न्यादी हाइड्रोको आईपीओमा मागभन्दा १४ गुणा बढी आवेदन

असोज १५ गतेदेखि सार्वजनिक निष्कासनमा आएको न्यादी हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५७ हजार १६६ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंगलबारसम्म यी आवेदकहरुबाट २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको हो । जुन मागभन्दा १४ गुणा बढी हो ।
कम्पनीले सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता आईपीओ वितरण गर्न लागेको हो । कुल कित्तामध्य ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत दरको ४५ हजार कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत बिक्री गरेको हो । यो आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटड रहेको छ ।
कम्पनीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको निर्माण लागत अनुमानित ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार रुपैयाँ रहेको छ । हाल कम्पनीमा संस्थापक सेयरधनी समूहबाट चुक्ताभएको ७३ प्रतिशत स्वामित्व १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले संस्थापक सेयर धनी तथा कर्मचारी र स्थानीयसहित सर्वसाधारणमा २७ प्रतिशत सेयर बिक्री गर्नेछ । सर्वसाधारणमा समेत सेयर जारी पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।