सहकारीको ठगीमा सीआईविको अनुसन्धान «

सहकारीको ठगीमा सीआईविको अनुसन्धान

This undated image shows entrepreneur and bank promoter Ichchha Raj Tamang. Photo courtesy: Civil Bank


सहकारी संस्थाको ठगीको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवि) ले हात हालेको छ ।
प्रहरीका अन्य निकायबाटै सहकारीको ठगीका घटनामा अनुसन्धान हुँदै आएकोमा सिभिल सहकारी संस्थाको ठगीमा भने सीआईविले अनुसन्धान सुरु गरेको हो ।
सिभिल सहकारीको ठगीको घटनामा पूर्व सभासद्समेत रहेका इच्छाराज तामाङ जोडिएका छन् । सिभिल गु्रपका अध्यक्ष तामाङ सहकारीका पूर्वअध्यक्ष हुन् । प्रभावशाली व्यक्ति जोडिएको र ठूलो रकम ठगी भएको मुद्दा भएकाले सिआइवीमार्फत अनुसन्धान थालिएको बताइएको छ ।
सामान्यतया सहकारी संस्थाको अनियमिततामा सहकारीको नियमन गर्ने निकायले अनुसन्धान गर्ने कानुनी प्रावधान छ । नियामक निकायको अनुसन्धानमा अनियमितता भेटिएमा कानुनी कारवाही अगाडी बढाउन प्रहरीलाई सिफारीस गर्ने व्यवस्था छ । हाल सिभिल बागमती प्रदेश मातहत पर्छ ।
बागमती प्रदेशको सहकारी शाखाले एक वर्षअघि सिभिल सहकारीको अनुगमन गरेको थियो । अनुगमनपछि संस्थालाई ऐन, नियमको पालना गर्न, अफ्ठ्यारोमा परेका बचतकर्तालाई प्राथमिकतामा राखेर बचत फिर्ता गर्न र साधारणसभा गर्न निर्देशन दिएको थियो ।
प्रदेश रजिष्टारको निर्देशन अनुसार असोज २२ गते संस्थाले तीन आर्थिक वर्षको साधारणसभा आयोजना गरेको थियो । साधारणसभाको मुखैमा प्रहरीले अध्यक्ष, पूर्व अध्यक्षसहितलाई पक्राउ गरी अनुसन्धान सुरु गरेपछि साधारणसभा समेत अन्योलमा परेको छ ।
बागमती प्रदेश रजिष्टार विक्रम पाण्डेका अनुसार सिभिल सहकारीका कसैलाई पनि कारवाहीका लागि प्रहरीमा सिफारीस नगरिएको बताउँछन् । “हामीले अनुसन्धान तथा कारवाहीका लागि प्रहरीमा सिफारीस गरेका छैनौं” उनले भने, “बचतकर्ताकै उजुरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेका होला ।” संघीय सरकारको सहकारी मन्त्रालय, विभाग हुँदै प्रदेशमा सिभिल सहकारीको फाइल माग भएकाले उपलब्ध गराएको उनले जानकारी दिए ।
विगत चार वर्षयता सिभिल सहकारी समस्याग्रस्त भई सर्वसाधारणको निक्षेप फिर्ता गर्न सकेको छैन । सहकारीमार्फत उठाएको बचत तामाङले आफ्नै कम्पनीमा लगानी गरेर अनियमितता गरेको भेटिएपनि उनलाई कारवाही गर्ने आँट कुनै सरकारी निकायले गरेका छैनन् । सहकारी संस्थाको रकम अनियमितता गरेको पुष्टि हुँदा पनि उनले उन्मुक्ती पाउँदै आएका थिए ।
सिआइवीले सोमबार सिभिल सहकारीका पूर्वअध्यक्ष तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेमा संस्थाको ऋण शाखामा कार्यरत तथा पूर्व कर्मचारीहरु समेत रहेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा विजयविक्रम शाह, एलिना तुलाधर, दुतराज तामाङ, कैसप चेतन ढुंगाना, भगवानबहादुर सिंह, संगीत श्रेष्ठ, शंकरप्रसाद पाठक, मायानानी महर्जन, राकेश महर्जन र हरिहरप्रसाद लामिछाने रहेका छन् ।
प्रहरीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा १३७ जना पीडित वचतकर्ताहरुले सहकारीको खातामा रहेको ७० करोड ८७ लाख फिर्ता नपाएको भन्दै उजुरी गरेका छन् । तर, सहकारी संस्थाले २ हजार भन्दा बढी बचतकर्ताको ८ अर्व दायित्व तिर्न बाँकी रहेको छ ।
प्रहरीको अनुसन्धानमा सिभिलले सर्वसाधारणको बचतको ठूलो हिस्सा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को प्राबधान विपरित एकै व्यक्ति संस्थापक रहेका विभिन्न परियोजनाहरुमा लगानी गरेको र उक्त लगानीबाट प्राप्त लाभ चरम बेथितिका कारण संस्थाले प्राप्त गर्न नसकेको भेटिएको छ ।
यसैगरी सहकारी संस्थाबाट कर्जा लगानी भई सम्पन्न गरिएका विभिन्न परियोजनाबाट निर्माण गरिएका संरचनाहरु बिक्री गर्दा प्राप्त रकम सहकारी संस्थामा नबुझाई विदेशी मुलुकमा समेत लगि सम्पत्ति सुद्धिकरणको कसुर गरेको हुनसक्ने समेत प्रहरीले आशंका गरेको छ ।

प्रतिक्रिया दिनुहोस्