एक करोडको लगानीमा पोलीहाउस «

एक करोडको लगानीमा पोलीहाउस

धनगढी-कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडाका युवा गजेन्द्र शाहले एक करोडको लागतमा नेचुरल मेन्टिलेटड हाई–पोलिहाउस सञ्चालनमा ल्याएका छन् । मञ्जरी एग्रिकल्चर प्रालिद्वारा सञ्चालित हाई–पोलिहाउस २ विगाहा जग्गामा सञ्चालन गरिएको छ ।
पूर्व वनराज्यमन्त्री तथा नेपाली कांगेसका नेता दीर्घराज भाटको जग्गा करारमा लिएर शाहले १० वर्षको सम्झौतामा हाई–पोलिहाउस सञ्चालन गरेका हुन् । २०७३ सालदेखि सञ्चालनमा ल्याइएको पोलिहाउसमा ४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पोलिहाउसमा मुक्त कमैयालाई रोजगारीमा प्राथमिकता दिइएको छ । संरक्षित खेतीका लागि बनेको संरचना बनाइएको नेचुरल मेन्टिलेटड पोलिहाउसले ४ हजार स्वायर मिटर अर्थात १२ कट्ठा जमिनमा ओगटेको छ । यस्तो हाई–पोलिहाउस पोखरामा पनि सञ्चालनमा छ । कैलालीमा पोखरा पछिको दोस्रो हो ।
पोलिहाउसभित्र काँक्रो, खुर्सानी, भेडे खुर्सानी लगाइएको छ । ती सबै बालीमा थोपा सिँचाइअन्तर्गत नै सिँचाइ हुने गरेको छ । सिँचाइका लागि साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाले प्रविधि विकासका लागि पुरक अनुदान ४३ लाख रूपैयाँ दिएको छ ।
पोलिहाउस निर्माणका लागि व्यक्तिगत ५० लाख रूपैयाँ लगाएका छन् । १४ वर्ष कृषि प्राविधिकको लामो अनुभव सम्हालेका शाहले कृषकलाई सहज र कृषि प्रविधीको प्रयोग गरेर उत्पादन गरेको तरकारी स्थानीय बजारमा सहजै उपलब्धता गराएका छन् । खेतबारीमा प्लास्टिकको घर बनाएर बाहिरबाटै थोपा सिँचाइद्वारा विषादी प्रयोग गरिने प्रविधिलाई पोलिहाउस भनिन्छ ।
थोपा सिँचाइमार्फत काँक्रो, बोडी, सिमी, लसुन, बन्दा, काउली, गोलभेंडा, खुर्सानीलगायतका तरकारीका साथै फलफूल समेतमा विषादी प्रयोग गर्न सकिन्छ । पोलिहाउसभित्र रहेका प्लास्टिकबाट ढाकिएको जमिनमा सिँचाइका लागि पाइप बिछ्याएको हुन्छ । जहाँ प्वाल छन्, त्यहीँ तरकारीका बिरुवा रोपिन्छ र आवश्यकताअनुसार तरकारीको फेदमा एक पटक थोपा सिँचाइसमेत गर्ने गरिन्छ ।
पोलिहाउसमा सुरक्षित विषादी र जैविक विषादी प्रयोग गरिएको छ । “थोपा सिँचाइमा प्रयोग गरिने विषादी नेपालमा उपलब्ध नहुँदा समस्या भएको छ,” शाहले भने, “भारतबाट ल्याउन अनुमति छैन । सरकारले संरचना बनायो, तर मल पाइएन ।” १ वर्षअघि ल्याएको मल अझै पनि गड्डाचौकी भन्सारमा रोकिएको उनको गुनासो छ । पोलिहाउसमा उत्पादित तरकारीले गत वर्ष स्थानीय बजारमा मूल्य नपाउँदा समस्या भएको थियो ।
सरकारको कृषि नीति बलियो नहुँदा स्थानीय कृषकलाई समस्या भएको गुनासो उनले व्यक्त गरे । भारतीय बजारबाट आयात भएका गोलेभेंडा मात्र बजारमा २५ रूपैयाँ किलोमा बिक्री गर्ने गरेका छन् । स्थानीय ठाउँमा पूर्ण अग्र्यानिक रूपले उब्जाएको गोलभेंडा किलोको १५ रूपैयाँमा बिक्रीगर्दा समेत बिक्री नहुने गरेको उनले बताए । “भारतीय बजारका किसानहरूसँग प्रतिस्पर्धा गर्न निकै नै समस्या छ,” उनले भने, “प्रदेश कृषि मन्त्रालयले भारतीय बजारका तरकारीलाई प्रतिबन्ध र स्थानीय तरकारीलाई उच्च प्राथामिकता राख्नुपर्छ ।”
जिल्ला कृषि विकास कार्यालयले अहिले जिल्लाका विभिन्न स्थानका किसानले पोलिहास निर्माण गरेर खेती गरिरहेको जनाएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव रविन्द्र प्रधानले यस्ता किसानलाई सहयोग गरे पनि चालू आवमा बजेट नछुट्याइएको बताए । हाई–पोलिहाउसमा मन्त्रालयले लगानी गर्न नसक्ने उनले जानकारी दिए । साना पोलिहाउस निर्माणका लागि आगामी आर्थिक वर्षमा केही रकम विनियोजन गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्