अहिंसाबाटै सम्भव छ समृद्धि

अथर्ववेदले वित्तीय व्यवस्था, कृषि, उद्योग तथा गोधन, पशुधन, सम्पूर्ण आर्थिक समृद्धिको पूर्वाधार तयार गर्नुपर्नेबारे चासो दिएको छ ।
हरेक वर्ष सेप्टेम्बर २१ अर्थात् असोज ५ लाई शान्ति दिवसका रूपमा हेर्ने गरेझैं अक्टोबर २ अर्थात् असोज १६ गतेलाई विश्व अहिंसा दिवसका रूपमा हेर्ने गरिएको छ । काटमार नगर्नु मात्र अहिंसा हैन, मनको हिंसा झन् कडा खालको हुन्छ । संसारले कहालीलाग्दो प्रथम र दोस्रो विश्वयुद्धलाई बिर्सेको छैन । दोस्रो महायुद्धपछि स्थापना भएको संयुक्त राष्ट्र संघपछि पनि अशान्तिका काला बादलहरू फाटफुट देखिएकै हुन् । हिरोसिमा र नागासाकीको कहालीलाग्दो अवस्था, सेप्टेम्बर ११ को अमेरिकी ट्विन टावरको आक्रमण, हाम्रै देशको पनि १० वर्षे जनयुद्ध, हालैको तुइनको महाकाली र अलि अघिको निर्मला प्रकरण, रुकुमको नरसंहार र संखुवासभाको सामूहिक हत्याले हामीलाई गिज्याइरहेको अवस्था छ । प्राकृतिक भनौँ दैवी प्रकोपको अवस्था, महामारी, अनेकानेक दुर्घटना र दैनिक २० जवानको हिसाबमा आत्महत्या नचाहेर पनि हामीले हेरी बस्नुपरेको छ । मूलतः तनमा कान्ति र मनमा शान्ति सबै युगको अपरिहार्यता हो भने अहिले हामीले भनौँ संसारले चाहेको द्रुत विकासको पहिलो आवश्यकता अहिंसा र शान्ति नै हो ।
क्रान्तिले युग परिवर्तन खोज्नु भूल हुनेछ र त हाम्रा वैदिक ऋषि महर्षिहरूले अनेकानेक खोज र अनुसन्धान गरेर विश्व शान्तिको पहल गरे । पूर्वी संस्कारमै हुर्केका बुद्ध यहीँ अवतरित भए । धर्मको स्थापनाका लागि युगयुगमा म पृथ्वीमा अवतरित हुनेछु भनी स्वयं ईश्वरले गीतामा भनेको छ । सबैप्रति ईश्वरीय भाव जागेर एकले अर्कोलाई सम्मान, इज्जत देओस् र सबै प्राणीले सजिलै बाँच्न पाऊन् भनेर ईश्वरले अहम् सर्वेषु भूतेषु भनेको छ, भागवत्मा । यसको सीधा अर्थ हुन्छ, म सबै प्राणीमा अदृश्य रूपमा रहेको छु । पूर्वीय यो मूल्य र मान्यता आज संसारले खोजेको छ र त जर्मनीलगायत विकसित देशहरूले पूर्वी धर्म–संस्कृतिको धरोहर वेद र यसको स्रोत खोज्दै छ । विद्वान् म्याक्स मूलरले पूर्वीय दर्शनलाई विज्ञान भनेका छन् ।
विद्वान् विल्सनले भनेका छन्, प्रजातन्त्रका लागि पनि यो संसारलाई सुरक्षित राख्नुपर्छ । विद्वान् रस्किनले भने, कुनै व्यक्तिको प्रथम परीक्षा भनेको उसको नम्रता नै हो । महात्मा गान्धी शान्तिका पुजारी हुन्, अहिंसा आन्दोलनबाटै भारत स्वतन्त्र भयो । गान्धीले भनेका थिए, खराब मान्छेलाई सुधार्ने मुख्य औषधि भनेको प्रेम र स्नेह नै हो । अल्बर्ट आइन्स्टाइनले भनेका थिए, ईश्वर भ्रष्ट हुन सक्ला तर ईष्र्यालु कहिल्यै हुन्न । विद्वान् वाइरनको भनाइ छ, जसले आफ्नो देशलाई माया गर्न सक्दैन उसले कसैलाई पनि माया गर्दैन । प्रसिद्ध विद्वान् गेटेको भनाइ छ, राजा या रंक होस्, जसले घरमा शान्ति पाउँछ उही सुखी हो । बाइबलको पनि भनाइ छ, तिम्रो शरीर नै पवित्र आत्माको मन्दिर हो, तर हितोपदेशका कुरा हिजोआजका मानिसलाई सुन्ने फुर्सद छैन । हाम्रा ऋषि–महर्षिहरूले द्यौः शान्ति, पृथ्वी शान्तिः, आपः शान्तिः, अन्तरिक्षः शान्तिः, औषधयः शान्तिः अर्थात् भूमि, पानी, माटो, अन्तरिक्ष, आकाश, खगोल, भूगोल, वायुमण्डल, वनस्पति सम्पूर्ण चराचर जगत् नै शान्तिको प्रार्थना गरे ।
