घुर्बिसेमा डिप बोरिङबाट खानेपानी «

घुर्बिसेमा डिप बोरिङबाट खानेपानी

पाँचथर-फाल्गुनन्द गाँउपालिकाको केन्द्र घुर्बिसे पञ्चमी बजारमा डिप बोरिङबाट पानी निकाली परीक्षण गरिएको छ । खानेपानीको समस्या भोग्दै आएको बजार क्षेत्रलाई खानेपानीको समस्या हटाउन यो प्रविधिको प्रयोग गरिएको हो ।
मेची रार्जमार्गको राँके–रवि सडकको १५ किमि खण्डमा रहेको यो बजार इलाम पाँचथरको सीमा बजारसमेत हो । एक हजार नौ सय मिटर उचाइमा रहेको इलाम र पाँचथरको सिमानामा अवस्थित घुर्बिसे पञ्चमी बजारमा डिपबोरिङ प्रविधिद्वारा शुक्रबारदेखि खानेपानी निकालिएको छ । चार दिन लगाएर २ सय ६५ मिटर गहिराइसम्म बोरिङ गरी ६० एमएम पाइपमा पानी निकालिएको छ ।
पाथीभरा सोलार एन्ड डिलिङ कम्पनीले फाल्गुनन्द र फाकफोकथुम गाउँपालिकाको ३० लाख रुपैयाँको संयुक्त लगानीमा यस कामको थालनी गरेको उपभोक्त समितिका अध्यक्षद्वय तेजबहादुर चेम्जोङ र कृष्णबहादुर लिम्बुले जानकारी दिए । बजारीकरणसँगै सुख्खाग्रस्त यस बजारमा खानेपानी समस्या सहज गराउन डिपबोरिङ गरिएको उनीहरूको भनाइ छ । पानी तान्ने मोटर जडान गर्न थ्री फेज विद्युत् चाहिने भएकाले विद्युत् विस्तार कार्य अघि बढेकाले काम सकिएपछि पानी सुचारू गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्