चार ठाउँ : ‘नमूना कृषि गाउँ’ «

चार ठाउँ : ‘नमूना कृषि गाउँ’

एक स्थानीय तह एक नमूना कृषि गाउँ स्थापना गर्ने उद्देश्य रहे पनि पहिलो वर्ष कम्तिमा एक निर्वाचन क्षेत्र एक नमूना कृषि गाउँ बनाउने लक्ष्य राखिएको छ ।

दमौली-गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ का लागि तनहुँका चार गाउँको सम्भाव्यता अध्ययन गरिएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि गाउँ निर्माण गर्ने उद्देश्य बमोजिम जिल्लाको भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकाका चार वटा गाउँलाई नमूना कृषि गाउँको रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिएको हो ।
जसअनुसार भानु नगरपालिका–११ स्थित बाँसखर्क, आँबुखैरेनी गाउँपालिका–४ स्थित भाँगे, शुक्लागण्डकी नगरपालिका–९ र १२ स्थित भाटडाँडा र भिमाद नगरपालिका–९ स्थित भानुमति गाउँको सम्भाव्यता अध्ययन गरिएको जिल्लास्तरीय छनोट समितिका सदस्य एवं भेटेरीनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए ।
नमूना कृषि गाउँ छनोटका लागि कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख तेजप्रसाद दुवाडीको संयोजकत्वमा छनोट समिति गठन गरिएको छ । उक्त समितिमा सम्बन्धित सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा प्रतिनिधि, सम्बन्धित स्थानीय तहका कृषि वा पशु सेवा प्राविधिक कर्मचारी सदस्य र ज्ञान केन्द्रले तोकेको अधिकृतस्तरको कर्मचारी सदस्य सचिव रहेका छन् ।
उक्त समितिले चार वटै गाउँमा पुगेर सम्भाव्यता अध्ययन गरेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार समितिले गरेको अध्ययन अनुसार ती गाउँहरू नमूना कृषि गाउँका लागि उपयुक्त देखिएको छ । उनले भने, “हामीले स्थलगत गएर त्यहाँको वस्तुस्थिति बुझ्दा नमूना कृषि गाउँको लागि उपयुक्त भएको पायौैं । सोही रिपोर्ट हामी सम्बन्धित मन्त्रालयमा बुझाउँछौं ।” उनका अनुसार मन्त्रालयले ती गाउँहरूलाई नमूना कृषि गाउँको रूपमा छनोट गरेपछि कार्यक्रम सुरु हुन्छ ।
एक स्थानीय तह एक नमूना कृषि गाउँ स्थापना गर्ने उद्देश्य रहे पनि पहिलो वर्ष कम्तिमा एक निर्वाचन क्षेत्र एक नमूना कृषि गाउँ बनाउने लक्ष्य राखिएको छ । कार्यक्रमका लागि यस वर्ष १० करोड ८० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रत्येक नमूना कृषि गाउँलाई ३० लाखका दरले रकम प्रदान गरिनेछ । पहिलो वर्ष कार्यक्रम पाएको गाउँले दोस्रो वर्ष त्यसको ५० प्रतिशत पुनः रकम पाउनेछ भने पहिलो वर्ष सञ्चालित नमूना कृषि गाउँलाई अर्को वर्ष ५० प्रतिशत रकम कम गर्दा रहने रकम अन्य नमूना कृषि गाउँ बनाउनका लागि खर्च गरिने छ ।
नमूना गाउँका लागि हालका लागि कम्तिमा ५० घरधुरी अनिवार्य हुनुपर्ने प्रावधान राखिएको र सहकारी मार्फत सञ्चालन गरिने नमूना कृषि गाउँ सञ्चालन कार्यविधिमा उल्लेख छ । यसैगरी सहकारी नभएको गाउँ छनोट भएमा सामूहिक भेला मार्फत् सहकारी गठन गरी काम सुरु गरिने कार्यविधिमा उल्लेख गरिएको छ ।
कार्यक्रम सञ्चालन गर्दा सहकारीले ज्ञान केन्द्र वा विज्ञ केन्द्र र एकाइको सहयोग लिई वातावरणमैत्री नमूना कृषि गाउँ स्थापनाका लागि जलवायु समानुकुलित प्रविधि, असल कृषि अभ्यास, पर्यावरणीय खेती, कृषि पर्यटन, दिगो कृषि यान्त्रीकीकरण, लैंगिक तथा सामाजिक समावेशीकरण, क्षमता विकास र सहसिकाई कार्यक्रमको वार्षिक कार्ययोजना बनाउनुपर्ने सर्त राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्