक्छ ।
सवारीको बेला–बेलामा जाँच गरिराख्नुपर्छ
समय–समयमा सर्भिसिङ गर्नुपर्छ । आफूले पनि बेलाबेलामा आफ्नो सवारीमा के–कस्तो समस्या आइरहेको छ, याद गर्नुपर्छ । यदि सवारी ठीक छ भने यसले तेलको खपत गर्नुका साथै दुर्घटनाको जोखिम पनि कम गर्छ ।
आफूलाई सुरक्षित राख्ने
सुरक्षाका लागि राम्रो खालको हेल्मेट प्रयोग गर्नुपर्छ । धेरैजसो दुर्घटनामा टाउकोमा लागेको चोटले ज्यान गएको पाइन्छ । कतिपय अवस्थामा हेल्मेटले ज्यान बचाएको पनि उदाहरण पाइन्छ । त्यसैले सुरक्षा प्रमाणित हेल्मेट किन्नुपर्छ । कतिपयले ट्राफिकबाट बच्नमात्र हेल्मेट लगाउने गरेको पाइन्छ । याद गर्नुस्, हेल्मेट अरू कसैका लागि हैन, तपाईंकै लागि हो । हेल्मेट कसिलो र राम्ररी लागेको छ कि छैन ख्याल राख्नुपर्छ । पछाडि सिटमा अरू कोही छ भने अर्को हेल्मेट पनि बोक्नु राम्रो हुन्छ । फोहोर, धूवाँ, धूलोबाट आफ्नो अनुहार बचाउने सिसा भएको हेल्मेट किन्नु राम्रो हो । मौसम राम्रो छ भने लेदर ज्याकेट र पञ्जासहित बुट पनि लगाउनु राम्रो हुन्छ, जसले गर्दा सानो घाउ, चोटबाट बच्न मद्दत गर्छ ।
ट्राफिक नियम पालना राम्रोसँग गरेको छु कि छैन याद गर्नुपर्छ । आफू जाने बाटोमा सिग्नलहरू दिनुपर्छ, जसका कारण अरू चालकले तपाईंको गतिअनुसार आफ्नो सवारी चलाउँछन् । ह्वात्त ब्रेक लगाउनु हुँदैन ।
तपाईंको सवारी रोक्नेबित्तिकै नरोकिन सक्छ । त्यसैले रोक्दा अन्य सवारी साधनभन्दा केही टाढैदेखि रोक्नुपर्छ ।
पुल, विद्यालय, बाटो काट्ने ठाउँ र पहेंलो धर्काले कोरेको सडकमा ओभरटेक गर्नु हुँदैन । साथै बायाँबाट ओभरटेक गर्नु हँुदैन ।
सवारी चलाइराख्दा फोन उठाउने काम गर्नु हुँदैन । उठाउनै परे छेउमा गएर उठाउनुपर्छ ।
पैदलयात्रुलाई पनि ध्यान दिनुपर्छ । उनीहरूलाई रोकेर राख्ने भन्दा बाटो दिएको राम्रो हो । यसले पैदल यात्रु र सवारी दुवैको सुरक्षा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्