उद्योगी र स्विस राजदूतबीच छलफल

नेपालका लागि स्विस राजदूत एलिजाबेथ क्यापेलरले उद्योग संगठन मोरङसँग औद्योगिक दक्ष जनशक्ति उत्पादनमा सहकार्यको सम्भावनाका विषयमा भेटघाट भएको छ ।
उद्योग संगठन मोरङको कार्यसमिति र स्विस राजदूतबीच संगठनको सचिवालयमा भेटघाट भएको हो । भेटघाटमा स्विटजरल्याण्ड र नेपालबीच हुन सक्ने व्यावसायिक तथा व्यापारिक सम्बन्ध, लगानीको सम्भावना, प्रविधि हस्तान्तरणका साथै संगठनले सञ्चालन गरिरहेको सीप विकास कार्यक्रमलगायतका विषयमा राजदूत क्यापेलरले छलफल गरेकी हुन् ।
संगठनको वर्तमान कार्यसमितिले अघि बढाएका कार्यक्रमहरूको प्रस्तुतीकरण सुनिसकेपछि राजदूत क्यापेलरले स्विस सरकारले धेरै पहिलेदेखि स्थानीय संस्थाहरूसँग यस्तै कार्यक्रमको अपेक्षा गरेको र आफूले विगत आठ वर्षको अवधिमा पहिलो पटक यो स्तरको उत्कृष्ट प्रस्तुति र कार्यक्रमहरूका बारे हेर्ने र बुझ्ने अवसर पाएको भन्दै संगठनलाई कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले राजदूत क्याम्पेलरलाई संगठनमा स्वागत गर्दै नेपालमा स्विस लगानी भित्र्याउन, प्रविधि तथा ज्ञान आदानप्रदान गर्न, संगठन र स्विस चेम्बरहरूसँग सहकार्य गर्नका लागि सहजीकरण गरिदिन अनुरोध गर्दै यस प्रकारको भ्रमण निरन्तर भएमा सहकार्यको सम्भावनालाई मूर्तरुप दिन मद्दत पुग्ने बताएका थिए । भेटमा संगठनका पदाधिकारी र सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।