बसुधैव कुटुम्बकम् अर्थात् सम्पूर्ण बसुधा भनौँ पृथ्वी नै कुटुम्ब हो भने त्यति मात्रै नभएर ब्रह्माण्डैव कुटुम्बकम् भने आज त्यसैलाई ग्लोबल भिलेज भन्छौँ हामी अर्थात् विश्व एक गाउँ । ब्रह्माण्डभित्र समस्त शान्ति नभई यो सन्देशको सम्भावना छैन । हिंसाले हिंसा नै जन्माउने हो र अहिंसाले अहिंसा नै । एउटा नीति छ, जोसँग जे छ अरूलाई उसले दिने पनि त्यही नै हो । अहिंसाको मार्गले नै संसार जित्न सकिन्छ र समृद्धि धेरै टाढा हुन्न । अरूलाई दिनुको नाम नै देउता अर्थात् देवता हो, आफैं लुटी खानेलाई दानव भनिन्छ । क्रोध गर्दा मानिसको ८ प्रतिशत ऊर्जा शक्ति नष्ट हुन्छ, क्रोधपछि आउने आवेगबाट शरीरको १६ प्रतिशत शक्ति नष्ट हुन्छ भने त्यसैबाट जन्मने तनावका कारण मानिसको ३२ प्रतिशत शक्ति नष्ट हुन्छ, यस अर्थमा जोड्दा ५६ प्रतिशत अर्थात् हामीसँग भएको शतप्रतिशत शक्तिमध्ये आधाभन्दा बढी शक्ति बिनाकारण आफैं नष्ट गराइरहेका हुन्छौँ, अनि बाँकी शक्तिले हाम्रो न्यूनतम आवश्यकता नै पूरा हुन्न, ठूलो समृद्धि त परको विषय हुने नै भयो । हामीले समृद्धिको चाहना गरेको सात दशक भयो, तर त्यसको औपचारिक प्रगति आर्थिक वृद्धिलाई वार्षिक औसत २ प्रतिशत नघाउन सकेनौँ । भन्छौँ साढे ८ प्रतिशतको वृद्धि, तर हातमा आउँछ कहिले माइनस कहिले हल्काफुल्का मात्र । ७० वर्षमा अशान्तिका काला बादलहरू कति मडारिए, कति धनजनको क्षति भयो, खोज्ने फुर्सद छैन हामीलाई ।
संसारको चार दिशामध्ये पश्चिममा ऋग्वेद, यजुर्वेदको खोजी जर्मनी, अमेरिकामा हुँदै छ । पूर्वमा जापान, सिंगापुरमा यी मन्त्रहरू बिहानै घन्कन थालेका छन् । पूर्वीय सभ्यताको खोजी गरेर पश्चिमाहरू विज्ञानको चुलीसम्म पुगे । इन्धन र यन्त्रबिना नै पूर्वीय चिन्तनको पुष्पक विमान आफैं उदाहरण छ । वेदको रोचक पक्ष वास्तुकलाको परिचय नेपालका अरनिकोले चीनमा गराएका सुनौला पक्षहरू हाम्रा इतिहास बताउँछन् । वेदका खानी वेदव्यासको तपस्या स्थल व्यास गुफा हामै्र तनहुँमा छ । देवघाटमा देवस्थल छ । पशुपतिमा वेदका ऋचाहरू संसारभर घन्काउने शिवजी हुनुहुन्छ । आर्यावर्त क्षेत्र स्वर्गीय यज्ञ भूमि हो । गोकर्णमा रावण आएको, गौरीघाटमा सम्पूर्ण इन्द्र आदि देवताहरूले तप गरेको र यो पूरै योग भूमि हो । स्कन्द पुराण, शिव पुराण, देवी भागवत्, नेपाल माहात्म्य आदि ग्रन्थहरूले नेपालको परिचय वेदको सुरुस्थलका रूपमा दिएको छ । नेपालकै बुद्धले संसारमा अहिंसाको दीप प्रज्वलन गराए ।
लुम्बिनी क्षेत्रलाई संसारले हेरेको छ । यहाँको कलाकारिता, शिल्पी, यहाँका वनस्पति, जडीबुटीहरू विदेशीहरूका लागि खोजको विषय रहेको छ । नजिकको तीर्थ हेंला भनेझंै आफ्नो श्रीसम्पत्तिप्रति हामीलाई ठूलो चासो छैन । भएका प्राचीन ग्रन्थ एवं आफ्नो मौलिकतालाई हामी बिर्संदै छौं । शताब्दीयौंको संरक्षण गरेर सिंगापुरमा एसियन सिभिलाइजेसन म्युजियमले सारा एसियामा भएका सभ्यतालाई उजागर गरिरहेको छ । अहिले हामीलाई वेदमा विश्वास छैन । हिड्ंदै छ, पाइला मेटिँदै छ, हुँदै छ यस्तै । समयमै यसतर्फ विचार नगरे हाम्रै मौलिकपन भविष्यमा बाँकी रहन्न । आजको युग भौतिक युग भए पनि भक्तिबाट