व्याजदर वृद्धि नगर्न विराट व्यापार संघको माग «

व्याजदर वृद्धि नगर्न विराट व्यापार संघको माग

विराटनगरका उद्योगी व्यवसायीले बैंकको कर्जादर घटाउन सरकारसँग माग गरेका छन् ।
उद्योगी व्यापारीहरूको संस्था विराट व्यापार संघले अर्थमन्त्री जनार्दन शर्मालाई सो विषयको ज्ञापनपत्र पठाएको हो । संघका अध्यक्ष सुजन थापाको नेतृत्वमा मोरङ प्रशासन पुगेको टोलीले ज्ञापनपत्र पठाएको हो । “देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका उद्योगी, व्यवसायीहरूको संरक्षण गर्नु राज्यको दायित्व हुनुपर्नेमा हामी उद्योगी, व्यवसायीहरूले सो को अनुभूति गर्न सकिरहेका छैनौं,” ज्ञापनपत्रमा भनिएको छ, “तसर्थ हाल बैंकहरूले कर्जामा बढाएको व्याजदर वृद्धि नगरी व्यापार सहजीकरण गर्न सहयोग गरिदिनुहुन जोडदार माग गर्दछौं ।”
व्यापार संघका अध्यक्ष थापासहितको टोलीले ज्ञापनपत्र मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालमार्फत हस्तान्तरण गरेको हो । पत्रमा कोभिड–१९ को कारण धराशायी भएको अवस्थामा उद्योग व्यवसायलाई पुनरुत्थानका लागि राज्यले राहत प्रदान गर्नुको सट्टा बैंकहरूले व्याजदर वृद्धि गरी राहतको सट्टा थप आहात भई व्यवसायी नै बन्द गर्नुपर्ने अवस्थाको सिर्जना भएको उल्लेख छ । रुग्ण भएका उद्योगहरूलाई पुनरुत्थान गर्नु राज्यको दायित्व भएकाले ब्याज दरलगायतका समस्यालाई सहजीकरण गरिदिन उद्योगीहरूले पठाएको ज्ञापनपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्