मुसैली पोखरी निर्माणमा कमसल सामग्री प्रयोग

सर्लाहीको मलंगवामा रहेको मुसैली पोखरी निर्माणमा कमसल सामग्री प्रयोग भएको पाइएको छ ।
प्रदेश २ सरकारद्वारा सञ्चालित उक्त योजनामा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको स्थानीयबासीको भनाइ छ । मलंगवा नगरपालिका–७ बडकीपोखरी सौन्दर्यीकरणमा ठेकेदारले पोखरीमा कमसल सामग्री प्रयोग गरी मापदण्डविपरीत निर्माण गर्दा निर्माणाधीन पर्खाल भत्किएको हो ।
तोकिएको समयमा योजना पूरा नहँुदा पोखरीबाट हुने मासिक दुई लाख आम्दनीसमेत गुमेको छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गतवर्ष असोजमा १५ महिनामा काम सम्पन्न गर्ने गरी ६ करोड १२ लाख ९३ हजार रुपैयाँमा एमआरआरजे कमल जेभी जनकपुरधामलाई ठेक्का दिएको थियो । सम्झौताअनुसार काम सम्पन्न गर्ने समय तीन महिना बाँकी रहँदा २० प्रतिशतमात्र काम भएको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, संघीय सांसद महेन्द्र यादव, प्रदेश सांसद अशोक यादवलगायतको उपस्थितिमा गतवर्ष असोज ७ गते उक्त पोखरीको शिलान्यास गरेका थिए । आन्तरिक पर्यटनलाई बढावा दिन स्थानीय युवाको पहलमा मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रमअन्तर्गत मंलगवा नगरपालिका–७ मुसैलीको बौधीदेवी जनता माविको स्वामित्वमा रहेको दशकौं पुरानो उक्त पोखरी १० बिगाहा क्षेत्रफलमा फैलिएको छ ।
स्थानीयले पोखरीमा गुणस्तरहीन सामग्री प्रयोग भएको आवाज उठाएपछि स्थानीय नेता, जनप्रतिनिधिले अवलोकन गरे पनि कुनै किसिमको कारबाही नगरेको स्थानीय मनोज महतोले बताए । महतोले भने, “पर्खाल निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग र पिल्लर नदिँदा निर्माण सम्पन्न भएको महिना दिन नबित्दै भत्किएको छ भने घाट निर्माणमा प्रयोग भएको फलामे छडसमेत काम नलाग्ने अवस्थामा पुगेको छ ।”
वैशाखदेखि काम सुरु गरी एक महिनापछि बीचमै काम छोडेर ठेकेदार खुसीलाल ठाकुर फरार भएपछि निर्माणकार्य अलपत्र भएको हो । उक्त पोखरीमा स्थानीय बासिन्दाले छठ पूजालगायत अन्य धार्मिक कार्य गर्दै आएका छन् । पोखरी निर्माणमा ठेकेदारको लापरबाहीले हाम्रो आस्थासँंग खेलवाड गरेको स्थानीय महिलाले गुनासो गरेका छन् ।
सौन्दर्यीकरण गरिनुपर्ने उक्त पोखरी श्री बौधीदेवी जनता माविको स्वामित्वमा रहेको छ । विद्यालयका प्रअ, व्यवस्थापन समितिलगायत स्थानीयबासी समेतलाई कुनै जानकारी नदिई ठेकेदारले मनपरि ढंगले काम गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरदासकुमार यादवले बताए ।
विद्यालयको स्वामित्वमा रहेको यस पोखरीबाट विद्यालयले आम्दानी गर्दै आएको थियो । माछापालनका निम्ति विद्यालयले एक करोड १७ लाखमा पाँच वर्षका लागि पोखरी ठेक्कामा लगाएको थियो । “पोखरी सौन्दर्यीकरणको नाममा विद्यालयलाई हुने मासिक दुई लाख आम्दानीसमेत रोकिएको छ,” अध्यक्ष यादवले भने ।
पोखरीकै आम्दानीबाट विद्यालयको मर्मत सम्भार, शिक्षकको तलब र प्रशासनिक कार्य हुँदै आएकोमा समयमै योजना पूरा नहुँदा विद्यालयलाई करोडौं घाटा भएको विद्यालयले जनाएको छ । प्रदेश सरकारले १५ महिनाभित्र काम सम्पन्न गर्ने ठेक्का लगाए पनि एक वर्ष बित्न लाग्दासमेत २० प्रतिशतमात्र काम सम्पन्न भएको पोखरी संरक्षण अभियानका युवा सुजितकुमार यादवले बताए ।
मलंगवा नगरपालिकाका मेयर निरशल साहका अनुसार पोखरीको दक्षिण र पश्चिमपट्टिको जग्गा छुट्याई ६.५ फिट पोखरीको र ६.५ फिट जग्गा धनीको जग्गा लिई १३ फिट सडक निर्माण गर्ने सहमति भए पनि जग्गाधनी र नक्शा विवादले सडक निर्माण हुनसकेको छैन ।
निर्माणकै समयमा हामीले पिल्लर निर्माण गरी पर्खाल निर्माण गर्न माग गरे पनि ठेकेदारले स्टिमेटमा पिलर नभएको बताएको मलंगवा–७ का वडाध्यक्ष प्रमोदकुमार यादवले बताए । ठेकेदारसँंग पटक पटक लिखित रूपमा लागत स्टिमेट माग गरे पनि नदिएको उनले गुनासो गरे ।
उता ठेकेदार ठाकुरले भने आफूले काम छाडेर नभागेको बताएका छन् ।
कामको सिलसिलामा केही त्रुटि भएको उनले स्वीकारेका छन् । ठेकेदार ठाकुरका अनुसार काम गर्ने क्रममा स्थानीयबासीको आन्तरिक विवाद तथा असमझदारीका कारण अनियमित रूपमा काम भएकाले केही ढिलाइ भएको बताएका छन् । पोखरी किनारमा बनाएको पर्खाल छेउमा रहेका जग्गाधनीले माटो भर्न नदिएपछि एकतर्फी लोड परेर पर्खाल भत्किएको उनले बताए । निर्माणकार्य चलिरहँदा स्थानीय केही व्यक्तिहरूले पटकपटक बाधा अवरोध उत्पन्न गरेपछि बाध्य भएर काम बन्द गर्नुपरेको ठेकेदार ठाकुरको भनाइ छ ।
निर्माण गरिएका सम्पूर्ण भौतिक संरचना दुई महिना नबित्दै भत्किएकाले निर्माणमा कमसल सामग्री प्रयोग गरेर ठेकेदार कम्पनी र प्रविधिकको मिलेमतोमा व्यापक अनियमितता भएको उनीहरूको आरोप छ ।