मात्र शक्ति प्राप्त हुन्छ । शुक्ल यजुर्वेदले यही बताउँछ । यसमा रहेका कर्मकाण्ड, ज्ञानकाण्ड, उपासना काण्डमा जपका विधि, ध्यान पद्धति, यज्ञ र पूजा संस्कारबारे उजागर गरिएको छ भने ज्ञानकाण्डले हामीलाई आत्मा साक्षात्कार गरी स्वको खोजी आफैंले गरी जीवले जगत्बाट जगदीश्वर पाउने विषयमा व्यापक चिन्तन गरेको छ । हाम्रो सर्वोपरि चाहना भनेको धर्म, अर्थ, काम र मोक्ष हो, सत्कर्मबाट धनार्जन गर्नुपर्छ । उपासना काण्डले चाहिँ आत्मा, ईश्वर अनि मायाद्वारा सिर्जित र सञ्चालित विश्वको अनुसन्धान गर्ने कार्यमा जोड दिएको छ । सबै विषयवस्तुहरूको गन्तव्य एउटै हो, जीवले लक्ष्य प्राप्ति गर्ने उपायहरू धेरै हुन सक्छन् । यात्रा अलग भए पनि साधनाका विविध यात्रामार्फत साध्य प्राप्त गर्नु अन्तिम लक्ष्य हो, साध्य हो सबैको ।
साध्य प्राप्तिको क्रममा शुक्ल यजुर्वेद निकै अगाडि छ । यजुर्वेदले जीवनमा आइपर्ने समेत समस्याहरूको निराकरणका उपाय बताएको छ । वायु प्रदूषण, ध्वनि प्रदूषण नगरी संसारलाई शान्त, सुखी बनाउन पर्यायवरणको चासो देखाएको छ । भूमि, आकाश, पाताल र समस्त वायुमण्डल शुद्ध हुनुपर्ने संकेत गरेको छ । आजसम्म चलनचल्तीमा आएका शास्त्रमध्ये वेद नै प्राचीन हो र अर्वाचीन समेत । देवता र पितृ मान्नु हाम्रो परम्परा हो । सृष्टि, स्थिति र प्रलय निरन्तर चलिरहने प्रक्रिया हो । ती प्रक्रियाका पात्रहरू मात्रै हौं हामी । हिजो ईश्वर थियो हामी थिएनौं । आज ईश्वर छ, हामी छौं, भोलि हामी रहन्नौँ तर ईश्वर सदैव रहन्छ । मानव मस्तिष्कको स्रोत भन्नु ईश्वर हो, ईश्वरप्रदत्तै रहन्छ । मानव मस्तिष्कको स्रोत भन्नु ईश्वर हो । ईश्वरप्रदत्त मानव मस्तिष्कको उपज भन्नु विज्ञान हो । सही र सदुपयोग गर्दा विज्ञान वेदमणि हुन सक्छ, पारसमणि हुन सक्छ । जैन, सिख, हिन्दू, क्रिस्चियन, मुस्लिम, बौद्ध जे सम्प्रदाय भने पनि पहिले हामी मनुका सन्तति मानव हौं, मनुष्य हौं । मानव धर्मको पहिचान भएन भने सम्प्रदाय विशेषमा रुमल्लिएर मात्र ईश्वर पाइने होइन । फलाममय जगत्लाई पारसमणिको रूपमा प्रयोग गर्न सक्नु मानव हित अनुकूल छ । संसार नरमाइलो छैन, बुझाइ मात्र फरक हो ।
सूर्य, गणेश, शिव, विष्णु, देवी शक्ति संसारकै हुन् । हाम्रो मात्रै पनि होइन, अरूको मात्रै पनि होइन । वेद अमूल्य धन हो, पैतृक सम्पत्ति हो, संरक्षण चाहेको छ केवल हाम्रो भूमिबाट । बस् यत्ति मात्रै हो, कारण यो भूमि तपोभूमि हो, योगभूमि हो, अन्य भूमि कर्मभूमि, भोगभूमि मात्र पनि हुन सक्छ । सामवेदको विशालता शब्दले सीमांकन गर्न सकिन्न । पूर्वार्चिक र उत्तरार्चिक गरी यो दुई खण्डमा विभाजित छ । अथर्ववेदका तीन संहिता अर्षि, आचार्य र विधि प्रयोगमा छ । अर्षि संहिताले वेद मन्त्रको शुद्धताले सिद्धि प्राप्त हुने कुरामा जोड दिएको छ भने आचार्य संहिताले विभिन्न मानव संस्कारका बारे वर्णन गरेको छ । त्यस्तै विधि प्रयोग संहिताले कुनै कार्य, जप, पाठ, पूजा गर्दा संकल्प गरेर गरे मात्र सिद्धि फल प्राप्ति हुने कुरामा जोड दिएको छ । अथर्ववेदले वित्तीय व्यवस्था, कृषि, उद्योग तथा गोधन, पशुधन, सम्पूर्ण आर्थिक समृद्धिको पूर्वाधार तयार गर्नुपर्नेबारे चासो दिएको छ ।