एनआरएनएको अध्यक्षमा केसीद्वारा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंमा मगलबार पत्रकार सम्मेलन गरी केसीले २०२१/०२३ कार्यकालका लागि संघको अध्यक्षमा उमेद्धवारी दिने औपचारिक घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै केसीले एनआरएनए आसन्न चुनावका लागि ९ बँुदे प्रतिवद्धतापत्रसमेत जारी गरेका छन् ।
उनले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी तथा एनआरएन नेपाल डेभलपमेन्ट फण्ड, संस्थागत पुर्नसंरचना एवं सुदृढीकरण, गैरआवासीय नेपालीका हकहित अधिकार, ज्ञान, सीप र प्रविधिसहितको एनआरएन, एनआरएनए फाउण्डेसन, नेपाल एवम नेपाली पर्यटन प्रवद्धन, युवा महिला तथा दोस्रो पुस्तालाई नेपालसँग जोडने र अन्तर्राष्ट्रिय संघ–संस्थासँग सहकार्य गर्नेलगायतका प्रतिवद्धता जाहेर गरेका छन् ।
उनले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नेपाल सरकार, गन्तव्य मुलुकस्थित कुटनीतिक नियोग, दूतावासलगायतसँग सहकार्य गरेर श्रमिकको अधिकार र सामाजिक सुरक्षाका लागि काम गर्ने बताएका छन् । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमुखीकरण तालिमको सञ्चालन गर्ने, विदेशमाा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष तथा पेन्सन कोषमा सहभागी गराउने पनि केसीले प्रतिद्धता जाहेर गरेका छन् ।
“ज्ञान, सीप र पुँजीलाई स्वदेशको विकास र समृद्धिका निम्ति उपयोग गर्ने र नेपाल सरकारसँग सहकार्य गरी छुट्टै श्रम तथा सीप बैंक स्थापनाका लागि पहल गरिनेछ ।” उनले भने, “नेपाल सरकारका वैदेशिक रोजगार कल्याणकारी कोषलाई श्रमिकको समस्या समाधानमा प्रभावकारी ढंगले प्रयोग गर्नपरी गरिने छ ।” कोरोना महामारीको कारणले वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका नेपालीको अभिलेख तयार गरी उनीहरुलाई उत्पादनमूलक क्षेत्रमा सहभागी गराउन नेपाल सरकारको सहकार्यमा ‘आफ्नै माटो, स्वावलम्बी बाटो’ अभियान सञ्चालन गरिने उनले बताए ।
रोजगारीका सिलसिलामा मध्यपूर्व, मलेसियालगायत जुनसुकै क्षेत्रमा रहेका महिला कामदारको सुरक्षित, मर्यादित र सम्मानजनक रोजगारीका निम्ति विशेष कूटनीतिक पहलका लागिसरकारसँग सहकार्य गरिने उनले बताए ।
नेपालमा लगानी तथा एनआरएन नेपाल डेभलपमेन्ट फण्डमार्पmत फण्डलाई अघि बढाइने पनि उनले जनाएका छन् । हाल १० अर्ब सुरूवाती पुँजी रहेको फण्डलाई आगामी दिनमा थप बृहत बनाइने केसीको प्रतिवद्धतापत्रमा उल्लेख छ ।
गैरआवासीय नेपालीका हक हित अधिकारका लागि नेपाल सरकारले संविधानमा व्यवस्था गरेका तर कार्यान्वयनमा आउन बाँकी गैरआवासीय नागरिकता लगायतका अन्य व्यवस्थालाई कार्यान्वयनमा ल्याउन परिणाममुखी पहल गरिने उनले बताए । विदेशमा बस्ने नेपालीलाई राजनीतिक अधिकारसहित विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग पहल गरिने उनले बताए । गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिको सुरक्षाका लागि कानूनी व्यवस्था मिलाउन नेपाल सरकारसँग पहल गर्ने केसीको प्रतिवद्धतापत्रमा उल्लेख छ ।