कोसी करिडोरको प्रगति २२ प्रतिशत «

कोसी करिडोरको प्रगति २२ प्रतिशत

पाँचथर-तमोर नदीको किनारैकिनार निर्माणाधीन कोसी करिडोरको निर्माणकार्य २२ प्रतिशत सम्पन्न भएको छ । यो सडक निर्माण सम्पन्न भएसँगै पाँचथर र तेह्रथुमको सिमाना भई बग्ने तमोर नदीको किनारैकिनार अब सिधा सडक सञ्जालबाट तराई जोडिने भएको छ ।
यो सडकबाट पूर्वी पहाडलाई तराई हुँदै काठमाडौसँग जोड्ने दु्रत सडक मार्गको रूपमा कोसी करिडोरको नाममा निर्माणकार्य अगाडि बढाइएको हो । सडक निर्माण भएसँगै पाँचथर, तेह्रथुम र ताप्लेजुङबाट सहज रूपमा तराई हुँदै केन्द्रीय राजधानी काठमाडौंसम्म सहजै पुग्न सकिनेछ । करिडोरले पहाड र तराईलाई जोड्दै यहाँको जीविकोपार्जनमा र आर्थिक कारोबारमा वृद्धि हुने अपेक्षा गरिएको छ । पाँचथर, तेह्रथुम र ताप्लेजुङका कृषि उपज उत्पादन तराई पु¥याउन सहज हुने अनुमान गरिएको छ । तराईसँग सिधा सम्पर्क हुने भएपछि यहाँका कृषकलाई फाइदा हुने अनुमान गरिएको छ ।
कोसी तथा तमोरको किनारैकिनार सडक विस्तार गर्ने गरी काम अघि बढाइएको हो । चतरादेखि मूलघाट आएपछि तमोर करिडोरको बाटो हुँदै पाँचथरको सुभाङ खोला हुँदै मेची राजमार्ग छोएर गणेश चोक पुग्नेछ । यसअघि बनेको मध्यपहाडी लोकमार्ग घुमाउरो भएकाले छोटो बाटो रोजिएको हो ।
पाँचथरको याङ्वरक गाउँपालिकाको गणेश चोकबाट तमोरको किनारैकिनार हुँदै सुनसरीको चतरासम्म १०७ किमि दूरीमा तराईसम्म पुग्न सकिने छ । करिडोरका लागि ६ अर्ब १५ करोड १४ लाख खर्च हुने
पाँचथरको गणेश चोकदेखि सुनसरीको चतरासम्म १ सय ७ किमिको सडक बनेपछि पाँचथर, ताप्लेजुङ र तेह्रथुमका स्थानीयलाई यस सडकले तराईलाई सिधा जोड्ने छ । अहिले इलाम हुँदै लामो यात्रा गरेपछि मात्र तराई पुग्दै आएका पाँचथर, ताप्लेजुङ र तेह्रथुमका स्थानीयलाई कोसी करिडोरबाट सहज र छिटो तराईसम्मको यात्रा गर्न सकिने छ ।
आव ०७४-७५ मा कोसी करिडोरको ठेक्का लागेपछि पाँचथरको गणेश चोकबाट सुनसरीको चतरासम्म सातवटा प्याकेजमा विभिन्न ठेकेदार कम्पनीमार्फत काम भइरहेको योजना प्रमुख अभिमान मुल्मीले जानकारी दिए ।
अहिले कोसी करिडोरको सातवटा प्याकेजमा ट्रयाक खोल्ने र ग्राभलिङ गर्ने कार्य भइरहेको मुल्मीले जानकारी दिए । मल्मीका अनुसार कुनै प्याकेजमा सात प्रतिशतसम्म निर्माणकार्य भइसकेको छ भने कुनै प्याकेजमा भर्खर निर्माणकार्य सुरु भएको छ । कोसी करिडोरको सडक साढे सात मिटर चौडा हुनेछ । करिरोरको कार्य प्रगति अहिले २२ प्रतिशत रहेको मुल्मीले जानकारी दिए ।
सम्झौता भएको दुई वर्षभित्रमा चतरासम्म ग्राभलिङ गरिसक्ने लक्ष्य आयोजनाको छ । सात प्याकेजमा रहेको सडक प्रतिप्याकेज करिब ८२ करोड लागत खर्च हुने मुल्मी बताए ।

 दिपक बोहोरा

प्रतिक्रिया दिनुहोस्